सुदूरपश्चिम स्पोर्ट्स अवार्डको भेन्यु पार्टनरमा ओम प्यालेस

हिमालय टाइम्स
Read Time = 3 mins

धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ धनगढीको ओम प्यालेसमा आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा ओम प्यालेस भेन्यु पार्टनरका रूपमा जोडिएको हो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका निवर्तमान अध्यक्ष सीताराम ओझा र ओम प्यालेसका व्यवस्थापक कल्याण मोक्तानबीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ ।

अघिल्ला तीन संस्करणमध्ये दुई संस्करणमा पनि ओम प्यालेसमै कार्यक्रम आयोजना भएको थियो । पहिलो र दोस्रो संस्करणमा अवार्ड कार्यक्रम आयोजना भएकोमा तेस्रो संस्करणमा भने प्यालेस खाली नभएका कारण धनगढीको रिद्धिसिद्धि पार्टी प्यालेसमा कार्यक्रम आयोजना भएको थियो । सुदूरपश्चिम स्पोर्ट्स अवार्डको आयोजनामा ओम प्यालेसका प्रबन्ध निर्देशक महेश शाहले सुरुवातदेखि हालसम्म सहयोग गर्दै आउनुभएको छ । उहाँले आगामी संस्करणहरूमा पनि अवार्डलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ मार्फत् वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?