सत्ता गठबन्धन किन संकटमा ?

हिमालय टाइम्स
Read Time = 7 mins

सत्ता गठबन्धन संकटमा परेको भन्ने चर्चा चुलिएको छ । बेला-बेलामा हुने यस्ता हल्ला आधार वा निराधार के हुन् त्यसतर्फ भने हल्लाकापछि लाग्नेहरूले विचार गर्ने गरेका छैनन् । राजनीतिज्ञहरूको व्यवहारले र चर्चाले यस्ता हल्लाका लागि आधारभूमि बनाइदिने काम भने गर्नेगरेका छन् । नेपालको इतिहास विगतबाट वर्तमानसम्म अचम्मलाग्दो बनेर विकसित भइरहेको अवस्थामा छ । भीमसेन थापाले ३३ वर्ष, जंगबहादुर राणाले ३१ वर्ष र चन्द्रशमशेरले राणाले २९ वर्ष प्रधानमन्त्रीका रूपमा सत्ता सञ्चालन गरेको देश यही हो तर वर्तमानमा देवशमशेर र डा.के.आई सिंहको प्रधानमन्त्रित्व कालको पुनरावृत्तिमात्र हुने गरेको पाइन्छ ।

वर्तमान सत्ता गठबन्धन निर्माण भएको धेरै समय भएको छैन् । छिटो-छिटो समीकरण र सत्ता फेरिइरहने गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटनका लागि सिफरिश गरेपछि सर्वोच्च अदालतले दुवै पटक पुनस्र्थापना गरिदियो । त्यसपछि सरकारमा रहने पार्टीहरूको गठबन्धन तयार भयो र गत मंसिरमा भएको स्थानीय निकाय र संसद्को निर्वाचनमा समेत ती दलहरूले गठबन्धन गरे । निर्वाचन सकिएर परिणाम प्राप्त हुनासाथ सरकार बन्ने बेलामा भने माओवादीले नेकपा एमालेसँग गठबन्धन ग¥यो । सरकारको प्रतिनिधित्व माओवादीले गर्दै पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुभयो । समय बित्नै नपाइ उक्त गठबन्धन भत्कियो, पुनः पुष्पकमल दाहाल प्रधानमन्त्री रहिरहने गरी नेपाली कांग्रेस सत्ता गठबन्धनमा सामेल भयो भने एमाले सत्ताबाट बाहिरियो ।

बहालमा रहेको सरकार यही हो । को कति समय प्रधानमन्त्री बन्ने भन्ने सम्झौताका आधारमा गठबन्धन चलिरहेको छ । संसद्मा नेपाली कांग्रेस ठूलो दलका रूपमा छ तर प्रधामन्त्री भने तेस्रो ठूलो दलको नेता हुनुहुन्छ । यसबाट सत्ताका लागि जे जस्ता खेल खेलिँदा रहेछन् भन्ने देखिन्छ । एमाले संसद्मा दोस्रो ठूलो दल छ ऊ प्रमुख प्रतिपक्षमा छ । पुनः नेपाली कांग्रेसलाई प्रधानमन्त्री बनाउने प्रलोभन दिएर सरकारको नेतृत्व गर्नेगरी नेपाली कांग्रेससँगै सहयोगी बनेर नेकपा एमाले पनि सरकारमा जाने चर्चा छ । डा.शेखर कोइरालालाई प्रधानमन्त्री बनाउने गरी कांग्रेसभित्र गृहकार्य सुरु भएको भनिएको छ ।

ती विषयमा नेपाली कांग्रेसभित्रकै नेताहरूको अभिव्यक्तिबाट पुष्टि हुन पुगेको छ । कांग्रेसले माओवादीसँग गठबन्धन गरेर काम्लामा सातु मुछिसकेकै छ अब खान किन घिनाउनु ? प्रधानमन्त्री बन्नकै लागि यता र उता गरिरहनु उचित हुँदैन किन भने सरकारमा त कांग्रेस यसै छँदैछ । बाँकी रहृयो प्रधानमन्त्री पनि आफैं बनेर नेतृत्व लिने कुरा । त्यत्तिकै लागि मात्र गठबन्धन तोडेर घात गर्नु कांग्रेसका लागि उचित हुँदैन । समीकरण फेर्नु भनेको प्रधानमन्त्री पदका लागि मात्रै हो भने यसले कांग्रेसको प्रतिष्ठा बढ्दैन, बरू सत्तालोलुपता प्रष्ट देखिन्छ । एमालेसँगको गठबन्धन तोड्न लगाएर नेपाली कांग्रेसले माओवादीलाई फिर्ता लिएर आएकोमा यति छिट्टै माओवादीलाई धोका दिनु उचित हुन सक्दैन ।

माओवादीसँग टाढिएर एमालेसँग गठबन्धन गर्न जानुको औचित्य देखिँदैन । एमाले चाहिँ विश्वासिलो छ त ? एमालेको इतिहास हेर्ने हो भने पनि नेपाली कांग्रेसलाई पटक-पटक धोका दिएको जगजाहेर नै छ । हालैमात्र नेपाली कांग्रेसलाई सहमतिमै राष्ट्रपतिको पद दिऔं भनेर माओवादीले प्रस्ताव गर्दा एमालेले कुनै हालतमा हुँदैन भन्यो । अन्ततः तिनै कारणले एमाले सत्ताबाट बहिर्गमन भयो । एमाले ठूलो दल हो भन्न सकिन्छ तर नेपाली कांग्रेस नै इतिहासमा केही अपवादलाई छोडेर ठूलो दलका रूपमा स्थापित बन्दै र हुँदै आइरहेको छ । एमालेले कहिल्यै नेपाली कांग्रेसलाई र भरोसा साथ दिएको छैन । राजनीतिमा कोही कसैको स्थायी शत्रु हुँदैन र स्थायी मित्र पनि हुँदैन भन्ने हो भने फरक कुरा हो, नत्र एमालेबाट कांग्रेसले सधैं धोकामात्रै पाउँदै इतिहास छ ।

माधव नेपाललाई प्रधानमन्त्री कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले नै बनाउनुभएको हो । नत्र त्यो सम्भावना कहाँ थियो ? रामचन्द्र पौडेललाई प्रधानमन्त्रीबाट सत्र पटक रोकेर एमालेले आफ्नै पार्टीका नेता झलनाथ खनाललाई प्रधानमन्त्री बनाएको इतिहासलाई कसैले आज मेट्न सक्छ ? उसले नेपाली कांग्रेससँग गठबन्धन गरे पनि साथ दिँदैन, त्यो स्थायी बन्नै सक्दैन र लामो समयसम्म रहँदा पनि रहँदैन । उसको अभिष्ट वर्तमान गठबन्धन फुटाउनु सिवाय अर्को विकल्प केही होइन । यसतर्फ कांग्रेस नेतृत्वले सोच्नै पर्छ, प्रधानमन्त्री पदका पछिमात्र लाग्ने हो भने भोलि एमालेकै कारण नेपाली कांग्रेसले कुन भड्खारामा जाकिनुपर्ने हो त्यो भविष्यले नै देखाउनेछ । कांग्रेसको इतिहास खुलापाना जस्तै छ यो कसै-कतैबाट लुकेको छैन यसैले भोलिको दुर्घटनाबाट बच्न नेपाली कांग्रेसले आजैबाट सोच्ने कि !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?