तलबमा ठगिए शिक्षिका, फरक-फरक दुुई भरपाई !

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 8 mins

पाल्पा । पाल्पाको एक विद्यालयका दुई शिक्षिका तलबमा ठगिएका छन् । जिल्लाको तानसेन नगरपालिका-११ रानीपोखरी बन्दीपोखरामा रहेको गार्गी माध्यमिक विद्यालयमा शिक्षण सहयोग अनुदानबाट अध्यापन गराउँदै आएका दुई शिक्षिका तलबमा ठगिएका हुन् । मावि लेखा विषय शिक्षिका मीना भाट र अंग्रेजी विषय शिक्षिका पार्वती सुन्दौलीले शिक्षण सहयोग अनुदान कोटामा अध्यापन गराउँदै आउनुभएको छ तर विद्यालयले उहाँहरूलाई अनुदानबापत प्राप्त भएको रकम नदिएर कर कट्टी गरी मासिक १४ हजार ८५० रुपैयाँ मात्र दिंँदै आएको छ । मावि तहको लागि अनुदान रकमअनुसार ३७ हजार ९९० मासिक तलब हुनुपर्ने हो, तर विद्यालयले ती शिक्षिकाहरूलाई १४ हजार ८५० मात्र दिंँदै आएको छ ।

विद्यालयका प्रधानाध्यापक यादव घिमिरे र व्यवस्थापन समितिका अध्यक्ष दामोदर घिमिरेको मिलेमतोमा दुुई छुट्टाछुट्टै भरपाईमा हस्ताक्षर गर्न लगाएर तलबमा ठग्दै आएको खुलासा भएको हो । संघीय र स्थानीय सरकारबाट प्राप्त भएको शिक्षण सहयोग अनुदानबापतको १३ लाख ४१ हजार ९२९ रुपैयाँ रकम अनियमितता भएको छ । विद्यालयले आर्थिक अनियमिता मात्र गरेको छैन शिक्षिकाहरूको श्रममा समेत शोषण गरेको प्रष्ट हुन्छ । २०७८/११/२७ मा ससर्त बजेट अन्तर्गतको अनुदान दिने गरी पार्वती सुन्दौलीलाई नियुक्त गरिएको थियो । उहाँलाई आर्थिक वर्ष २०७८/०७९ मा मासिक ३५ हजार ९९० अनुसार चार लाख ३१ हजार ८८० दिनुपर्नेमा विद्यालयले ५५ हजार ३८० मात्र भुक्तानी गरेको छ । यस्तै सुन्दौलीलाई आर्थिक वर्ष २०७९/०८० मा अनुदान घटेर आएकाले विद्यालयलले २०७९/१०/२२ मा पुनः निमाविको नियुक्ति दिएको थियो । उक्त अवधिमा पनि विद्यालयले मासिक १४ हजार ८५० नै दियो । यस्तै २०७६/१०/२१ मा निसर्त बजेट अन्तर्गतको अनुदान दिने गरी शिक्षिका मीना भाटलाई मावि तहमा नियुक्त गरिएको थियो । उहाँलाई पनि मासिक ३७ हजार ९९० अनुसार चार लाख ५५ हजार ८८० दिनुपर्नेमा आर्थिक वर्ष २०७९/०८० मा दुई लाख पाँच हजार मात्र भुक्तानी दिइएको छ । शिक्षिका भाटले नियुक्ति भएदेखि १६ लाख १९ हजार ७६० बराबर भुक्तानी पाउनुपर्नेमा सात लाख मात्र पाएको देखिन्छ । उहाँको नौ लाख १९ हजार ७६० रुपैयाँ विद्यालयले अनियमितता गरेको छ । यस्तै, शिक्षिका सुन्दौलीले पनि पाउनुपर्ने चार लाख २२ हजार १६९ पाउनुभएको छैन ।

