अचेतन मानव

Read Time = 14 mins

कविशिरोमणि लेखनाथ पौडेलले लेखेका थिए-कहाँ छ जानु कुन साथ लिकन, तँलाई मालुम छ कि यो कुरा मन । विश्वविजेता अलेक्जेन्डरले आफ्नो अन्तिम अवस्थामा भनेका थिए-मेरो लासलाई गाड्न लैजाँदा मेरा दुवै हातका हत्केला सबैले देख्ने गरी फिँजाएर लैजानू । लेखनाथले दर्शन र शास्त्रहरूको अध्ययन अनि संसारका मानिसहरूको क्रियाकलापका अनुभवबाट उक्त कविता लेखेको हुनुपर्दछ । अलेक्जेन्डरले भने के के न गरौँला भनी सारा विश्वमाथि आक्रमण गर्दै हिँडेँ तर मृत्युको मुखमा पुग्दा भएको अनुभवबाट उक्त कुरा बताएको हुनुपर्दछ । मरेपछि मानिसले साथमा केही पनि लैजान सक्दैन र पनि पाप धर्मको वास्ता नगरी सम्पत्ति र शक्ति आर्जनका लागि किन मरिहत्ते गर्दछ भन्ने नै अहं प्रश्न हो जसको उत्तर आजसम्म संसारले पाउन सकेको छैन ।

अघिल्लो दिन हिँडेको बाटोमा खाल्डोमा पर्‍यो भने जुनसुकै वर्गको पशु पनि भोलिपल्ट त्यही बाटो हिँड्दैन । हामी पशुलाई विवेकहीन र ज्ञानहीन भनी परिभाषित गर्दछौँ तर कर्तव्याकर्तव्यको हेक्का पशुले नै राखेको देखिन्छ । धर्म र अधर्मका बीचमा भेद पशुले नै गर्दछ कि जस्तो देखिँदैछ । बरू आजभोलिका पठित, सचेत र बुद्धिमान् भनिएका मनुष्यहरू नै विवेकहीनताको पराकाष्ठामा पुगेको पाइन्छ । के गरे खाल्डामा परिन्छ र के गर्दा गन्तव्यमा पुगिन्छ भन्ने बोध नभएको प्राणी नै मनुष्य हो कि भन्ने तथ्य वर्तमानको मानवजातिका काम कर्तव्यहरूले प्रमाणित गर्दै लगेका छन् ।

आजभोलिको समाज हेर्दा धर्मको हेक्का नराख्नेमा पशु होइन कि मानव नै सबैभन्दा अगाडि छन् जस्तो लाग्दछ । पशुले त आफूलाई हानी हुने काम नगर्दासम्म अरूलाई नकारात्मक असर पर्ने काम जति अहिलेका मनुष्यले गर्दैछन् त्यति गर्ने गरे जस्तो लाग्दैन ।

भ्रष्टाचार गरेको आरोपमा कर्मचारी पक्राउ परेका समाचारहरू रेडियो, टेलिभिजन, पत्रिका आदि सञ्चारमाध्यममा दिनदिनै आउँछन् र पनि अर्को दिनबाट भ्रष्टाचार रोकिएको खबर हामी पाउँदैनौँ । एउटै कार्यालयको एउटै कक्षमा सँगै बसेको साथी घुस लेनदेन प्रकरणमा जेल परेको समाचार जुन कर्मचारीले सुनाउँदै गरेको हुन्छ उही अर्को दिन समातिन्छ । गलत निर्णय गर्ने माथिल्लो तहको हाकिमसमेत अख्तियारको फन्दामा परेको समाचार पढ्दा पढ्दै अनैतिक लाभ पाउने अवसर आयो भने कुनै पनि कर्मचारी पछि हटेको देखिँदैन । अचेतनाको यसभन्दा पराकाष्ठा के हुन्छ र ?

मानिसलाई अध्ययनले निखार्छ भन्ने गरिन्छ । शिक्षाप्राप्त गरेको मानिसमा विवेक हुन्छ र उसले राम्रो र असल मात्रै गर्दछ भन्ने सोच समाजले राखेको हुन्छ । शिक्षाले चेतना दिन्छ भन्ने मान्यता सर्वत्र छ । जे जति गलत कामहरू हुन्छन् ती सबै अपठित र अशिक्षितबाट नै हुन्छ जस्तो ठानिन्छ तर नेपालमा मात्रै होइन कि विश्वभर नै ठ्याक्कै उल्टो परिणामहरू आइरहेको पाइन्छ । निजामती कर्मचारीमा प्रवेश पाउन केही न केही पढेकै हुनुपर्दछ । जुन तहमा प्रवेश गर्ने हो त्यस तहसम्मको पढाइमा अब्बल ठहरिएका नै सरकारी कर्मचारी हुने गर्दछन् तर पनि भ्रष्टाचार गरे जेल परिन्छ भन्ने ज्ञान कर्मचारीहरूमा नपलाएको देख्दा अचेतन पशुहरू होइनन् कि मानव नै हुन् भन्ने लाग्न थालेको छ ।

