नेपाली पुटिन चिन्नु भाछ ?

Read Time = 17 mins

१, सरकार र दलको काम के ?
प्रत्येक घरमा कम्तीमा दुईजना हुन्छन् । तिनलाई वरपरकाले दम्पती भन्लान् घरका ज्येष्ठले छोरा बुहारी कनिष्ठले बाआमा आदि–आदि नाता पनि रहेको हुन्छ, जसरी त्यसरी नै कुनै पनि सानो, गरिब, अविकसित र धनी, ठूलो तथा विकसित देशमा पनि सरकार त्यसलाई छान्ने जनता सहभागी रहेको कुनै राजनीतिक पद्धति, जनता र ती जनताका निमित्त सेवासुविधा प्रदान गर्न एक या अनेक दल र सरकार पनि रहेको नै हुन्छ । जुन देशमा बहुदलीय व्यवस्थाअन्तर्गत आवधिक चुनाव, कानुनको सर्वोच्चता, सार्वभौमसत्ता जनतामा निहित रहनेजस्ता कुरालाई संविधानले नै निश्चित गरेको हुन्छ ।

त्यस पद्धतिमा सबैले निःसंकोच संविधानको इमानदारीपूर्वक पालन गरे खासै समस्या आउँदैन । सत्तामा बसेका व्यक्तिले नै आफूलाई सामान्य जनताभन्दा माथि र विशेष ठान्न थाल्दछ र समस्या पैदा हुन्छ । जनताले आफ्नो मत दिएर पठाएका प्रतिनिधिलाई नियन्त्रणमा राख्न राजनीति शास्त्रले प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारका व्यवस्था गरेको देखिन्छ । बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा जनताका हेर्ने आँखा, काम गर्ने हात, हिँड्ने गोडा, बोल्ने मुख र अनुभव गर्ने मनमस्तिष्क पनि जनप्रतिनिधि, संसद्, मन्त्रिपरिषद् अनि न्यायालय हुन्छन् ।

देश चलाउने, विदेशी छिमेकी देशसँग सम्बन्ध राख्ने, उद्योग कलकारखाना खोल्ने यावत् काम सरकारले तोकिएका परिधिमा रहेर गरेको पनि देखिन्छ तर नेपाल-भारत जस्ता विकासशील, पूरै अविकसित मुलुकमा सरकार, सदन र न्यायालयमा पनि समस्या देखापर्दछ किन ? संसद् लोभी पापी र दुराचारी भयो, न्यायालय सेटिङमा चल्न लाग्यो, मन्त्री स्वेच्छाचारी बने भने यस्ता समस्या आउँछन् । सांसद लोभी, पापी र मन्त्रिपरिषद् नै स्वेच्छाचारी अनि अदालत सेटिङमा त्यतिबेला चल्छ जतिबेला मतदाता दुईचार चोक्टा मासु र दुई-चारसयदेखि दश-बीस हजारमा आफ्नो मत बेच्छन् अनि यी तमाम समस्या उत्पन्न हुन्छन् ।

प्रजातान्त्रिक व्यवस्थामा जनतालाई राजकीय क्रियाकलाप र वैयक्तिक हक अधिकारका सम्बन्धमा शिक्षा दिने शिक्षित बनाउने काम दल र सरकार दुवैले गर्नुपर्छ । सरकार अधिकृत रूपमा जनताका घरदैलामा पुग्न सक्नुपर्दछ भने सरकारले देशका सबै देशवासीलाई समान किसिमले सेवासुविधा दिएको छ कि छैन भनेर हेर्ने गर्नुपर्छ ।

जीवनभरि असफल भएका भ्रष्ट ठानिएका, जनतासँग कहिल्यै ननजिकिने तर चुनावका बेला नोटका बोरा र सय पचासवटा राँगाखसी काटेर चार वर्षदेखि पेरुङ्गे पेट बोकेर बसेका जनताका आँखामा पैसा र जिब्रामा मासुको रसादि लाएर लोभ्याउँछन् केही भ्रष्ट हैसियतवाला दलनायकले ।

