सत्ता गठबन्धनको धरमर

हिमालय टाइम्स
Read Time = 6 mins

यस पटकको सरकार बन्दा जसरी सबैलाई आश्चर्यमा पारेको थियो त्यसरी नै बनेको छोटो समय बित्न नपाउँदै सरकारमा सामेल दलले सरकार छोडेर अर्को आश्चर्यमा पारेका छन् । यसबाट सरकार सौहाद्र्र तरिकारले चलाउन, देशको विकास गर्न, जनतालाई सुखसुविधा दिन बनेको होइन रहेछ भन्ने प्रमाणित भएको छ । सरकार अरूलाई उचाल्न र पछार्नमात्रै बनेको रहेछ, स्वार्थको गोटीचालमा आफ्नो पल्ला हलुको हुनेहरूले सरकार छोड्ने र भारी बनाउन सकेकाहरूले जसरी हुन्छ त्यहीँ टिकिरहन प्रयास गर्ने कार्यलाई स्वार्थकै खेल मान्न बाध्य हुनुपर्छ । सरकार बनेको डेढ महिना बित्तानबित्तै एक साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेको छ ।

गठबन्धनमा सामेल भएको उक्त पार्टीले सरकार छोडेको यो घटना इतिहासकै छोटो अवधि सरकारमा रहेका घटनामध्ये एक हुन सक्छ । विसं १९५७/०५८ मा राणा शासनकालमा देवशमशेरलाई उनका भाइ चन्द्रशमशेरले श्री ३ भएको तीन महिनामै सत्ताबाट हटाएका थिए । देवशमशेर १९५७ साल चैत १७ गतेदेखि १९५८ साल असार १३ गतेसम्म श्री ३ महाराज बनेका थिए । यस्ता घटनाको पुनरावृत्ति पछि पनि भयो । २०१३ सालमा प्रजातान्त्रिक समयमै डा.के.आई सिंहको सरकार छोटो समयमात्र रहेको थियो । यसैगरी २०४६ सालको जनआन्दोलन चरमोत्कर्षमा पुगेपछि राजाबाट लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रित्वमा सरकार बनाएर त्यसलाई दबाउने प्रयास गरिएको थियो ।

उक्त सरकारले आन्दोलनकारी नेताहरूलाई भेटेर वार्ता गर्ने कामबाहेक केही गरेन । चन्दलाई प्रधानमन्त्री बनाउनासाथ आन्दोलन झनै चर्किएको थियो । लामो समयसम्म उपत्यकालगायत ठाउँमा कफ्र्यु लगाइएको थियो । आन्दोलन अवधिमा यही समयमा धेरै मानिस मारिएका थिए । उहाँ प्रधानमन्त्री भएको केही दिनमै राजाबाट प्रजातन्त्रको बहाली भयो । आन्दोलन सफल भएपछि उहाँले मेरै सरकार चुनावी सरकार हो भन्नुभयो । उहाँको त्यही भनाइका कारण पुनः केही असहज अवस्था सिर्जना हुन लागेको थियो तर पदबाट राजीनामा दिनुभयो । उहाँको सरकारको त्यो सातदिने समयावधि नेपालको इतिहासमै कम समयको सरकार भनेर देखिन आयो ।

हुन त वर्तमान सरकार सरकारबाटै हटेको छैन तर सरकार बन्नासाथ सहभागी एउटा दल सरकारबाट छोटो समयमै बाहिरिनाले चौतर्फी विभिन्न अड्कलबाजी, आशंका र केही मात्रामा आक्रोस उत्पन्न भएको छ । पुराना पार्टीहरूप्रतिको विश्वास गुम्दै गएका बेला नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा अगाडि आएको थियो सो पार्टीप्रति भरोसा लिएर प्रतीक्षारत जनताको संख्या ठूलै थियो । अब चाहिँ केही हुन्छ है भन्ने अपेक्षामा जनता भएका बेला एकाएक रास्वपाले सरकार छोडेपछि निश्चय उत्साहमा तुषारापात भएकै छ । रवि लामिछानेप्रति जनताका अपेक्षा थिए तर बहिर्गमनमा उहाँकै कमजोरी देखिन आयो । यदि त्यसो भएको र उहाँको पार्टीलाई हटाइएको थियो भने उहाँका समर्थकहरूको आन्दोलन सरकारले थाम्न नसक्ने प्रकारको हुनसक्ने सम्भावनालाई नकार्न मिल्दैनथ्यो ।

उहाँले नागरिकता लिसकेपछि एमालेको चाहना र माओवादीको चाहना मिल्न सकेन, ओलीले उहाँलाई स्वतन्त्र व्यक्तिका हैसियतमा भए पनि पुनःगृहमन्त्री बनाउनुपर्छ भन्नुभएको थियो तर प्रधानमन्त्रीले उक्त कुरा स्वीकार्नु भएन । यसबाट सत्तरुढ दलहरूबीच आपसी अविश्वासको वातावरण सुरु हुन पुगेको छ । अब राष्ट्रपतिको निर्वाचनको अवधि अगाडि आउँदै छ । उक्त पद आफ्ना पोल्टामा पार्ने चाहना सबैको छ । माओवादी-कांग्रेसप्रति लचिलो देखिएको छ भने एमाले अत्यन्त कठोरपूर्वक लागिको छ ।

यी सबै कारणले गर्दा सरकारमा संलग्न पार्टीहरूबीच मतभेद चुलिँदै गएको छ । सरकार अप्ठ्योरोमा छैन कम्फर्ट जोनमै छ भनेर माओवादी नेताहरूले भनिरहेका भए तापनि नेपाली कांग्रेस भने गठबन्धनमा ठूलो खतराको अवस्था देखिरहेको छ । कांग्रेस राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउँछौं भनिरहेको छ तर सरकारमा विग्रह नआए यो सम्भावना देखिँदैन । एकीकृत समाजवादी चाहिँ कोर्स करेक्सन भएमात्रै सरकारमा जान सकिने अभिव्यक्ति दिँदैछ, जुन तत्काल सम्भावना देखिँदैन । त्यसैले धमिलिएको वर्तमान रावजनीतिबाट आफ्नो स्वार्थ पूरा गर्नेतिर मात्रै लाग्नुको सट्टा व्यक्तिगत र दलीय स्वर्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा सबै लाग्नु अहिलेको आवश्यकता हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?