ओली कम्युनिष्ट सरकार ढालेर दलाल पुँजीवादी काँग्रेसको सरकार बनाउन लाग्दैछन् : माधव नेपाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सरकारलाई ढालेर दलाल पुँजीवादी काँग्रेससँग सरकार बनाउन तयारी गरिरहेको बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ओलीले नेपाली काँग्रेसलाई प्रभावित पारेर काँग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु जस्ता अभिव्यक्ति दिइरहेको आरोप लगाउनु भयो ।

उहाँले आफ्नो पार्टी नेपालको राजनीतिमा महत्वपूर्ण शक्तिको रुपमा उदाएको दाबीसमेत गर्नुभयो । उहाँले एमालेले समाजवादी मोर्चा बनाएकोमा धन्यवाद दिनुपर्ने ठाउँमा आफूहरुले गरेको कदमलाई पनि सहन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हाम्रो पार्टी नेपालको राजनीतिमा एउटा महत्वपूर्ण शक्तिको रुपमा उदाएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाईहरुले सुनिरहनुभएको छ । अर्थात हामीले चालिरहेको कदमलाई सकारात्मक रुपमा लिनुपर्नेमा समाजवादी शक्तिलाई एकतावद्ध बनाएर समाजवाद बिरोधी शक्तिलाई एक्लो बनाउने काममा लाग्नुपर्ने, बिस्तार गर्न शुभकामना दिनुपर्ने, हामीले त गरेनौँ, तपाईहरुले गर्नुभयो भन्नुपर्ने हो । ठूलो पार्टीले गर्नुपर्ने हो तर चाहेन, कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन चाहेन । समाजवादी शक्तिलाई एकतावद्ध बनाउन चाहेन, अहिले पनि उसले के गर्न चाहिरहेको छ भने आजको पत्रिकामा पढ्नुभएको होला, केपी ओलीले नेपाली काँग्रेसलाई प्रभावित पारेर काँग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेको छ । कस्तो बिडम्वना होला, कस्तो चरित्र होला, अहिले कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन् । उसलाइ अघि बढाउन खोजिरहेका छन् ।’

अध्यक्ष नेपालले नेपाली काँग्रेस काल्पनिक समाजवादी, उदार पुँजीवादी र दलाल पुँजीवादी पार्टी भएको आरोप लगाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?