मेडिकल माफियाहरु गेटामा मेडिकल विश्वविद्यालय बनाउन अवरोध गरिरहेका छन्ः एमाले सचिव भट्ट

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 6 mins

कैलाली । नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले मेडिकल माफियाको चलखेल कारण गेटामा मेडिकल विश्वविद्यालय बनाउने कार्यमा अवरोध सिर्जना भएको टिप्पणी गर्नु भएको छ । प्रेस चौतारी कैलालीले सोमबार अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टले मेडिकल माफियाको चालमा सरकार चल्दा बिश्वबिद्यालय बनाउने काम अलपत्र परेको बताउनु भयो ।

उहाँले एमाले अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री भएका बेला गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढाएपनि अहिलेको सरकारको वेवास्ताका कारण समस्या भएको बताउनु भयाे । सचिव भट्टले एमालेकै अगुवाईमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सर्वदलीय बैठक बसेर शहीददशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गराउन सफल भएको तर बजेटसम्म आइपुग्दा मन्त्रिपरिषद्को निर्णय नै उल्ट्याउने काम भएकाले खबरदारी गर्न आवश्यक रहेको बताउनु भयो ।

मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कसैले काट्न नसक्ने भनेर भ्रम सिर्जना गरिएको बताउदै भट्टले प्रतिनिधि सभा क्याबिनेट भन्दामाथि रहेकाले बजेट पारित हुनासाथ उक्त निर्णय काटिने बताउनु भयो ।

उहाँले मेडिकल कलेजका लागि उचित बजेट व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो-‘अहिले सरकारले मेडिकल कलेज सञ्चालनका लागि साढे तीन करोड रकम विनियोजन गरेको छ । यसले पुग्दैन । कलेज सञ्चालनका लागि तीन देखि पाँच अर्व विनियोजन गर्नुपर्छ ।’ उहाँले मेडिकल कलेज सञ्चालन हुन नदिन मेडिकल माफियाले पनि चलखेल बढाइरहेको बताउनुभयो ।

डडेल्धुरामा मेडिकल कलेज सञ्चालन ल्याउनेबारे व्यंग्य गर्दै उहाँले भन्नुभयो ‘पुर्वाधार सबै बनेका ठाउँमा सञ्चालन हुन सकेको छैन । जहाँ संरचनानै छैन त्यहाँ सञ्चालन हुन्छ भन्ने मलाई लाग्दैन् । डडेल्धुरामा मेडिकल कलेज बन्ने सम्भावना म देख्दिन ।’ उहाँले गेटास्थित मेडिकल कलेज सञ्चालनका लागि नेकपा एमालेले सडकदेखि सदनसम्म शान्तिपूर्वक दबाबमुलक कार्यक्रम गरिरहेको बताउनु भयो ।

उहाँले कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य बिरबहादुर बलायरले संसदमा विश्वविद्यालय आवश्यक छैन भन्नु र कैलालीका सभापति नारायणदत्त भट्टले सोहीखालको वक्तव्य दिनुले सरकारमा बस्नेहरु नै मेडिकल विश्वविद्यालय निर्माणको बाधक बनेको प्रष्ट भएको दाबी समेत गर्नु भयो ।

मेडिकल विश्वविद्यालय बन्न नदिन माफियाहरुले चलखेल गरिरहेका छन् । जसको सरकार छ उहाँहरुकै सांसदले विश्वविद्यालय चाहिदैन भन्दै संदनमा भाषण गरेको सुने,’ भट्टले भन्नुभयो, ‘अर्थमन्त्रीले प्रतिष्ठान, मेडिकल कलेज र विश्वविद्यालय उस्तै हो भनेर भन्नुभयो । यसले की उहाँलाई ज्ञान छैन की बुझपचाएको जस्तो गर्दै हुनुहुन्छ ।’

अहिले मानिसहरु स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज र विश्वविद्यालय भनेर विभाजित भएको देखिएकाले कुनै राजनीतिक दल नभनेर एकताबद्ध भइ विश्वविद्यालय बनाउन भूमिका खेल्नुपर्ने भट्टको भनाई थियो । भट्टले नेकपा एमाले गेटा मेडिकल विश्वविद्यालय निर्माण गर्नमा प्रष्ट रहेको बताउँदै सरकारले वेवास्ता गरे सदन देखि सडकसम्म आन्दोलन चर्काउन बाध्य हुने बताउनु भयो ।

फरक प्रसंगमा बोल्दै भट्टले मुलुकको राजनीतिक समीकरण फेरिने संकेत देखिएको टिप्पणी गर्नुभयाे । सरकारले ल्याएको बजेटकै कारण अहिलेको समिकरण फेरबेदल हुने देखिएको उहाँले बताउनु भयो । ‘राजनीतिक परिस्थिति परिवर्तन हुँदैछ । ठिक ढंगले अघि नबढे देश अराजकतातिर जान्छ’ उहाँले भन्नुभयो ।

उहाँले अहिलेको बजेटले आर्थिक स्थिति मजबुत बनाउने भन्दा कमजोर बनाउने गरि आएको बताउनु भयो । उहाँले जबसम्म आयात घटाउने र निर्यात बढाउन सकिदैन तबसम्मको देशको व्यापारस्थिति घाटा तर्फ गइरहने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?