मनको घाउ बिर्सिएर पनि बाँच्न पाइन्छ र सञ्चेतना !

डा. नारायण चालिसे
Read Time = 14 mins

जीवन रहेसम्म प्रश्नहरूले प्रश्न गर्न छाड्दा रहेनछन् । कहिले अरूले गरेका प्रश्न कहिले आफैँले गरेका प्रश्नको उत्तर खोज्दैमा जीवन सकिँदो रहेछ । अरूका प्रश्नको उत्तर जेजस्तो दिन सकिए पनि आफैँले आफैँलाई गरेका प्रश्नको उत्तर दिन सजिलो रहेनछ । आफैँभित्रका प्रश्न कसले कसलाई गरेको हो छुट्याउन त्यत्तिकै गाह्रो कुरा रहेछ । मानिसभित्रै रहेका अनगिन्ती मानिसलाई पहिचान गर्ने प्रयत्न नै जीवनको खोज रहेछ । आफैँभित्रको लोभ र मोहले र्‍याल काढिरहेको मानिसका प्रश्न, रिसले अँगार ओकलिरहेको मानिसका प्रश्न, करुणाले द्रवित भएको मानिसका प्रश्न, रहरका रङ्गीन सपना देखिरहेको मानिसका प्रश्न, प्रतिशोधको भावनाले उत्ताउलिएको मानिसका प्रश्न, महत्वाकाङ्क्षाले आकाश छुन उडिरहेको मानिसका प्रश्न, कुण्ठा र हीनताभासले खुम्चिएको मानिसका प्रश्न, प्रचण्ड क्रान्तिले निकास खोजिरहेका मानिसको प्रश्न, बुद्धको शान्तिले निर्वाण खोजिरहेको मानिसका प्रश्न यी धेरै मानिसको चरित्र जोडिएर बनेको सग्लो मानिसभित्रका प्रश्न कसले कसलाई गरेको हो ?

बुझ्नु र तिनको उत्तर खोज्नु एउटा सस्यानो जीवनका निम्ति पर्याप्त हुँदोरहेनछ । त्यसो त जीवन र जगत्बारे सबैले प्रश्न पनि गर्न जान्दैनन् । जसलाई प्रश्नको चेतना छ तिनका मात्रै कुरा हुन् यी । प्रश्न नहुनेहरूको जीवन सायद शान्त हुन्छ । कुनै पनि समवेदनाले नछुनेहरूलाई मैले देखेको छु तिनीहरूले अप्राश्निक आनन्द लिइरहेका छन् ।

त्यही मन हो जहाँ समयका चोट, विचारका खोटहरू पनि सँगालेरै राखिएका छन् । हर्षको उज्यालो र विस्मातको अँध्यारो अटाएको ठाउँ पनि मन हो । कति धेरै पानाहरू होलान् यस्तो विचित्र मनका ? जहाँ विश्वब्रहृमाण्ड अटाएको छ ।

जीवनको पाठशालामा आफैँसँग प्रश्न गर्ने र आफैँलाई उत्तर दिने यो गुरु शिष्य परम्परामा आफैँ अर्जुन, आफैँ एकलव्य, आफैँ दुर्योधन, आफैँ द्रोणाचार्य । एक मनले द्रोणाचार्य भएर ज्ञान दिनु अर्को मनले अर्जुन, एकलव्य, दुर्योधन भएर ज्ञान लिनु अनौठो अभ्यास भएरहेछ जीवनमा । मनको सम्बन्ध हृदय र बुद्धि दुईतिर हुँदोरहेछ । सायद बुद्धिको अर्को नाम गुरु र हृदयको अर्को नाम शिष्य हुनुपर्छ । गुरुको कठोरता अनि शिष्यको कोमलता मिलेर महाभारत रचिँदोरहेछ जीवनको । त्यो बेला आफैँभित्र रहेका युधिष्ठिर, भीम, कर्ण, दुर्योधन, शकुनी र धृतराष्ट्रहरू सबैले भूमिका मागिरहेको लाग्छ । एकलव्य समय बुढी औँला काटिएको हातबाट विजयको अपेक्षा गरिरहेको जस्तो लाग्छ । समयजस्तै चरित्र नामको औँला काटिएका आजका एकलव्यहरू दुर्योधन भूमिकामा उभिएका भेटिन्छन् ।

दुर्योधन पनि त द्रोणाचार्यकै सीप लिएर उभिएको छ । समय उस्तै रहँदो रहेनछ । एकलव्य आज जन्मिएका भए अकिञ्चन अनुहार लिएर द्रोणाचार्यका अगाडि सायद उभिँदैनथे । आदर्शको यो पुरानो परिभाषा अबको समयलाई पाच्य भइरहेको छैन । तापनि मन नै एउटा यस्तो यन्त्र हो जसले विभिन्न चरित्रको मानिसलाई समेटेर एउटै मानिस बनाएर हिँडाउन सकेको छ । मन यस अर्थमा आफैँभित्रको अर्को महाभारतको नाम हो । अनगिन्ती कुरुक्षेत्रका युद्ध मनको मैदानमै लडिँदा रहेछन् । जसरी संसारको धेरै पढिएको ग्रन्थ भनेर महाभारतको सार समेटिएको भगवद्गीतालाई भनिन्छ त्यसरी नै जति पढेर पनि नसकिने ग्रन्थ भनेर मनलाई मान्नुपर्ला ।

त्यही मन हो जहाँ समयका चोट, विचारका खोटहरू पनि सँगालेरै राखिएका छन् । हर्षको उज्यालो र विस्मातको अँध्यारो अटाएको ठाउँ पनि मन हो । संसारप्रति प्रवृत्ति र संसारबाट निवृत्तिको शास्त्र नै मनलाई मानिएको छ । कति धेरै पानाहरू होलान् यस्तो विचित्र मनका ? जहाँ विश्वब्रहृमाण्ड अटाएको छ । मनका असङ्ख्य पत्रहरू जहाँ खोट र चोटका गहिरा घाउहरू पनि जमेर बसेका छन् तिनको उपचार भनेकै दबाएर राख्नुमात्रै हुँदो रहेछ ।

यदाकदा घाउको माम्री उप्किन्छ र पुरानो घाउ ताजा बन्छ त्यो बेला उपचार नपाएको जस्तो मन बल्किन्छ । ननिकालूँ दबाएरै राखूँ भन्दा पनि यदाकदा चोटहरू कारण अकारण बल्झिन्छन् । चोटविनाको मन कसको होला र ? जसोतसो मलम लगाएर राखिएका मनका घाउहरू खाटा उप्किएपछि तत्काल लगाउने मलम नै पाइँदैन धेरै समय दुखिरहन्छ मन । ती धेरै चोटहरू जो कसले कसरी र कुन बेला लगाएको हो ती सबैको साक्षी समय छ । खुकुरीको चोट अचानोलाई लागेको हुन्छ । अचानोले खुकुरी भुत्याएको पनि हुन्छ । निस्प्राण छन् हाम्रा दुवै अस्त्रहरू ।

हामीले हाम्रै पक्षमा बोल्न लगाएका छौँ अचानोलाई । न खुकुरी बोलेको छ न अचानो बोलेको छ । अर्थ न हुन् हामीले लगाउने आफ्नै अनकूल अर्थ गर्न हामी स्वतन्त्र छौँ । समयको जडताले त्यतिखेर निराश पार्छ जतिखेर बोलिदिन पर्ने समय बोल्दैन । र, नबोल्नु पनि अर्को न्याय भइदिन्छ समयमा समय नबोलेकैले हामी धेरैका सम्बन्धहरू जोगिन सकेका छन् । धेरैप्रतिको आस्था अडिएको छ । तीता यथार्थहरू पनि आदर्शको उपर्नाभित्र सम्मानित छन् । शत्रुलाई लखेट्नु तर नभेट्नु भनिन्छ । कतिपय सम्बन्धहरू टाढैबाट राम्रा लाग्छन् वा सुरक्षित रहन्छन् । जम्काभेट भएपछि आस्था डग्मगाएको अवस्था धेरै नाजुक हुन्छ पनि भनिन्छ ।

द्रोणाचार्यको बुद्धि अनि अर्जुन र एकलव्यको मन लिएर हिँड्दा ज्ञानका हरेक पाइलाहरूमा पाठभेद चलिरहेको छ । द्रोणाचार्यले बुद्धि प्रदान गर्ने अर्जुनले हृदय लिने यो द्वैत भूमिकामा सधैँ अलमल भइरहन्छ । कतिखेर गुरुको भूमिकामा छ जीवन कतिखेर शिष्यको भूमिकामा छ । बुद्धिले चट्टान बनाइरहनु अनि हृदयले पगालिरहनुको नाम जीवन रहेछ । मनको तन्तु घरि बुद्धिको चपेटामा पर्छ घरि हृदयको तरलताले पग्लिन्छ । मनले रचेको सपनाको बगैँचामा दुवैथरि वनस्पतिहरू छन् । एउटै गुलाफले एकातिर काँडा र अर्कोतिर फूल लिएर स्वागत गरिरहेछ बगैँचामा । द्वैत धर्मको प्रतिस्पर्धा छ जीवनमा भन्ने त सजिलै बुझियो तर फूल छान्ने र काँडा तर्काउने अभिनय राम्ररी निभाउन नजान्दा जीवनको नाटक जीवन्त बन्न नपाएको हो कि जस्तो लागिरहन्छ ।

आँखामा बिझाएको कसिङ्गर फालेर आँखालाई निर्मल पार्न सकिन्छ तर मनको विकार मेटाएर निर्मल मन बनाउन सजिलो रहेनछ । मनमा बस्ने रहरका कोपिलाहरू असमयमै तुहेका सपनाका सन्तानहरू, घाउ बनेर बल्किरहेका असफलता बेहोरेका पाइलाहरू यिनै यिनै कुरा सम्झिरहेको छु ।

