अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेलामा नेपालको गौरवमय प्रस्तुति

Read Time = 6 mins

काठमाडौं । ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा आयोजित अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेलामा नेपालका तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ । विगत लामो समयदेखि सांस्कृतिक आदानप्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा आयोजित अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेलामा नेपालका तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको हो ।

चेक रिपब्लिकको प्ल्जेनमा जुन ७ देखि ११ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका सात राष्ट्रको समूह सहभागी भएका थिए भने स्लोभाकियाका विभिन्न ठाउबाट आएका २० भन्दा बढी समूहले भाग लिएका थिए ।

नेपालबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला (रामचन्द्र) को नेतृत्वमा सहभागी हुन टोली त्यसतर्फ गएको थियो । वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसीको नृत्य निर्देशन रहेकोे थियो भने संगीत संयोजनमा रामबहादुर भुजेल रहनुभएको थियो ।

टोलीले नेपालको परम्परागत लोकसंस्कृति झल्काउने विभिन्न नृत्य प्रस्तुत गरेको थियो । उक्त मेलामा नेपालका तर्फबाट झ्याउरे, तामाङ, मारुनी, थाली, भैरव काली, धिमाल, कुमारी, लाखे, सोरठीलगायत दर्जनांै नृत्यहरू प्रस्तुत गरिएका थिए ।

मेलामा एभरेष्ट नेपाल कल्चरल गु्रपका प्रमुख आरसी कोइराला, वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी, नृत्यतर्फ नृत्य निर्देशक शम्भु शाही, कृष्ण रेउले, उत्तम शर्मा, भवानी कोइराला, चरिया गुरु चन्द्रमान मुनिकार, प्रमिला रिजाल, सपना महर्जन, गौरी ढकाल कोइराला, अनिशा श्रेष्ठ, चाहना राना मगर, वाद्यवादन तथा गायक गायिकातर्फ वरिष्ठ बाँसुरीवादक रामबहादुर भुजेल, वाद्यवादक धनेश्वर तिवारी, लोकगायक रामप्रसाद पाण्डे, गायिका रीता बुढाथोकी भुजेल तथा प्रबन्धक डेकप्रसाद अधिकारी (गोपाल) लगायतको सहभागिता थियो ।

सहभागी अन्तर्राष्ट्रिय तथा नेपाली समूहका कलाकारहरूलाई नृत्य निर्देशक जोगेन्द्र केसीले नेपाली गीतमा नृत्य प्रशिक्षण गराउनुभएको थियो भने नेपाली समूहले विभिन्न देशको नृत्य प्रशिक्षण लिएका थिए ।

स्लोभाकियामा भएको मेलाको उद्घाटन नेपालको चरिया नृत्य भैरव कालीबाट भएको थियो भने समापन पनि नेपाली चरिया नृत्य कुमारीबाट भएको थियो । एभरेष्ट नेपाल कल्चरल गु्रपका प्रमुख आरसी कोइरालाको सल्लाहमा आयोजकले नेपाली नृत्यबाट उद्घाटन र समापन गरेका थिए । अन्य देशको तुलनामा नेपालको प्रस्तुतिलाई सबैले उत्कृष्ट भनेका थिए ।

सोही अवसरमा समूहका प्रमुख कोइरालाले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावामा सम्बन्धित नगरपालिकाका प्रमुखहरू, उपस्थित सम्पूर्ण महानुभाव तथा आयोजकलाई भेट गरी नेपालमा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावनाबारे तथा भविष्यमा यससम्बन्धी विशेष कार्यक्रमहरू सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा गर्न सकिनेबारेमा जानकारी दिनुभएको थियो ।

सांस्कृतिक कार्यक्रमको आदानप्रदानले नेपाललाई विश्वसामु चिनाउन सहयोग पुग्नुका साथै नेपाल बुद्धको जन्मभूमि हो भनेर जानकारी दिनसमेत मद्दत पुग्ने एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख कोइरालाले बताउनुभयो । उहाँले सांस्कृतिक कार्यक्रमको प्रभाव जनस्तरसम्म पुग्ने र यस्ता कार्यक्रमलाई सरकारले पनि प्रवद्र्धन गर्नुपर्ने तर नेपाल सरकारका तर्फबाट प्रोत्साहन नहुँदानहुँदै पनि निजीस्तरबाट सांस्कृतिक राजदूतका रूपमा भए पनि मुलुक चिनाउने कार्यमा अलिकति भए पनि योगदान गर्न पाएकोमा गर्व लाग्ने गरेकोे बताउनुभयो । कोइरालाले भविष्यमा पनि यस्ता सांस्कृतिक आदानप्रदानका कार्यक्रमहरू भइरहने जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?