आहार, निद्रा, भय र मैथुन पशुहरू र मानवमा रहेका समान गुणहरू हुन् । मानिसमा धर्म भन्ने अधिक गुण हुन्छ, यदि त्यो धर्म रहेन भने मानिस र पशुमा केही भिन्नता रहँदैन भनेर हाम्रा नीति वचनहरूले भनेका छन् । धर्म भनेको हिन्दू, क्रिश्चियन, मुस्लिम आदि पनि अर्थ लगाइएला तर यहाँ कर्तव्याकर्तव्यलाई धर्माधर्मको रूपमा व्याख्या गरिएको हो । आजभोलिको समाज हेर्दा धर्मको हेक्का नराख्नेमा पशु होइन कि मानव नै सबैभन्दा अगाडि छन् जस्तो लाग्दछ । पशुले त आफूलाई हानी हुने काम नगर्दासम्म अरूलाई नकारात्मक असर पर्ने काम जति अहिलेका मनुष्यले गर्दैछन् त्यति गर्ने गरे जस्तो लाग्दैन ।

नेपालमा जहिले पनि प्रशासनिक व्यक्तित्वहरू मात्रै भ्रष्टाचारको दलदलमा पर्दै आएका थिए । चाहे सुडान घोटाला होस् या लाउडा काण्ड, चाहे वाइड बडी खरिद प्रकरण होस् या सेक्युरिटी प्रेस खरिद काण्ड, चाहे ओम्नी प्रकरण होस् या बालुवाटारको प्रधानमन्त्री निवास खरिद काण्ड सबैजसोमा राजनीतिक निर्णयकर्ताले उन्मुक्ति पाउँदै आएका थिए भने प्रशासनिक तहका व्यक्तिहरू फस्दै आएका थिए ।

सबै घटनाक्रमहरूले सचिव तहसम्मको जागिर खाएकाहरूले गोप्यरूपमा जोगिएर भ्रष्टाचार गर्नुपर्ने र मन्त्री वा सोभन्दा माथिकाले खुलेयाम भ्रष्टाचार गर्न पाइने मान्यता नेपालमा स्थापित भइसकेको थियो । बालुवाटार काण्डमा जग्गै किनेका विष्णु पौडेलले मुक्ति पाउँदा विजय गच्छेदार मात्र समातिए र यही समाजले नै विचरा उनी मात्रै फसे भने झैँ गरेको थियो । अहिले त्यस अवस्थाको पनि अन्त्य भइसकेको छ र पनि भ्रष्टाचार रोकिएको छैन भने मानिसभन्दा ज्ञानहीन अरू कसैलाई भन्न मिल्छ र ?

खान नहुने घाँस कुनै पशुले खाएको हामीले कहिल्यै देखेका छैनौँ । अखाद्य चारा खाएर चराचुरुंगी मरेको पनि त्यति देखिँदैन । उही मानिसले पशुका खाद्यान्नमा विष मिलाएर झुक्याएका बेलाका कुराहरू भिन्नै हुन् । नत्र भने पशुले आफूलाई जति चाहिने हो त्यतिमात्रै खाएको देखिन्छ । खान नहुने कुराको त नजिक गएको पनि पाइँदैन तर मानिसले जे खान पिउन नहुने हो त्यतैतिर बढी झुकाव राख्ने गरेको सर्वत्र देख्ने गरिएकै छ । आफूलाई मात्रै हानी गर्ने कुरा खाँदा त त्यति विरोध जनाउनु नपर्ला तर परिवार, समाज र देशलाई नै नोक्सान पुर्‍याउनेहरूलाई के भन्ने ? त्यस्ता मानिसलाई सचेत भन्ने कि अचेतन ?

कर्मचारी प्रशासन र राजनीतिज्ञमात्रै होइन, व्यापारीहरू अझ बढी मात्रामा भ्रष्टाचारमा संलग्न हुने गरेका छन् । कोही सिधा उद्योग सञ्चालनका क्रममा, कोही व्यापार व्यवसायका नाममा त कोही बिचौलियाका स्वरूपमा अनैतिक कार्यमा संलग्न भएकै पाइन्छन् ।

