भोजपुरका नौवटै स्थानीय तहले ल्याए आगामी बर्षको नीति तथा कार्यक्रम

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरका दुई नगरपालिका र सात गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि बजेटसहितको नीति कार्यक्रम सार्वजनिक गरेका छन । भोजपुरका सबै स्थानीय तहहरुले तोकिएको समयमा नै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका कुराहरुलाई नीति तथा कार्यक्रममा समावेश गर्दे स्थानीय तहहरुले बजेट बिनियोजन गरेका हुन् । संघीय सरकार, प्रदेश र स्थानीय तहको आन्तरिक श्रोतसहितको बजेट जोडेर पालिकाहरुले नीति तथा कार्यक्रमहरु ल्याएका छन् ।

‘कृषि पर्यटन, साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’ भन्ने लक्षका साथ टेम्केमैयुङ गाउँपालिकाको १४ औं गाउँसभाले ५२ करोड ५७ लाख ९२ हजार एक सय ७० रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । सभा मार्फत् चालु तर्फ ३६ करोड ९३ लाख ६९ हजार नौ सय र पुँजीगत तर्फ १५ करोड ६४ लाख २३ हजार बराबरको बजेट गाउँपालिकाले सार्वजनिक गरेको हो । माग अनुसारका योजनाहरुका बजेटका कारण समेट्न नसकिएको भए पनि सबै क्षेत्रलाई समेट्ने गरी नीति तथा कार्यक्रम ल्याईएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।
जिल्लाको उत्तरी क्षेत्रमा रहेको साल्पासिलिछो गाउँपालिकाको १३ औ गाउँसभाले आर्थिक बर्ष २०८०/०८१ को लागि ३८ करोड बराबरको बजेट पारित गरेको छ । गाउँसभाले संघीय सशर्त अनुदान र विषयगत बजेट गरि ३८ करोड १३ लाख ९४ हजार ८ सय बराबरको बजेट पारित गरेको हो ।

पालिकाले भौतिक पुर्वधार तर्फ ४ करोड ९६ लाख ९५ हजार, सामाजिक विकासमा ४ करोड १८ लाख ८५ हजार, आर्थिक विकासमा १ करोड ३ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ८० लाख ५० हजार, कार्यालय सञ्चालन तथा प्रशासनमा ६ करोड ८३ लाख ८५ हजार ८ सय बजेट विनियोजन गरेको छ ।

यता जिल्लाको दक्षिणमा रहेको आमचोक गाउँपालिकाको चौधौ गाउँसभाले २०८०/०८१ को वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँसभाले ४४ करोड ७१ लाख ६५ हजार बरावरको आमचोक गाउँपालिकाको प्रस्तावित वार्षिक बजेट सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत धनकुमार राईले जानकारी दिनुभयो ।

जिल्लाको पूर्वी अरुण गाउँपालिकाले आगामी आर्थिक वर्षकालागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष विनिता ढकालले १२ औ गाउँसभामा आ.व. २०८०/८१ का लागि करिव ४६ करोड बरावरको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।
भोजपुरको हतुवागढी गाउँपालिकाले पनि आफ्नो नीति कार्यक्रम सार्वजनिक गरेको छ भने बाँकी रहेका अन्य पालिकाहरुले पनि नीति कार्यक्रम सार्वजनिक गरी सकेका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?