तानसेन नगर सरकारले दिन थाल्यो श्रम स्वीकृति

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 3 mins

पाल्पा । पाल्पाको तानसेन नगर सरकारले नगरबाटै श्रम स्वीकृति दिन सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार नगर सरकारले नगरपालिकाबाटै श्रम स्वीकृतिको व्यवस्था गरेको हो ।

नगरपालिकाले पहिलो पटक तानसेनबाट श्रम स्वीकृतिको काम सुरु गरिएको जनाएको छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि स्थानीयवासीलाई सहज भएको छ ।

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले यसअघि श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभाग वा प्रदेशस्थित श्रम कार्यालय जानुपर्ने बाध्यता रहेकोमा नगरपालिकाबाटै यो सेवा पाइने भएपछि सहज भएको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुुभयो । उहाँले सेवाग्राही प्रेमबहादुर कार्कीलाई पहिलो पटक श्रम स्वीकृतिको निस्सा दिएर सेवाको शुभारम्भ गर्नुभएको हो । ‘यसअघि अन्यत्रै गएर श्रम सम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झन्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्याे, तर अब नगरपालिकाबाटै सेवा सुरु भएपछि सहज हुन्छ, पैसा र समय दुवैको बचत हुन्छ ।

झन्झिटिलो पनि हुँदैन’ नगर प्रमुख श्रेष्ठले भन्नुभयो । श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसा सम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने छ ।

श्रम स्वीकृतिसम्बन्धी अन्य जानकारी स्थानीय तहको रोजगार सेवा केन्द्रमार्फत बुझ्न सकिने नगरपालिकाले जनाएको छ । सरकारले आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि सबै प्रकारको श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट भर्न सकिने व्यवस्था गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गएको व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गर्ने गरेको थियो । श्रम मन्त्रालयको उक्त निर्णय अनुसार २०८० वैशाख ३ गतेबाट पालिका अन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेको अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिन थालिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?