सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधन

पार्टीलाई अपूरणीय क्षति : कांग्रेस

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधन भएको छ । लामो समयदेखि ‘क्यान्सर’ पीडित ६४ वर्षीय लामाको उपचारको क्रममा शुक्रबार राति १२.४५ बजे वीर अस्पतालमा निधन भएको कांग्रेस सिन्धुपाल्चोकका सभापति जंगबहादुर तामाङले जानकारी दिनुभयो ।

कांग्रेसमा सादगी नेताको रूपमा परिचित लामा कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदका उम्मेदवार हुनुहुन्थ्यो । लामाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि शनिबार दिनभर काठमाडौं बौद्ध तीनचुलीस्थित हृयोल्मो गुम्बामा राखिएको थियो । उहाँको आज (आइतबार) दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

लामाको दुई छोरा र चार छोरी छन् । विद्यार्थीकालदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका लामा १३औं महाधिवेशनमा कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा निर्वाचित हुनुभएको थियो । उहाँ दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसको तर्फबाट प्रत्यासी हुनुहुन्थ्यो ।

विसं २०१६ असोजमा जन्मनु भएका लामा ब्लड क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । केही समयअघि थाइलैण्डमा उपचार गराएर उहाँ नेपाल फर्कनु भएको थियो । लामाको निधनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?