मदाने गाउँपालिकाको ५० करोड बढीको बजेट

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी  । गुल्मीको मदाने गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५० करोड बढीको बजेट प्रस्तुत गरेको छ । आइतबार गाउँसभाको १३ औं अधिवेशनको दोश्रो बैठकमा उपाध्यक्ष सरिता खड्का केसीले ५० करोड २६ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिकाले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको उपाध्यक्ष खड्काले बताउनुभयो । आर्थिक वर्ष २०८०/०८१ का लागि शिक्षातर्फ भवन निर्माण सहित रु.३ करोड २० लाख, स्वास्थ्य क्षेत्रतर्फ एम्बुलेन्स खरिद सहित १ करोड ३१ लाख रुपियाँ, कृषितर्फ रु.१ करोड ६ लाख, पशुतर्फ रु.२३ लाख ७५ हजार बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाले सबै भन्दा बढि भौतिक पुर्वाधार र सबैभन्दा न्यून वातावरण संरक्षणमा बजेट विनियोजन गरेको छ ।

यस अघि गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा कृषिमा आधुनिकीकरण गर्दै एक वडा दुई उत्पादन, सामूहिक कृषि फर्मलाई प्रोत्साहित गर्ने, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा लगायतका नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

गाउँपालिकाले यस पटक पनि निःशुल्क छोरी बुहारी उच्च शिक्षा तथा सासू बुहारी सम्मान कार्यक्रमलाई निरन्तरता दिएको छ । युवालाई ‘बिदेश होइन बिजेनेस’ कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिका अध्यक्ष कुँवरले बताउनुभयो ।

पुष्प खेतीलाई प्रोत्सान, उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता, सार्वाजानिक पूर्वाधार निर्माण, कृषि व्यवसायिक उद्योग, वित्तिय क्षेत्रबाट रोजगारी सिर्जनामा जोड, वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुको सीप पहिचान गरी स्वरोजगारमूलक कार्यमा संलग्न गराउने नीति तथा कार्यक्रम अवलम्बन गरेको उहाँले बताउनुभयो ।

‘समुन्नत मदाने, सम्मानित मदाने बासी’ नारा बोकेको मदाने गाउँपालिकाले स्रोत, साधन, पूजी, सीप एवं प्रविधिको प्रयोग गरेर विकास निर्माणको काममा जोड दिने लक्ष्य लिएको उपाध्यक्ष खड्काले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?