नेपालमा भ्रष्टाचारको अवस्था चिन्ताजनक बन्दै

नारायण भण्डारी
Read Time = 10 mins

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले नेपालमा भ्रष्टाचारको अवस्था चिन्ताजनक भएको जनाएको छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा ट्रान्सपरेन्सी नेपालले विश्वको उच्च भ्रष्टाचार हुने मुलुकमा नेपाल दर्ज हुनु नै चिन्ताको विषय भएको जनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आयोजित कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालकी अध्यक्ष मद्यिनी प्रधानांगले नेपालले भ्रष्टाचार नियन्त्रणको सूचक मापनमा एक सयमा ३२ अंक मात्रै पाएको जानकारी दिनुभयो । उहाँले ५० अंकभन्दा कम पाउने मुलुक आफैँमा उच्च भ्रष्टाचार हुनेमा दर्ज हुने जानकारी दिनुभयो । प्रधानांगले राजनीतिक भ्रष्टाचार नियन्त्रण पेचिलो बन्दै गएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक भ्रष्टाचार नियन्त्रण नेपालको सन्दर्भमा सबैभन्दा पेचिलो बनेको छ ।’

सर्वेक्षणले भ्रष्टाचार संस्थागत हुँदै गएको देखाएको उल्लेख गर्दै प्रधानांगले भन्नुभयो- ‘मन्त्रिपरिषद्ले गरेको निर्णय अख्तियारले छानबिन गर्न नपाउँदा ठूला निर्णय मन्त्रिपरिषद्बाट हुने गरेका छन् ।’ निर्माण कार्य र सार्वजनिक खरिदमा हुने भ्रष्टाचारविरुद्ध राज्यले थप कडाइ गर्न जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ओम्नि, सेक्युरिटी प्रेस र वाइडबडी जहाज प्रकरणमा भएको भ्रष्टाचारबारे अख्तियारले छिटो निर्णय गर्नुपर्छ ।’ पद्मिनी प्रधानांगले सुराकी संरक्षण र कसुरजन्य सम्पत्तिसम्बन्धी कानुन चाँडो बन्नुपर्ने बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रण गर्न सबैको प्रतिबद्धता र सक्रियता आवश्यक छ : देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताउनुभयो । उहाँले भ्रष्टाचार विरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्र लगायतको भूमिका र सक्रियता आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणलाई सबैको समन्वयमा अघि बढाउँदै जनमुखी सेवा प्रवाह गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण र निर्मूल गरी स्वच्छ, स्वस्थ, नैतिक र विकसित समाजको निर्माण गर्न सबै एकजुट हुन आवश्यक भएको बताउनुभयो । समाजको कलंकको रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न, भ्रष्टाचारजन्य गतिविधिबाट टाढा रहन र भ्रष्टाचारजन्य कार्यविरुद्ध आवाज मुखरित गरी सदाचार कायम गर्न आवश्यक भएको पनि बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रणको अन्तर्राष्ट्रिय दायित्वप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै उहाँले भ्रष्टाचारविरुद्धको महासन्धिको कार्यान्वयन गर्न तीनवटै तहबाट राष्ट्रिय कार्ययोजना कार्यान्वयन भइरहेको बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणसम्बन्धी अभियान सञ्चालनको खाँचो रहेको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि कानुन संशोधन गर्न आवश्यक भए सरकार तयार रहेको पनि बताउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गरी स्वच्छ, स्वस्थ र विकसित समाज निर्माणको लागि हामी सबै प्रतिबद्ध हुन आवश्यक छ । समाजको कलंकको रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न यस्ता गतिविधिबाट टाढै रहन र भ्रष्टाचारजन्य कार्यका विरुद्ध आवाज मुखरित गरी भ्रष्टाचारका गतिविधिहरुको नियन्त्रणका लागि आवश्यक कार्य गर्नुपर्नेछ । भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानूनमा आवश्यक सुधार गरी अघि बढ्न सरकार प्रतिबद्ध छ ।’ प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणमा आगामी दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप क्रियाशील रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचारमुक्त समुन्नत राष्ट्र निर्माणमा सबैजना प्रतिबद्ध भई अघि बढ्न आग्रह गर्नुभयो ।

भ्रष्टाचार नियन्त्रण गर्न आयोग प्रतिबद्ध छ : प्रमुख आयुक्त राई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिबद्ध रहँदै आएको बताउनुभएको छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रणका लागि आएका उजुरीउपर तथ्य प्रमाणको आधारमा प्रभावकारी अनुसन्धान एवं अभियोजनको काम भइरहेको पनि बताउनुभयो ।

प्रमुख आयुक्त राईले संविधानले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माणका लागि उपचारात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासको चार खम्बे रणनीतिलाई आयोगले अवलम्बन गरिरहेको स्पष्ट पार्नुभयो । भ्रष्टाचारविरुद्ध कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायको समन्वयात्मक प्रयत्न हुन जरुरी रहेको औँल्याउँदै प्रमुख आयुक्त राईले भ्रष्टाचारका दृष्टिले उच्च जोखिम क्षेत्रमा विशेष निगरानी बढाउने कामलाई अघि बढाइएको उल्लेख गर्नुभयो ।

‘नेपालको संविधानले आयोगलाई प्रदान गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न भ्रष्टाचार मुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने मूल उद्देश्य सहितको उपचारात्मक, निरोधारात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासको चार खम्बे रणनीति अवलम्बन गरिएको छ । आयोगले भ्रष्टाचार विरुद्धको कार्यको अनुसन्धान र अभियोजनलाई अझै प्रभावकारी बनाउँदै जाने क्रममा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै जाने नीति अख्तियार गरेको छ । साथै भ्रष्टाचारको दृष्टिले उच्च जोखिमयुक्त क्षेत्रको विशेष निगरानी बढाउनका साथै जोखिममा आधारित अनुसन्धान पद्धति कार्यान्वयन गर्ने गरेको छ । जोखिमयुक्त क्षेत्रमा अग्रसरतापूर्वक निगरानी गरी भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान र अभियोजन गर्ने गरिएको छ ।’ राईले भन्नुभयो । प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण गर्ने राज्यको नीतिलाई व्यवहारमा उतार्ने काममा तीनवटै तहको सरकार, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैको निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?