बाँकेका सात हजार पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण

हिमालय टाइम्स
Read Time = 4 mins

बाँके । बाँकेमा सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । सङ्क्रमण जिल्लाभर फैलिए पनि किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन् ।

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पशु चिकित्सक रुपेन्द्रकुमार ओलीले उहाँले पशुमा देखिएको सङ्क्रमणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै  रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षण अनुसारको उपचार भइरहेको जानकारी दिनुभयो । “केही किसानले निजी स्तरबाट भ्याक्सिन लगाउनुभएको होला तर जिल्लामा भ्याक्सिन आएको छैन”, उहाँले भन्नुभयो ।

घाउ, खटिरा आएकालाई ड्रेसिङ गर्ने काम भइरहेको जानकारी दिँदै डा ओलीले भाइरसबाट सर्ने रोग भएकाले यसको दिगो उपचार नभएको बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकासहित सबै स्थानीय तहमा उक्त भाइरसको सङ्क्रमण देखिएको उहाँको भनाइ थियो । राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको भेटेरिनरी अस्पतालले जनाएको छ ।

नेपाल भेटेरिनरी एसोसिएसनका सचिव डा शङ्कर न्यौपानेले सङ्क्रमणबाट पशुवस्तुको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको बताउनुभयो । सङक्रमणका कारण दूधको उत्पादन घटनु तथा पशु सङ्क्रमणबाट मुक्त भए पनि पहिलेकै अवस्थामा नर्फकनुले किसान मारमा परेको उहाँले बताउनुभयो ।

सचिव डा न्यौपानेले पशुलाई धेरै ज्वरो आउनु, शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घटाउनु सङ्क्रमणको मुख्य लक्षण भएको जानकारी दिनुभयो । “यसको रोकथामका लागि मास भ्याक्सिनेसन सुरु गर्नुपर्छ र जैविक सुरक्षामा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो ।

सङ्क्रमण भएको पशु भए त्यसलाई सामूहिक रुपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवजातवमा कडाइ गरेर लम्पी स्किनको सङ्क्रमण न्यूनीकरण हुन सक्ने डा न्यौपानेले सुझाव दिनुभयो । उहाँका अनुसार रोगी पशुलाई लामखुट्टे, झिँगा वा किर्नाले टोकेर यसको सङ्क्रमण फैलन सक्छ । बाँकेमा करिब एक लाखको हाराहारीमा भैँसी र ६० हजार हाराहारीमा गाई रहेका छन् ।

लुम्बिनी प्रदेशमा ७४ हजार दुई सय ८९ पशु लम्पी स्किन रोगबाट पशु सङ्क्रमित भएका छन् । अहिलेसम्म दुई हजार सात सय ८० पशुको मृत्यु भएको भने प्रदेशका पाँच हजार सात सय ५० पशुलाई भ्याक्सिनेसन गरिएको पशु अस्पताल बाँकेले जनाएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?