प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस बस्नै हुँदैन : डा.सुनिल शर्मा

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । नेपाली कांगेसका महासमिति सदस्य एवं मोरङ–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले प्रचण्डको नेतृत्वको सरकारमा कांग्रेस बस्नै नहुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै कांग्रेसले सरक्कै सरकार छोड्नुपर्ने कि कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने कि त प्रतिपक्षमा बस्नुपर्ने बताउनुभयो ।

;कांग्रेसका निम्ति प्रचण्ड फलिफाप छैन, गिरिजाबाबु र प्रचण्डलाई पहिलो पटक वार्ता गराउने म हुँ जीवितै छु । प्रचण्डले गिरिजाप्रसादलाई पनि झुक्याएकै हो । प्रचण्डले कहिले ओलीलाई चिटिङ गर्छन् कहिले गिरिजाबाबुलाई गरे । शेरबहादुर दाईलाई कुनबेला चिटिङ गर्छन् टुंगो छैन ।' शर्माले भन्नुभयो ।

'म आफैँ कांग्रेसको सांसद, सत्ताधारी सांसद हुँ, म के भन्छु भने-यो सरकारले नेपाली जनताको पक्षमा काम गर्न सकेको छैन । त्यसकारण प्रचण्डको नेतृत्वमा कांग्रेस बस्नु हुँदैन।’

माओवादीसँग चुनावसम्म मात्रै गठबन्धन भएको र माओवादी नेतृत्व सरकारले देशको समस्या समाधान गर्न नसक्नाले यो गठबन्धन चेन्ज गर्नुपर्ने उहाँको भनाई थियो।

'नेपाली राजनीतिमा प्रचण्ड बेइमान नेता हो । उनले आफ्नो राजनीतिक स्वार्थका लागि जे पनि गर्छन्। पहिला जनयुद्धमा जातिय कुरा उठाएर रोल्पादेखि ताप्लेजुङसम्मका सोझासाझा जनजातिलाई बन्दुक बोकाए । शर्माले भन्नुभयो, ‘अहिले त्यही पहिचानको कुरा उठाउनेलाई यीनले बुट र बेलेट प्रयोग गरिरहेका छन् ।' उहाँले भन्नुभयाे, ' त्यसकारण यस्ता बेइमान मानिसको पछि कुद्नु हुँदैन । कांग्रेस जिम्मेवार पार्टी हो, कांगेसले यसलाई चाँडोभन्दा चाँडो निकास दिनुपर्छ।’

खोटाङका कार्यकर्ता भेटघाटपछि खोटाङ कांग्रेसमा आन्तरिक समस्या रहेको र समस्यालाई केन्द्रले चाँडै समाधान गर्ने उहाँको भनाई छ । शर्मा बिहीबार नै काठमाण्डौ फर्कनुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?