प्रधानाध्यापक यादव घिमिरे भने विद्यालयको बचाउ गर्दै शिक्षिकाहरूसँगको आपसी समझदारीमा तलब दिँदै आएको बताउनुुभयो । अनुदानमा आएको रकममा आपसी समझदारी गर्न नमिल्ने व्यवस्था भए पनि उहाँले मौखिक समझदारी गरेको दाबी गर्नुभयो । घिमिरेले बाँकी रकम अनियमितता नगरेको तर विद्यालयको मर्मत सम्भार र मसलन्दमा खर्च गरेको बताउनुुभयो । जुन शीर्षकका लागि आएको रकम हो त्योभन्दा बाहिर गएर खर्च गर्न नपाइने व्यवस्था भए पनि विद्यालयले सम्बन्धित शीर्षकभन्दा बाहिर गएर खर्च गर्नुले पनि अनुदानमा अनियमितता भएको प्रष्ट हुन्छ । २०७६ माघदेखि अध्यापन गराउँदै आउनुभएकी शिक्षिका मीना भाटले पहिले आफ्नो तलब यति धेरै हुन्छ भन्ने थाहा नै नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नियुक्ति दिँदा तपाईको तलब १५ हजार हुन्छ मात्रै भन्नुभयो, दुई/चार पैसा भए पनि आम्दानी हुने घरपाई मिलेको जागिर भनेर पढाउन थालेँ ।’ दुईवटा तलबी भरपाईमा सिग्नेचर गर्नुपर्ने भाटले बताउनुुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई विद्यालयमा राख्ने भरपाईमा १४ हजार ८५० र नगरपालिकालाई बुझाउनुपर्नेमा ३७ हजार ९९० को तलबी भरपाईमा सिग्नेचर गर्न लगाइन्छ, हामीले पनि नबुझेर सही गर्दै आयौँ ।’ अहिले नगरपालिकाबाटै फोन गरेर कति तलब बुझ्नुभएको छ ? भनेर सोधेपछि मात्र थाहा पाएको उहाँले सुनाउनुभयो ।

२०७८ देखि अध्यापन गराउँदै आउनुभएकी अर्की शिक्षिका पार्वती सुन्दौलीले नियुक्ति लिँदा व्यवस्थापन समितिले १५ हजार तलब हुन्छ भनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जसोतसो जागिर पाइएको छ । हुन्छ थोरै भए पनि गर्छु भनेर पढाउन थालेकी हुँ, तर हाम्रा नाममा यत्रो तलब हुन्छ भन्ने नै थाहा भएन ।’ अहिले दुवैजना पीडितले पूरा तलब उपलब्ध गराउन माग गर्दै तानसेन नगर सरकारको शिक्षा शाखामा निवदेनसमेत दिनुभएको छ ।

नगर शिक्षा शाखामा बुझाउने भरपाईमा भने वास्तविक तलबमा नै हस्ताक्षर गरेर पठाइएको शिक्षा शाखा अधिकृत कोपिला न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो । ‘विद्यालयले नगरमा पेसको गरेको भरपाईमा तलब सही दिएको प्रमाण पेस भएको छ तर विद्यालयको भरपाईमा भने १५ हजार भुक्तानी दिइएको पाइयो, यो नियम विपरीतको कार्य हो ।’ शिक्षण सहयोग अनुदानमा अनियमितता भएको थाहा पाउनासाथ नगर शिक्षा शाखाबाट स्थलगत अनुगमनसमेत गरिएको शिक्षा अधिकृत न्यौपानेले बताउनुभयो । प्रतिवेदन तयारपछि आवश्यक प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ । वडा अध्यक्ष यादव सिं कार्कीले अनुदानमा पठाइएको रकममा अनियमितता हुनु दुःखद भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जुन शीर्षकका लागि रकम आएको हो त्यही शीर्षकमा खर्च नगरी शिक्षिकाको तलब अनियमितता गर्नु गलत हो । यस विषयमा सत्यतथ्य बुझेर आवश्यक प्रक्रिया अघि बढ्ने वडा अध्यक्ष कार्कीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?