२, दलको काम कर्तव्य के हो ?
प्रजातान्त्रिक व्यवस्थामा जनतालाई राजकीय क्रियाकलाप र वैयक्तिक हक अधिकारका सम्बन्धमा शिक्षा दिने शिक्षित बनाउने काम दल र सरकार दुवैले गर्नुपर्छ । सरकार अधिकृत रूपमा जनताका घरदैलामा पुग्न सक्नुपर्दछ भने सरकारले देशका सबै भागमा सबै देशवासीलाई समान किसिमले सेवासुविधा दिएको छ कि छैन भनेर हेर्ने, सरकारलाई खबरदारी गर्ने, छायाँ सरकार गठन गरेर मन्त्रीका क्रियाकलापको निगरानी गरेर सदनमा आवाज उठाएर सरकार तथा सदनलाई जनताप्रति उत्तरदायी बनाउने, कानुन मिचेको भए न्यायलयको ध्यान आकृष्ट गर्नेजस्ता काम गरेर जनतालाई प्रशिक्षित गर्नुपर्छ भनेर मानव अधिकारका दस्तावेज, राजनीति विचारसिद्धान्त आदिले भनेका भए पनि यी सबै कुरा मतदाता भोका, नांगा, अशिक्षित र अगाडिको भागमात्रै हेर्ने भए भने खोलाको गीत बन्दोरहेछ ।

दलका दुई प्रकारका स्वार्थ हुन्छन् देशमा सुखसुविधा सिर्जना गर्ने र आफ्ना दलको वर्चस्व कायम गर्न अहर्निश प्रयत्नशील रहने । यी कुराजनता रिझाएर लिनुपर्छ, जनतालाई झुक्याएर, ठगेर, लोभ्याएर, किनेर होइन । यसका निमित्त योग्य, सक्षम, निर्लोभी नेतृत्वको आवश्यकता पर्दोरहेछ । नेपालमा बीपी, मनमोहन, सुशील र पुष्पलाल यस्ता देखिए भने भारतमा नेहरू र लालबहादुर शास्त्री यस प्रकारका नेता देखिएका थिए । चीनमा चाहिँ यद्यपि सन्यात्सेनको प्रजातान्त्रिक पद्धतिलाई कमजोर बनाएर उनलाई देशबाटै निकाला गरेर आएका माओ र चाओ पनि यसै टक्करका नेता थिए ।

माओ र चाओका पसिनाले चीनमा साम्यवादलाई दरिलो बनायो भने नेहरूका चातुर्यले भारतको प्रजातन्त्रलाई बलियो बनाएर विश्वलाई देखायो । नेपालमा बीपीको समय महत्वाकांक्षी राजाका कारणले देश र जनताको सुखसुविधाका लागि प्रयोग हुन सकेन भने लामो संघर्षपछि स्थापित भएको नेपाली प्रजातन्त्र भने अनिष्ठा, आर्थिक भ्रष्टाचार, नातावाद, दलीय स्वार्थ, दलभन्दा पनि आफ्ना अरौटेभरौटेका पक्षमा नेता लागेर देश, जनता, प्रजातन्त्रलाई अस्थिर, अव्यवस्थित, संकीर्ण र गतिहीन बनाएको देखिन्छ ।

खासगरी नेपाली कांग्रेस र नेकपा एमालेका दलाधीशमा रहेको दम्भ, लोभ र अदूरदर्शीपनाका कारणले राजनीतिक अस्थिरता र विदेशीहरूको स्वार्थको क्रीडाभूमि देश बन्दै जानथालेको देखिन्छ । अतः दुवै दलमा अविलम्ब दलाध्यक्ष परिवर्तन गर्न दल सफल भएन भने देश र जनताले लामो दुःखमय समय काट्नुपर्ने देखिन्छ ।

३, नगर्ने कामले दुःखद् परिणाम ल्याउँछ । हितोपदेशमा एउटा नीतिको श्लोक छ :
अव्यापारेषु व्यापारं यो नरः कर्तुमिच्छति ।
स एव निधनं याति कीलोत्पाटीव वानरः ।।
गर्नुपर्ने काम नगरेर विनामतलवको काम गर्ने फन्दामा परेर ज्यानै पनि गुमाउनुपर्ने सम्भावना हुन्छ भन्ने संकेत यो श्लोकले दिएको छ । उपप्रधानमन्त्री, गृहमन्त्री बनेका मान्छेले गर्ने काम नागरिकलाई अनागरिक बनाएर मान्छे बेच्ने थिएन । जुन दिन देशभक्त, मानवीय गुणको उदय हुनेछ त्यसदिन नागरिकलाई गैरनागरिक या शरणार्थी बनाएर नगद कुम्ल्याउने जतिलाई मृत्युदण्ड दिने व्यवस्था पनि संसद्ले गर्नसक्छ । नेपालका कानुनमा मृत्युदण्ड छैन भनेर मख्ख नपरे हुन्छ । जनताले चाहेका दिन जे पनि हुनसक्छ । यो दलका नेताको अकर्मन्यका कारणले भएको हो महाभारतमा पाण्डुभन्दा जेठा थिए धृतराष्ट्र तिनलाई राजा हुन अयोग्य भनिएथ्यो ।