कुर्सीमा बस्ने बित्तिकै मान्छेमा मात चढ्ने रहेछ । कवि भूपी शेरचनले घुम्ने मेचमाथि अन्धो मान्छे त्यसै लेखेका रहेनछन् । शक्तिमा पुगेको मान्छेले आफू र आफ्नो परिवारबाहेक केही नदेख्ने रहेछ । यही धर्तीमा रहेका भोकानांगा र शक्तिहीनहरूमा सत्तामा बसेकाको दृष्टि पुग्न कठिन हुने रहेछ तर धर्तीमै नआएको आफूभन्दा सात पुस्तापछिको खनाति जनातिहरूसम्मको चिन्ता शक्तिवालालाई हुने रहेछ । त्यसैले सत्ता प्राप्तवाला भ्रष्टाचारमा निर्लिप्त हुने रहेछन् तर त्यही पारिवारिक चिन्ताले गर्दा आफू खाल्डोमा परिसकेको समेत मानिसले थाहा नपाउने रहेछ । यस्तो अवस्थामा मान्छेलाई कसरी विवेकी भन्न सकिन्छ र ?

राजा दशरथले आफ्ना चार छोराहरूलाई अध्ययन अध्यापन गराएबापत गुरु वशिष्ठलाई मन्त्री सुमन्तका साथमा सुनचाँदी आदिका जवाहरात पठाएका थिए जसले वशिष्ठका दश पुस्तासम्मलाई बसीबसी खान पुग्थ्यो तर वशिष्ठले सो सम्पत्ति फिर्ता गरिदिए । जुन देशका राजामा सम्पत्ति थुपार्ने रहर पलाउँछ, त्यो देशमा भ्रष्टाचार बढ्छ र नागरिकहरू गरिब हुँदै जान्छन् । जुन देशका गुरुले शिक्षा बिक्री गर्न थाल्दछन् त्यो देशमा शिक्षा विकृत हुन्छ भन्ने राजा दशरथलाई सुनाइदिनू भनी मन्त्री सुमन्तलाई भनेका थिए ।

हाम्रो देशको अवस्था त्यस्तो छ त ? राजा अर्थात् राज्य सञ्चालनको उपल्लो तहमा रहेका प्रधानमन्त्रीहरू हामीले त्यस्ता पाएका छौँ त ? मन्त्रीहरू भ्रष्टाचारबाट कोसौं टाढा रहने खालका छन् त ? सम्पत्ति नथुपार्ने गुरुहरूको देश नेपाल बन्न सकेको छ त ? कतैबाट पनि सन्तोष लिने ठाउँ नेपालीले भेटेका छैनन् । नेपालीमा असन्तोष पैदा भएको अचेतन भनिएका पशुपंक्षी आदिका कारणबाट होइन । सचेत, विवेकी, शिक्षित र बुद्धिमान् भनिएका मानव समुदायले नै असन्तोषको मात्रा बढाउने काम गरिरहेका छन् ।

कर्मचारी प्रशासन र राजनीतिज्ञमात्रै होइन, व्यापारीहरू अझ बढी मात्रामा भ्रष्टाचारमा संलग्न हुने गरेका छन् । कोही सिधा उद्योग सञ्चालनका क्रममा, कोही व्यापार व्यवसायका नाममा त कोही बिचौलियाका स्वरूपमा अनैतिक कार्यमा संलग्न भएकै पाइन्छन् । कतिपयको ध्यान कसरी कर छल्नेमा मात्रै सीमित होला भने कतिपयले राज्यका साथै उपभोक्तालाई ठग्ने योजना बुनिरहेको पाइन्छ । यतिसम्म पनि देखिएको छ कि रातारात करको दायरामा हेरफेर गरेर अरूको सस्तो माललाई महँगो र आफ्नो महँगो माललाई सस्तो बनाए भन्ने पनि प्रत्यक्षै देखियोभन्दा पनि सुनियो । आफ्नो व्यवसाय बढाउन तिनले त्यसो गरेका थिए ।

अधर्म र अनैतिक माध्यमबाट सत्ता र शक्तिको चरम उत्कर्षमा पुगेकाहरूले कष्ट भोग्नु परेको हामी सबैले देखेकै छौँ । सत्ताका आडमा सम्पत्ति थुपारेकाहरूका घरमा कसैकामा पारिवारिक समस्या र दुःखले घेरेको र कसैको घरमा अनावश्यक विघ्नबाधा आइपरेको जस्ता उदाहरणहरू पर्याप्त छन् । कलियुगमा पाप यही जीवनमा भोग्नु पर्दछ भन्ने भनाइ कतिपयमा सार्थक भइरहेको प्रष्टै छ । बाबु शक्तिमा रहे पनि छोराहरू फरार अभियुक्त हुनुपरेको वर्तमानमा छर्लंगै छ । यद्यपि देखेर नचेत्ने मानव नै देखिएको छ भने मानिसलाई कसरी चेतन प्राणी भन्ने प्रश्नले घच्घच्याइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?