नेपालभाषा अध्ययन गर्ने छात्राहरूलाई नीलपद्म छात्रवृत्ति

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालभाषालाई माध्यम भाषाका रूपमा लिएर अध्ययन गर्ने छात्राहरूलाई छात्रवृत्ति दिने उद्देश्यले नीलपद्म छात्रवृत्तिको घोषणा गरिएको छ । वरिष्ठ मानवअधिकारकर्मी तथा पूर्वस्वास्थ्यमन्त्री पद्मरत्न तुलाधरकी धर्मपत्नी नीलशोभा तुलाधरको पहिलो पुण्य तिथिको सन्दर्भ पारेर छात्रवृत्तिका लागि नीलपद्म अक्षयकोष खडा गरिएको परिवारले जनाएको छ ।

नेपालभाषालाई माध्यम भाषा बनाएर पठनपाठन हुने जगत्सुन्दर ब्वनेकुथिमा अध्ययन गर्ने जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति दिइने बताइएको छ । आउने दिनहरूमा कोषमा रकम थप्दै जाने योजना रहेको सुम्निमा तुलाधरले जानकारी दिनुभयो । सो कार्यका लागि स्वर्गीय तुलाधर दम्पतीका सन्तान सुजनरत्न तुलाधर, सर्वनरत्न तुलाधर, सुनिता ताम्राकार तुलाधर र सुम्निमा तुलाधरले संयुक्तरूपमा कोष खडा गर्नुभएको हो । स्व. पद्मरत्न तुलाधर जगतसुन्दर व्वनेकुथिका संस्थापकमध्येका एक हुनुहुन्थ्यो ।

यही सातामात्रै नेपाल सरकारले वरिष्ठ मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको नाममा हुलाक टिकट सार्वजनिक गरेको छ । पाँच विशिष्ट व्यक्तिहरूको हुलाक टिकट सार्वजनिक गर्ने क्रममा वरिष्ठ मानवअधिकारकर्मी तुलाधरको नेपाल संवत् उल्लेखित १० रुपैयाँको टिकट प्रकाशनमा ल्याइएको हो । तुलाधरसँगै सगरमाथा आरोही आङ्रिता शेर्पा, कालजयी गायिका कोइली देवी, साहित्यकार पूर्णप्रकाश नेपाली यात्री, माधवप्रसाद देवकोटाको हुलाक टिकट पनि सार्वजनिक गरिएको हो ।

विद्यालयमा नेपालभाषालाई माध्यम भाषाका रूपमा अध्ययन गर्ने छात्राहरूलाई छात्रवृत्ति दिने उद्देश्यले नीलपद्म छात्रवृत्ति कोष घोषणा भएको सुम्निमा तुलाधरले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?