पान्डु मरेपछि आपद्व्यवस्थापनका निमित्तमात्र राजगद्दीमा बसेका व्यक्तिले महाभारत मच्चाएको थियो । त्यसकारण दलको नेता फेर्ने दलका सदस्यको हिम्मत आवश्यक भएको छ । र, नैतिक चरित्रवानलाई मात्र राजनीतिमा मौका दिने मतदाता हुनु आवश्यक छ । नेपाली मतदाताले जोगमेहर, हेमबहादुर, नानीमैयाँजस्तालाई पनि हिरो बनाए । चरित्रविनाका स्वाँठ राजनीतिमा हावी भएका छन् । यिनलाई अब मतदाताले हस्तक्षेप गर्नैपर्छ र रविजस्ता मदारी या चटकेलाई पनि विश्वास गरिहाल्न सकिँदैन । जसरी प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुन्छ, त्यसैगरी दलीय व्यवस्थामा दलको विकल्प चटकी र मदारी हुँदैनन् दलभित्रका असल चरित्र भएका, सुशिक्षित बोलेको पुर्‍याउनुपर्छ भन्ने चेत भएका व्यक्तिको छनोट नै हो र हुनुपर्छ ।

राजनीतिको नेतृत्व गर्नेको चरित्र अनुकरणीय हुनुपर्छ । राम र कृष्ण जस्तै नभए पनि बीपी, मनमोहन र सुशील, कृष्णप्रसाद जस्ता त हुन सक्छन् र भेटिएलान् पनि । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता पुटिनको चरित्र र अनुहार परेका छन् । जाँड, राँड र भाँडबेगर टिक्न नसक्नेलाई नेतृत्वमा पुर्‍याउँदाको दुर्गति मुलुकले यसभन्दा धेरै अब सहन र थेग्न सक्दैन । देशमा भएका ठूला दुईवटा दलका नेता दुवै निकम्मा भएको यो क्षण नेपालका निमित्त निकै दुःखदायी छ, अहिलेको रुस र युक्रेनले झेलेको भन्दा भयानक दुष्परिणाम यिनले भोगाउन सक्छन् । आर्थिक, चारित्रिक, नैतिक आदि आचरणका दृष्टिले भ्रष्टतमका हातमा नेपाल परेको छ ।

अब नेपालले एक हातमा नागरिकता र एक हातले भारतीय चेलीका सिउँदोमा सिन्दुर भर्ने उदारता देखाएपछि भारतले पनि नेपालबाट विवाहित भएर गएका उनीहरूका बुहारीलाई सात वर्ष कुर्नु नपर्ने व्यवस्था गर्नु अपेक्षा स्वाभाविक रहेको छ । नेपालका कम्युनिष्ट र केही मेयर, सांसदले गरेको जस्तो व्यवहार गर्न मिल्दैन ।

अतः चाँडोभन्दा चाँडो नेपाली कांग्रेस र नेकपा एमालेका दोस्रो, तेस्रो तहमा रहेका नेताले हिम्मत बढाउने, चरित्र सिक्ने र पुर्‍याउन नसकिने कुरो गरेर गैरजिम्मेवार बन्न तत्काल छाडेर जनतामा विश्वास जगाउन सक्नुपर्दछ । देशका नागरिकले नागरिकता नपाएको समस्या निश्चय नै दर्दनाक थियो र छ । नेपाल-भारतको सम्बन्ध चीन र ताइबान, चीन र तिब्बतको जस्तो पनि होइन । भारत र पाकिस्तान या श्रीलंकाजस्तो पनि छैन/होइन । मात्र राजनीतिक दृष्टिले यी दुई भिन्न देश छन् । भौगोलिक सीमा, धर्म, संस्कृति, तीर्थस्थल, नदी, पर्वत, शिक्षादीक्षा आदिका दृष्टिले यी ईशापूर्व १२ हजार वर्षभन्दा पहिलेदेखि एकैजस्ता रहिआएका छन् ।

ऋग्वेदकालबाट लग्भग आजभन्दा ८ हजारदेखि १२ हजार वर्ष पहिलेदेखि भारतीय समथर भूमिमा बसेर कार्य गर्ने र नेपालका हिम कन्दरामा बसेर मन्त्र दर्शन गर्ने ब्राहृमण आरण्यकको भाषिक व्यख्या विवेचना र उपनिषत्का चिन्तन गर्ने काम गरेको देखिन्छ । द्विजातिले जप्ने गायत्री नेपालको गौरीशंकर हिमालमा दिव्य बाह्र वर्ष विश्वामित्रले सूर्योपासना गरी पाएका थिए । ईशापूर्व प्रथम शताब्दीका मानिएका कालिदासले सगरमाथालाई उद्दिष्ट गरेर आफ्नो महाकाव्य ‘कुमारसम्भवम्’ मा ‘पूर्वापरौतोयनिधिंबगाहृय स्थितपृथिव्यामिवमानदण्डः’ चारै समुद्रलाई वरिपरि बगाएर यो हिमाल पृथ्वीकै मानदण्डवत् बनेर रहेको उत्प्रेक्षाले नेपाल र भारतको त्यो बेलादेखिको एकता प्रकट गर्दछ ।

