![एनसेल खरिद-बिक्रीविरुद्ध ‘मिनी संसद्’को ‘एक्सन’](https://ehimalayatimes.com/wp-content/uploads/2023/12/Ncell-buying-and-selling.jpg)
रुकुमका नवराज विश्वकर्मालगायतका छ जना व्यक्ति नवराजकी प्रेमिका भगाउन जाँदा त्यहाँका उपल्लो जातका व्यक्तिहरूबाट मारिएका थिए । नवराजले आफू तल्लो जातको भएर पनि मल्ल थरकी युवतीसँग प्रेमसम्बन्ध राखेका थिए । केही साथीहरूलाई समेत सहयोगीका रूपमा लिएर प्रेमिकाको घर जाने क्रममा उनीहरूको हत्या भएको थियो । उनीहरूलाई केटी पक्षका मानिसहरूले लखेटेपछि केही व्यक्ति भाग्ने क्रममा भेरी नदीमा हाम फालेका थिए र बगेर तिनको मृत्यु भएको थियो । केही व्यक्तिहरूलाई भने केटी पक्षका मानिसहरूले कुटेर मारेका र हातखुट्टा बाँधेर भेरी नदीमा फालिको अवस्थामा तिनीहरूको शव बरामद भएको थियो ।
यस घटनाले त्यसबेला ठूलै तरंग मच्चाएको थियो । व्यक्ति हत्या जसले जसरी गरे पनि त्यो कानुनी रूपमा अपराध हो । अपराधमात्र होइन त्यो महाअपराध हो । हत्या अपराधहरूमध्ये सबैभन्दा ठूलो अपराध हो । हुन त बलात्कार, अपहरण पनि ठूला अपराध हुन् । चोरी, डकैती, कुटपिट, लुटपाट पनि अपराध नै हुन् । निरंकुश राज्यव्यवस्था भएका देशमा वा यस्तो व्यवस्था भएको अवस्थामा व्यवस्थाको र राष्ट्रप्रमुखहरूको विरोधलाई पनि जघन्य अपराध मानिन्छ । नेपालमा पञ्चायती व्यवस्था भएको बेला कसैलाई फसाउनु र दुःख दिनु छ भने राजगद्दी ताकेको भनेर मुद्दा लगाउने गरिन्थ्यो । नवराज विश्वकर्मा हत्या प्रकरण भने एकजनाको मात्र नभएर एकै पटक छ जनाको हत्या भएको घटना हो ।
उक्त घटनामा एक दर्जनको संख्यामा मानिसहरू घाइते पनि भएका थिए । रिसाएको पण्डितले वेद बिर्सन्छ भने झैँ गरी त्यहाँका केटी पक्षका उपल्लो जातिका मल्ला ठकुरीहरूले तिनलाई समातेर सम्बन्धित अभिभावक समक्ष वा प्रहरी प्रशासनलाई बुझाइदिएको भए पनि हुन्थ्यो, केटा र केटीको स्वेच्छाले भएको प्रेम थियो भने त त्यति पनि गर्न पाइँदैनथ्यो । नवराजलाई प्रेम गर्ने र मलाई लिन आउनू भनेर खबर पठाउने केटीको पनि कमजोरी अभिभावक पक्षले स्वीकार गर्नुपथ्र्यो । केटा पक्षको मात्रै एक पक्षको प्रेम थियो भने चाहिँ माथिको अवस्थाको विद्यमानता हुन्थ्यो । गाउँ नै उल्टिएर अल्लारे केटाहरूको सामूहिक रूपमा हत्या गर्नु हुँदैनथ्यो ।
तर, उक्त घटना नहुनुपर्ने कुरा भयो र नै यस्तो परिस्थिति आइपरेको हो । यस हत्याकाण्डमा त त्यस ठाउँका तत्कालीन जनप्रतिनिधिसमेत संलग्न भएका थिए । त्यसैले गर्दा हत्या आरोपीहरूको संख्या पनि ठूलो हुनपुग्यो । दुई दर्जन आरोपीलाई जन्मकैद हुनेगरी अदालतले फैसला गरेको छ । रुकुमस्थित जिल्ला अदालतबाट यस्तो फैसला भएको हो । यस फैसलाको पुनरावेदन पनि हुन्छ । यस्ता आपराधिक मुद्दाहरूमा फैसला गर्ने तालुक अदालतले आफैं पनि माथिल्लो अदालतमा आफूले यस्तो फैसला गरेको छु भनेर पेश गर्नुपर्ने हुन्छ भने पराजित प्रतिवादीहरूले उच्च अदालतमा पुनरावेदन गर्ने नै भए ।
त्यसपछिको परिणाम भोलिका दिनमा कस्तो आउँछ त्यो फरक पाटो भयो, हालका लागि भने हत्या भएका व्यक्तिहरूका आफन्त तथा परिवारले न्याय पाएको अनूभूति गरेकै हुनुपर्छ । जे गरे पनि मरेकाहरूको ज्यान फिर्ता त हुन सक्दैन, हत्याराहरूलाई जुन सजाय न्यायालयबाट तोकिएको छ, पीडित परिवारलाई केही सान्त्वना अवश्यै भएको छ । फेरि अर्कोतिर यो हत्या प्रकरण प्रेम र उचनिच जातका बीचको केटी भगाउने कृत्यमा मात्रै सीमित छैन । यो जातीय विभेदको टड्कारो प्रश्न हो । त्यही कारण चर्चा र उच्च प्राथमिकता पाएको छ । समाजका कथित दलितहरूको चहराइरहेको घाउमा मलम लगाउने काम यस फैसलाले गरेको छ । राज्य र समाजले परापूर्व कालदेखि अवहेलित बनाएका जातहरूमा पर्ने जातका मानिस थिए नवराज विश्वकर्मा पनि ।
तर, वर्तमान प्रणाली र संविधानले जात, जाति, वर्ण, लिंग, धर्म, आस्थालगायतका आधारमा भेदभाव गर्न नपाउने व्यवस्था गरेको छ । यतिमात्र होइन दलहनमा पारिएका र अन्य जनजाति, पिछडा वर्ग, सीमान्तीकृत, तराईका जातिहरूका लागि आरक्षणको व्यवस्थासमेत गरेको छ । तल परेका जातजातिहरूलाई राज्यबाट माथि ल्याउने प्रयास भइरहेका बेला जातीयतालाई नै मुख्य विषय बनाएर नरसंहार भएको घटना निश्चय दण्डित हुनुपर्ने खालको थियो र हाल अपेक्षित फैसला अदालतले पनि गरेको छ । अब जिल्ला अदालतबाट भएकै सजायलाई त्यसमाथिका अदालतहरूबाट सदर हुने हो कि होइन त्यो भने प्रतीक्षाको विषय हो । २१औं शताब्दीकै कलंकका रूपमा रहेको छुवाछूत र यसबाट सिर्जना हुने यस प्रकारका घटना आगामी दिनहरूमा हुनु हुँदैन, यसका लागि सबैको सजगता आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच