डा. उप्रेतीको ‘मैले देखेको नेपाल’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पूर्वसचिव तथा वाटर एसिया इन्टरनेशनलका अध्यक्ष डा.त्रिलोचन उप्रेतीको आठौँ कृति ‘मैले देखेको नेपाल’ लोकार्पण गरिएको छ । एसिया वाटर इन्टरनेशनलद्वारा प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंह, पूर्वमुख्यसचिव डा.विमलप्रसाद कोइराला, पूर्वसचिव डा.द्वारिकानाथ ढुंगेल, नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेती र महिला अधिकारकर्मी डा.रेणु राजभण्डारीले संयुक्तरूपमा पुस्तक लोकार्पण गर्नुभएको हो । कृतिमा २०३५ सालदेखि २०८० सम्मका प्रमुख राजनीतिक, सामाजिक, आर्थिक घटनाक्रमलाई प्रस्तुत गरिएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि पूर्वन्यायाधीश टोपबहादुर सिंहले २००७ सालको परिवर्तनपछि नेपालमा भारतले माइक्रोम्यानेजमेन्ट गरिरहेको र पछिल्लो समय चीनले समेत त्यसको सिको गर्दै आएको जिकिर गनुभयो । उहाँले पछिल्लो समय पश्चिमा शक्तिको समेत नेपालमा प्रभाव बढाउँदै लगेको चर्चा गर्दै मुलुकको विकासमा सचेत नेपालीले चिन्तन मनन गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वसचिव डा.विमल कोइरालाले पुस्तकको समीक्षा गर्दै ‘मैले देखेको नेपाल’भित्र आपूmले नदेखेको नेपालको चित्र पाएको बताउनुभयो ।

उहाँले पुस्तकमा इतिहास, समाजशास्त्र, राजनीति सबै मिसमास भएर आएको चर्चा गर्दै यसलाई छुट्याउन कठिन भएको सुनाउनुभयो ।
यस्तै पूर्वसचिव डा.द्वारिकानाथ ढुंगेलले पुस्तकको चर्चा गर्दै आर्थिक, राजनीतिक, सामाजिक, वैदेशिक स्थितिको चित्रण कृतिमा गरिएको बताउनुभयो । महिला अधिकारकर्मी डा.रेणु राजभण्डारीले मानवअधिकार र महिला दृष्टिकोणबाट पुस्तकको चर्चा गर्दै शब्दकै हिसाबले भए पनि लैगिंक संवेदनशीलतामा पुस्तक सचेत रहेको टिप्पणी गर्नुभयो ।

पुस्तकका लेखक डा.त्रिलोचन उप्रेतीले आफूले भोगेका, देखेका घटनालाई मिहिन ढंगले पुस्तकमा उतार्ने जमर्को गरेको बताउनुभयो । कार्यक्रमका अध्यक्ष पूर्वकुलपति गंगाप्रसाद उप्रेतीले प्रस्तुत पुस्तकले नेपाली समाजका विविध पक्षलाई बहसमा ल्याउने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?