मानस क्षेत्रबाट प्रश्रवित् भागीरथी, महाकाली, ब्रहृमपुत्र, कोशी, गण्डकी आदि नदी र केदारखण्डका बदरिकाश्रमका वेदव्यासको अर्को एउटा आश्रम नेपालको दमौलीमा रहनु, अठारै पुराणले पशुपतिलाई केदारनाथको शिरका रूपमा स्वीकार्नु, सबै तीर्थ गरेर अन्त्यमा गोकर्णेश्वरको उत्तरबाहिनीमा श्राद्ध नगरेसम्म पितृमुक्त नहुने धर्मशास्त्रीय चित्रण आदिले पनि नेपाल र भारतको अनन्य सम्बन्ध रहेको पुष्टि हुन्छ । आज पनि नेपालका छोरी चेली भारतका बुहारी बनेर वंशवृद्धि गरिरहेका छन् भने भारतका छोरी चेली नेपालमा बुहारी बनेर आएर यहाँको वंशप्रवद्र्धन गरी नै रहेका छन् ।

अतः अब नेपालले एक हातमा नागरिकता र एक हातले भारतीय चेलीका सिउँदोमा सिन्दुर भर्ने उदारता देखाएपछि भारतले पनि नेपालबाट विवाहित भएर गएका उनीहरूका बुहारीलाई सात वर्ष कुर्नु नपर्ने व्यवस्था गर्नु अपेक्षा स्वाभाविक रहेको छ । नेपालका कम्युनिष्ट र राजनीतिक स्वार्थले अभिप्रेरित केही मेयर सांसदले गरेको जस्तो व्यवहार गर्न मिल्दैन । इतिहासको विशाल भारतको नक्सा जसरी भारतले राखेको छ । नेपालले पनि विशाल नेपालको नक्सा नेपालको संसद् भवनमा राख्दा भारतले सहने धैर्य प्रदर्शन गर्नुपर्छ ।

मित्रता र विशेष सम्बन्ध समान चिन्तन, समान व्यवहार तथा समान संस्कार संस्कृति र धार्मिक पृष्ठभूमिमा नै सम्भव हुन्छ । पुटिनका अतिले आज देशभित्रै वाग्नर समूहको विद्रोह ल्यायो । युक्रेनसँग लडेको समूह मस्को कब्जा गर्न फनक्क फर्कियो । भारतीय शासकले पनि व्यवहार मनसायमा परिशोधन ल्याओस् । भारत पनि पुटिन नबनोस् ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
नारायण बहादुर गुरुङ
नारायण बहादुर गुरुङ
2023-06-28 8:34 am

डाक्टर साहेब नमस्कार। चीनमा सनयात सेनलाई माओ र चाओले देश निकाला गरेको भन्नु भएको रहेछ। तपाईं जस्तो विद्वान ले यस्तो गल्ती भन्नु नपर्ने। साम्यवादी चीनले सुनयात सेनलाई राष्ट्रपिता मान्छन। उनको नाममा चीनको जुनसुकै शहरमा ठूला सडक हरूको नाम राखिएको छ। बरू माओ र चाओकप नाममा एउटा सडक पनि नामाकरण गरिएको छैन उनी हरू कै अग्राह मा। त्यसैले चीनकप सडक व्यक्ति को नाममा नभएर चीनको स्थान विषेश क९ नाममा नामाकरण गरिएको छ। सनयत सेन कोमि्ङ्ग तसङ्ग अथवा राष्ट्रवादी पार्टी को संस्थापक र एकपटक राष्ट्रपति पनि भएका मानिस हुन। चीनको विकास गर्न उनको पालामा चिनियाँ कम्युनिष्ट पार्टीसंग भाइचारा सम्बन्ध राखेका थिए। उनको १९२४ मा चीन मै भएको हो। उनी पछि उनको उत्तराधिकारी च्याङ्ग काई सेक ले उनको निती परिबर्तन गरेर कम्युनिष्ट को कत्लेआम गरेका हुन र १९४९ मा माओ चाओ संग पराजित भएपछि भएभरको राष्ट्रिय ढुकुटी बोकेर चीनकै टापु ताइवानका गै आफ्नो शासन लाइ निरन्तरता दिएका थिए। तपाईं जस्तो विद्वान आफ्नो निकट छिमेकी को बारे यस्तो गल्ती गर्नु मलाई लज्जा अनुभव भैसकेको छ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?