चाइना चेम्बरलाई उसी सिसिपिआइटीको साथ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँगै चीन भ्रमणमा रहेको नेपाल चाइना चेम्बरको प्रतिनिधिमण्डलले उसी-सिसिपिआइटीसँग सहकार्यको सम्झौता गरेको हो । चीनको पुरानो औद्योगिक शहर उसीलाई औद्योगिक हब मानिन्छ ।

नेपाल चाइना चेम्बरका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ र उसी सिसिपिआइटीका उपाध्यक्ष वाङ सिसोङले मंगलबार आयोजित एक समारोहबीच सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो । उसी पूर्वी चीनको सांघाई नजिकैको शहर हो । जुन चीनको सबैभन्दा ठूलो ताजा पानीको तालमध्ये एक, ताइहुको किनारमा अवस्थित छ भने त्यहाँ रहेको लिङ्शान पार्कमा ८० मिटर अग्लो भव्य बुद्धमूर्ति पनि छ ।

बुद्ध जन्मस्थल लुम्बिनीप्रति उसी क्षेत्रका चिनियाँ नागरिकको रुचि रहेको र सो क्षेत्रबाट नेपालमा ठूलो संख्यामा पर्यटक ल्याउन सकिने नेपाल चीन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।

श्रेष्ठका अनुसार उसी सिसिपिआइटीसँग भएको सम्झौताअनुसार नेपाली व्यवसायीले त्यहाँ हुने व्यापारमेलामा सहभागी हुन पाउनेछन् भने नेपालको पर्यटन क्षेत्रको विकासमा त्यहाँका व्यवसायीले लगानी गर्नेछन् । कृषि क्षेत्रमा उसीको अनुभव तथा प्रविधि नेपालमा भिœयाएर कृषिजन्य वस्तुको निकासीमा योगदान पुर्‍याउन सहकार्य गरिने सहमतिमा जनाइएको छ ।

निवर्तमान अध्यक्ष श्रेष्ठका अनुसार उसी क्षेत्रको औद्योगिक आर्थिक विकासको अनुभव नेपालका लागि उपयोगी हुने र नेपालमा ठूलो संख्यामा पर्यटक भित्र्याउन सहयोग पुग्ने उद्देश्यले यो सहमति गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?