संकटमा सत्ता गठबन्धन

कांग्रेस-एमाले मिलेर सरकार बनाउने चर्चा तीव्र

नारायण भण्डारी
Read Time = 7 mins

काठमाडौं । पछिल्लो समय नेपालको राजनीतिक वृत्तमा सत्ता परिवर्तनको चर्चाले तीव्रता पाएको छ । सत्ता गठबन्धनभित्रै उपगठबन्धन भएर समाजवादी मोर्चा गठन हुनु र सत्तारूढ दलकै केही नेताहरूको अभिव्यक्तिका कारण सरकार परिवर्तन हुन सक्ने आशंकालाई बल पुगेको देखिन्छ ।

समाजवादी मोर्चाको नाममा कम्युनिष्ट पार्टीहरू एक ठाउँमा आउँदा कांग्रेस पनि सशंकित बन्दै गएको र सत्ताबाहिर रहेको प्रतिपक्षी एमालले कांग्रेसलाई सरकारको नेतृत्व दिएरै भए पनि सत्तामा साझेदार गर्ने प्रयास गरेकाले वर्तमान सरकारको भविष्य संकटमा परेको हो । पुस १० गते तत्कालीन गठबन्धन भत्काउन सफल एमाले फेरि सत्तामा फर्किन अर्को अवसरको खोजीमा छ । त्यसका लागि उसले कांग्रेससँग वार्ताको प्रयास गरिरहेको छ । उता, एमाले भने सरकार ढाल्न बल गर्नै नपर्ने बताउँछ । एमाले सचेतक महेश बर्तौलाले असार पहिलो सातादेखि एमालेले चाहे सरकार एक हप्ताभित्र ढाल्ने बताउँदै आउनुभएको छ । उहाँको भनाइले एमाले-कांग्रेससँग संवादमा रहेको देखाउँछ ।

पछिल्लो समय एमाले कांग्रेस सत्ता सहकार्य गर्नुपर्ने दुवै पार्टीका युवा नेताहरूले सार्वजनिक रूपमा बताउँदै आएका छन् । राजनीतिक स्थिरता कायम गर्न दुई ठूला पार्टी मिल्नुपर्ने उनीहरूको तर्क छ ।

वर्तमान सरकारमा सहभागी कांग्रेसले नै वर्तमान सरकारको विकल्पका लागि एमालेसँग सहकार्यको प्रस्ताव अघि सारेको स्रोतले जनाएको छ । एमालेका नेताहरू कांग्रेससँग सत्ता सहकार्य गर्न सहमत भएको स्रोतको दाबी छ ।

कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच पछिल्लो समय सम्बन्ध सुध्रिएकाले प्रधानमन्त्रीका रूपमा कोइरालाई देउवाले अघि सार्न सक्ने चर्चा पनि चलेको देखिन्छ । सभापति देउवाले नेता कोइरालालाई प्रधानमन्त्री बनाउन सहमत रहेको जनाएपछि कांग्रेसका नेताहरूको गठबन्धनविरोधी अभिव्यक्ति कोइराला टिमकै महामन्त्री गगन थापामार्फत आएको बताइन्छ ।

गठबन्धन पाँच वर्षसम्मै कायम रहन्छ : प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता गठबन्धन पाँच वर्षसम्म अगाडि बढ्ने दाबी गर्नुभएको छ । धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिनुभएको हो । ‘अहिले कताकता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ,’ प्रधानमन्त्री दाहालले भन्नुभयोे ।

१८औँ शताब्दीमा कार्ल माक्र्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ ¤ भनेको स्मरण गर्दै हाल आफ्नो सरकार र गठबन्धनका बारेमा अरूले भन्ने गरेका कुरामा भन्दा पनि राम्रो गर्दै जाने आफ्नो ध्यान रहेको उहाँको भनाइ थियो । यस क्रममा दाहालले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो काम गरे पनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृत्ति भएकाहरूले अनावश्यक विरोध गरेको बताउनुभएको थियो । साथै आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने र जनपक्षीय कामको जनताले नै फैसला गर्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

कांग्रेस एमालेको सरकार बनाउने कुरा सुनेको छु : कोइराला
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको बताउनुभएको छ । सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता कोइरालाले कांग्रेस एमालेको सरकार बनाउने कुरा सुनेको भए पनि पार्टी सभापतिसँग कुनै छलफल नभएको बताउनुभयो । नयाँ समीकरणबारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने उहाँले बताउनुभयो । पूर्वमहामन्त्री कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा हुन्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने पनि उल्लेख गर्नुभयो । उहाँले १५औँ महाधिवेशनमा आफू सभापतिमा लड्ने पनि घोषणा गर्नुभयो । कोइरालाले सभापतिमा आफू उठ्नुअघि पार्टीका नेता तथा कार्यकर्ताहरूको आग्रहलाई सुन्ने बताउनुभयो ।

सरकार ढाल्नु देशलाई अस्थिरतातिर लैजानु हो : मन्त्री किराँती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वर्तमान सरकार ढाल्नु भनेको देशलाई अस्थिरतातर्फ लैजानु रहेको टिप्पणी गर्नुभएको छ । सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री किराँतीले आफू प्रधानमन्त्रीले दिएको देश बनाउने निर्देशन र आमाले दिएको अर्तिभन्दा बाहिर गएर काम नगर्ने स्पष्ट पार्नुभयो । उहाँले वर्तमान सरकार पाँच वर्षसम्म नै टिक्ने दाबीसमेत गर्नुभयो । उहाँले आउने निर्वाचनमा ठूला दलको अस्तित्व संकटमा पर्ने डरका कारण पनि वर्तमान सरकार नढल्ने दाबी गर्नुभयोे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?