भारतसँग पराजित हुँदै नेपाल बाहिरियो

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । भारतसँग पराजित हुँदै नेपाल साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाटै बाहिरिएको छ । यसअघिको संस्करणको उपविजेता रहेको नेपालले शनिबार बंंग्लोरमा भएको खेलमा भारतसँग २-० को हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

नेपालसँगको जितसँगै भारत भने सेमिफाइनलमा प्रवेश गरेको छ । भारतका लागि कप्तान सुनिल क्षेत्री र महेशसिंह नोरिमले एक एक गोल गर्नुभयो । खेलको ६० मिनेट घरेलु टोलीलाई रोकेको नेपालले अन्तिम तीस मिनेट भने सम्हालिन सकेन ।

६१ औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाउनुभयो । बायाँ विंगमा महेश सिंह नाओरेमले दिएको क्रसमा सुनिलले करिअरको ९१ औं गोल गर्नुभयो । यस्तै ७० औं मिनेटमा कप्तान सुनिलको पहिलो प्रहार नेपाली कप्तान किरण चेम्जोङले बचाउँदै क्रसबारमा लागेर फर्किएको थियो । लगत्तै महेश सिंहले पोस्ट नजिकैबाट बललाई पोस्टको दिशा दिदैँ दोस्रो गोल गर्नुभयो ।

त्यसअघि १७ औं मिनेटमा एरिक विष्टले गरेको शक्तिशाली प्रहारलाई भारतका गोलरक्षक गुरप्रित सिंह सन्धुले जोगाउँदा नेपालले अग्रता लिन सकेन । लगत्तै विमल घर्ती मगरले पनि पाएको अवसर सदुपयोग गर्न सक्नुभएन । ४० औं मिनेटमा उदान्ता सिंहको प्रहारलाई नेपाली गोलरक्षक किरण चेम्जोङले जोगाउनुभएको थियो ।

नेपालले पहिलो हाफको अन्त्यमा अन्जन विष्टलाई चोटका कारण गुमाएको थियो । अन्जनको अभाव पनि नेपाली टोलीमा देखियो । यसै खेलमार्फत डिफेन्डर सिमान्त थापाले नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यु गर्नुभयो । खेलको दोस्रो हाफमा सनिश श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै सिमान्तले राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएको हो । उहाँले घरेलु फुटबल जावलाखेल युथ क्लबबाट खेल्नुहुन्छ ।

योसँगै नेपालले भारतसँग २४ खेल खेल्दा १७ खेलमा हार ब्यहोरेको छ भने दुई खेल जित र ५ खेल बराबरीको नतिजा निकालेको छ । यसअघि पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो ।

शनिबार नै भएको समूह ए को खेलमा कुवेतले पाकिस्तानलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । कुवेतको जितमा मुबारक फानिनीले दुई तथा सुल्तान इनिजी र इद राशिदीले एक एक गोल गर्नुभयो ।

खेलको दशौँ मिनेटमा इनिजीले गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाउनुभएको थियो । १७ औं मिनेटमा फानिनीले गोल गर्दै कुवेतको अग्रता २-० को बनाउनुभयो । पहिलो हाफको इन्जुरी समयमा फानिनीले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाउनुभएको थियो भने खेलको ६९ औं मिनेटमा राशिदीले गोल गर्दै कुवेतलाई ४-० को जित दिलाउनुभयो ।

पाकिस्तानको भने यो लगातार दोस्रो हार हो । पाकिस्तान दुई खेलमा अंक विहीन रहेर पुछारमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?