कर्णालीका उद्योगको क्षमता उपयोग ५२ प्रतिशत

Read Time = 5 mins

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० मा कर्णाली प्रदेशका उद्योगको औसत क्षमता उपयोग ५१.८८ प्रतिशत रहेको छ । कर्णाली प्रदेशको उद्योगको उपयोग क्षमतामा प्रशोधित दूधको उपयोग क्षमता सबैभन्दा बढी ६६.६७ प्रतिशत र सबैभन्दा कम उपयोग क्षमता जिआई तार उद्योगको २२.३५ प्रतिशत रहेको छ । जिआई पाइप, गहुँको पिठो, चिरेको काठ, चामल र प्लाष्टिकका सामान उद्योगकोे उपयोग क्षमता क्रमशः ६७.५० प्रतिशत, ६६.६७ प्रतिशत, ५०.० प्रतिशत, ५०.० प्रतिशत र ४०.० प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार कर्णाली प्रदेशमा जम्मा तीन हजार पाँच सय २६ कम्पनी दर्ता भएका छन् । जुन अन्य प्रदेशको तुलनामा सबैभन्दा कम हो । प्रदेशमा सञ्चालनमा आएका लघु, घरेलु तथा साना उद्योगको संख्या २९ हजार दुर्ई सय ४८ रहेका छन् भने ती उद्योगमा एक लाख ३३ हजार नौ सय ६५ रोजगारी सिर्जना भएको छ । चालु आर्थिक वर्षको छ महिनामा भारत र तेस्रो मुलुकबाट प्रदेशमा भित्रिने पर्यटक संख्या क्रमशः ८०.९७ प्रतिशत र ४३.७२ प्रतिशतले बढेको छ ।

त्यस्तै, कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थाको कर्जा वृद्धिदर ११.३५ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको छ महिनामा कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा ११.३५ प्रतिशतले बढेर ५९ अर्ब ५० करोड ९७ लाख पुगेको हो । गत आवको सोही अवधिमा यस्तो कर्जा २७.८४ प्रतिशतले बढेर ५३ अर्ब ४४ करोड ६० लाख पुगेको थियो । आर्थिक २०७९/०८० को साउनदेखि पुससम्म प्रदेशको कर्जा तथा निक्षेप अनुपात ९५.०६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यस्तो अनुपात गत अवधिमा ११३.०७ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेप, गत आर्थिक वर्षको सोही अवधिको निक्षेपको तुलनामा २६.९४ प्रतिशतले वृद्धि भई ६२ अर्ब ५९ करोड २५ लाख पुगेको छ । गत आवको सोही अवधिमा यस्तो निक्षेप १३.५३ प्रतिशतले वृद्धि भई ४९ अर्ब ३० करोड ८० लाख पुगेको थियो । चालु आवको पहिलो छ महिनामा कर्णाली प्रदेशमा बढेको रेमिट्यान्स आप्रवाह, बैंकिङ सेवामा आएको विस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीका कारण कुल निक्षेपमा वृद्धि भएको केन्द्रीय बंैकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, घरजग्गा रजिष्ट्रेसन संख्या दुई हजार पाँच सय ५५ पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५९ प्रतिशतले कम हो । घरजग्गा रजिष्ट्रेसनबापतको राजस्व १० करोड ७७ लाख पुगेको छ । बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८१.८९ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७८/०७९ को कुल गार्हस्थ्य उत्पादन ४९ खर्ब ३३ अर्ब ६९ करोड रुपैयाँमध्ये कर्णाली प्रदेशले ४.१ प्रतिशत हिस्सा ओगटेको थियो ।

राष्ट्र बैंकको अध्ययनले लुम्बिनी प्रदेशमा सञ्चालित उद्योगको क्षमता उपयोग घटेको देखाएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा ४९.२२ प्रतिशत क्षमता उपयोग गरेको उद्योगको चालु आवमा क्षमता उपयोग घटेर ४२.३३ प्रतिशतमा झरेको हो । चालु आवको पुससम्ममा ड्राई सिरप, बिजुलीका तार तथा केबुल, कंक्रिट, चामल, पेय पदार्थ, जिआई पाइप, औषधिजन्य उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएको अध्ययनले देखाएको छ । सबैभन्दा बढी प्लाष्टिकजन्य उद्योगले ८९.६४ प्रतिशत र सबैभन्दा कम औषधि उत्पादन गर्ने उद्योगले ३.९१ प्रतिशत क्षमता उपयोग गरेका छन् ।

औसतभन्दा बढी क्षमता उपयोग गर्ने उद्योगमा कागज, ट्याबलेट, आल्मुनियम, रोजिन र पशुदाना रहेका छन् । चालु आवको छ महिनामा रोजिन उत्पादन गत वर्षको सोही अवधिकोे तुलनामा ३०.६६ प्रतिशतले बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?