विभिन्न रहरलाई मनको बाँधले बाँधिराखेर कति दिनसम्म अड्याइरहनु । पानीजस्तै तरल बनेर मनको बहाव बाँध भत्काएर बग्न चाहन्छ । त्यसैले त बेलाबेलामा मनको सङ्कट व्यवहार बनेर बाहिर आइपुग्छ । मनलाई एकछिन कतै छोडेर हामी कहीँ अन्त जान पाउँदैनौँ । आफ्ना कुरा नसुनाएर पनि बस्न सक्दैनौँ । सबै कुरालाई छोडेर बस्न सकिन्छ मनलाई छोडेर बस्न पाइँदैन । यस अर्थमा हाम्रा कर्मको साक्षी पनि मनै हो मर्मको साक्षी पनि मनै हो । र, हाम्रो अस्तित्वको परिचायक पनि मनै हो ।

त्यसो त हामीले ठूला ठानेकाहरू, हामीले आदर्श मानेकाहरू, वैभवले पूर्ण बनेकाहरू, ज्ञानले परिपूर्ण छन् भनिएकाहरू, सौन्दर्यले भरिपूर्ण सजिएकाहरू यी सबै सबैहरू मनकै कारणले विवादमा आएको पाएका छौँ । मनको प्यास अगस्त्य बनेर समुद्र पिउन खोज्छ । मनको भोक हन्तकाली बनेर संसार खान आतुर हुन्छ । मनको राग जिउँदो बनेर सबै प्रकारको भोगमा डुबुल्की मार्न चाहिरहेको छ । सौन्दर्यलाई नष्ट गरेर भोकको साँढे जीवनको बगैँचामा नाच्न थाल्छ त्यसपछिको परिणति कुरूप बनेर अगाडि आउँछ । मनको व्यभिचार सबैभन्दा बद्नाम तत्वको नाम पनि हो । प्रिय सञ्चेतना आज म मनको त्यो कहाली लाग्दो पाटोलाई सम्झिन चाहिरहेको छैन ।

कर्मभन्दा मर्मका कुरा मनमा बढी अटेका छन् । सुखमा हाँसेको भन्दा दुःखमा रोएको कुराले मनलाई बढी छोएको छ । सुख बिर्सिंदो रहेछ दुःख बिझाउँदो रहेछ । फेरि हामीले मर्मकै कुरा बढी गर्न बाध्य भयौँ । भाग्य अन्त कतै बास बस्न गएको बेला पनि दुर्भाग्ले हाम्रो साथ छोडेन । दुःख त त्यो इमानदार मित्रको नाम पनि हो जसले हरदम हामीलाई साथ दिइरहृयो । सायद त्यसैले मनको मझेरीमा पनि खुसीका भन्दा दुःखकै कथा बढी छन् । मन यति कोमल तत्त्वको नाम हो यसमा सानो कुरा पनि बिझाउँछ । मानिसहरू आँखालाई सम्वेदनशील मान्छन् ।
आँखामा बिझाएको कसिङ्गर फालेर आँखालाई निर्मल पार्न सकिन्छ तर मनको विकार मेटाएर निर्मल मन बनाउन सजिलो रहेनछ । मनमा बस्ने रहरका कोपिलाहरू असमयमै तुहेका सपनाका सन्तानहरू, घाउ बनेर बल्किरहेका असफलता बेहोरेका पाइलाहरू यिनै यिनै कुरा सम्झिरहेको छु । जीवनको यो चौतारीमा आइपुग्दा मैले सम्झनुपर्ने धेरै कुरा सम्झिन सकेको छैन । बिर्सिनुपर्ने धेरै कुराहरू बिर्सिन सकेको छैन र बिर्सन चाहेका कति कुराहरू बिर्सिन पाएको पनि छैन । सबैभन्दा ठूलो कुरा मनका घाउहरू जसले मलाई जीवन दिए । धेरै अग्निपरीक्षाहरूमा इस्पात बन्न पनि सिकाए ।

ती हुन् मेरो चेतनालाई उचाइ दिने पारदहरू तिनलाई म कसरी अवमूल्यन गर्न सक्छु र । यी सबै कुराहरू नै हुन् मेरो मनका अमूल्य खजानाहरू । यति प्रिय मेरो मन आज पनि अतीतको डोरीले डो¥याएर आगतको उज्यालो संसारमा लैजान प्रयत्न गर्दैछ । मनका तिनै मीठा घाउहरूले नै अहिलेसम्म बाँच्न पाइएको छ । यस्तो बेला मनलाई अन्तै कतै पठाएर म मात्रै तिम्रो निम्तोमा आउन सक्दिन । प्रिय सञ्चेतना ! मनको घाउ बिर्सिएर पनि बाँच्न पाइन्छ र ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?