सार्वजनिक सुनुवाइमा लक्ष्यमा आधारित योजनालाई प्राथमिकता दिन सुझाब

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकालाई लक्ष्यमा आधारित विकास निर्माण योजनालाई प्राथमिकता दिन सरोकारवालाहरुले सुझाब दिएका छन् ।

आईतवार बेनीमा आयोजित आर्थिक बर्ष २०७९/०८० को तेस्रो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह बिषयक सार्वजनिक सुनुवाई तथा आगामी बर्षको नीति, योजना तथा कार्यक्रमका लागि सुझाब संकलन कार्यक्रममा सहभागीहरुले शिक्षा, स्वास्थ्य, आयआर्जन र सडक स्तरीकरणको लागि लक्ष्यमा आधारित रहेर योजना छनौट तथा कार्यान्वनयमा लाग्न सुझाब दिएका हुन् ।

कार्यक्रममा सहभागीहरुले बेनी नगरभित्र रहेको खानेपानीको समस्या समाधानमा अगुवाई गर्न नगरपालिकालाई आग्रह गरेका छन् ।सहभागीहरुले नगरभित्र रहेका सहकारी र नीजि विद्यालयहरुको नीयमन गर्न आग्रह गर्दै सार्वजनिक जग्गालाई अतिक्रमणमुक्त गराउन सबै ठाउँमा अभियान सञ्चालन गर्न माग गरेका थिए ।

योजना टुक्रे भएकाले उपलब्धी कम हुने, योजना कार्यान्वयनमा सम्बन्धित लाभग्राही समुदायको सहभागीता नहुने, समयमै अनुगमन नहुँदा पृष्ठपोषणको अभाब हुने, फोहोर व्यवस्थापन, अव्यवस्थित पार्कीङ, मासु र तरकारीको मुल्य निर्धारण, नदीको तटिय क्षेत्रको तटबन्धनमा ढिलासुस्तीलगायतका जनसरोकारका बिषयमा नगरपालिकाका जनप्रतिनिधिको ध्यानकर्षण गराएका थिए ।

त्यसैगरि उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न, अनुदान र तालिममा सहभागी भएकाहरुको अभिलेख राख्न र बेनी अस्पताल र स्वास्थ्य संस्थाहरुमा निशुल्क पाउने र बिमा बाट पाउने औषधीको उपलब्धता गराउनतर्फ नगरपालिकालाई सहभागीहरुले प्रश्न गरेका थिए ।
कार्यक्रममा नगरपालिकाका मेयर सुरत केसीले सिमित स्रोत र साधनलाई उचित उपयोग मार्फत नगरलाई विकसित र व्यवस्थित बनाउने लक्ष्यका साथ नगरपालिकाले आफ्नो कार्यक्रम तथा बजेट कार्यान्वयनमा जुटेको बताउनुभयो ।

उहाँले बेनी बजारभित्रको खानेपानी समस्या समाधानका लागि बेनी खानेपानी संस्था र ग्रामीण क्षेत्रको खानेपानी आयोजनाहरुलाई पूर्णता दिलाउन प्रदेश र संघीय सरकारसंग आवश्यक पहल र समन्वय भैरहेको बताउँदै शिक्षाको गुणस्तर सुधार र स्वास्थ्यको पहुँच विस्तारमा नगरपालिकाले विशेष ध्यान दिने बताउनुभयो ।

नगरपालिकाका उपमेयर ज्योति लामिछानेले नगरपालिकाबाट कार्यान्वयन हुने योजनाहरुलाई प्रभाबकारी बनाउन नियमित अनुगमन भैरहेको बताउँदै नागरिक र सेवाग्राहीलाई झण्झट र सास्ती नहोस भन्ने कुरामा नगरपालिका सचेत रहेकोमा जोड दिनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले कार्यालयको सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउन आबश्यक पहल थालिएको बताउँदै सरोकारवालाबाट प्राप्त सुझाब र सल्लाह अनुसार आगामी दिनमा सेवा प्रवाहलाई थप सरलीकरण गरिने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बजार क्षेत्रमा सडक अतिक्रमण भएका संरचना हटाउन थालिएको अभियानलाई नरोकिएको बताउँदै नगरभित्रका ऐतिहासिक धरोहरहरुको संरक्षण र पर्यटकीय सम्भावनाको खोजीमा नगरपालिका लागीपरेकोमा जोड दिनुभयो ।

नगरपालिकाले आगामी आर्थिक २०८०/०८१ को योजना तथा कार्यक्रम र बजेटका लागि सरोकारवालाहरुबाट सुझाव संकलन समेत गरेको छ । कार्यक्रममा उपस्थित भएका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि,पूर्व जनप्रतिनिधि र नगरवासीहरुले नगरको आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयका वारेमा राय सुझाव दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले आगामी आर्थिक वर्षमा योजना तथा कार्यक्रम बनाउँदा नगरले सन्तुलित विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । सामाजिक न्याय,समानता,समावेशी,पारदर्शीता र जनसहभागितालाई प्रमुख आधार बनाएर नीति तथा कार्यक्रम र बजेट बनाउनुपर्ने जिसस प्रमुख थापाले सुझाउनुभयो । उहाँले नगरलाई सुझाव दिँदै भन्नुभयो,‘‘योजनाको प्राथमिकिकरण गर्नुपर्ने, योजना कार्यन्वनयमा पारदर्शीता,जनसहभागिता,दिगो र सामाजिक न्यायामा आधारित विकास गर्नुपर्दछ । पर्यटन र सडकका योजनालाई प्राथमिकतामा दिनुपर्दछ साथै नगरवासीको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्नेगरी आगमी योजना तथा कार्यक्रम र बजेट निर्माणमा ध्यान दिनुपर्दछ ।’’

नगरप्रमुख सुरत केसीले नगरवासीहरुबाट राय सुझाव संकलन गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुहुँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा प्राप्त भएका सकरात्मक सुझावहरुलाई समाबेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘जनप्रतिनिधिलाई मार्गदर्शन हुनेगरी विभिन्न माध्यमहरुबाट सुझावहरु प्राप्त भएका छन् । प्राप्त भएका सुझावहरुलाई अध्ययन गरेर आगामी नीति तथा कार्यक्रममा समावेश गर्दछौं ।’’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?