सरकारकै कारण धानमा अत्मनिर्भर चुक्दै, रोपाइँको भाका हराए पनि महत्व बढ्दै

हिमालय टाइम्स
Read Time = 11 mins

रमेश भारती/हिटा
काठमाडौं । सरकारले यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै छ । प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरणलाई प्रवद्र्धन गर्ने योजनाका साथ सरकारले यो दिवस मनाउने घोषण गरेको हो । नेपालमा २०६१ सालदेखि १५ असारलाई राष्ट्रिय धान दिवसका रूपमा मनाइँदै आइएको छ । । यो दिवस आज(शुक्रबार) विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा करिब १४ लाख हेक्टर जमिनमा करिब ५७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा चार प्रतिशत जमिनमा धान खेती हुने गरेको कृषि विभागको तथ्यांकमा छ ।

खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै धान छुपुछुपु रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । नेपालमा अधिकांशको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । यस्तै, असारे भाका घन्काउँदै धान रोप्दै असार १५ मनाउने चलन पछिल्लो समय बढेको छ । सामाजिक सञ्जालमा पनि युवा पुस्ताले १५ असारमा धान रोपेको तथा हिलो छ्यापाछ्याप गरेका तस्वीरहरूसहित रमाइलो गर्ने प्रचलनसमेत बढेको छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसाय गर्दै आएका नेपालीले पनि आज दही च्युरा खाएर १५ असार मनाउने चलन छ ।

नेपाललको करिब तीन करोड जनसंख्यामध्ये नेपालमा रहेका लगभग सबैले खानाका रूपमा बिहान बेलुका भात खाने गरेका छन् । पछिल्ला वर्ष धान, चामल, कनिकालगायतको आयात निरन्तर बढिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । नेपालमा ६५ लाख मेट्रिक टनभन्दा धेरै हुने गरेकाले धानको आयात गरिरहनु परेको कृषि मन्त्रालयका विभिन्न अध्ययनमा उल्लेख छ । पाँच वर्षअघि एक वर्षमा करिब पाँच लाख ४० हजार मेट्रिक टन आयात भएकोमा गत वर्ष त्यो मात्रा १२ लाख ५० हजार मेट्रिक टनमा पुगेको भन्सार विभागको तथ्यांकमा छ । आगामी आर्थिक वर्षमा त्योभन्दा धेरै धान र चामल आयात हुन सक्ने कृषि विकास मन्त्रालयको आँकलन छ । नेपालले वार्षिक अर्बाैँको चामल भारत र अन्य देशबाट आयात गर्दै आएको छ । त्यसमध्ये भारतबाट आयात हुने परिमाण धेरै छ । भारतसँगै चीनबाट पनि नेपालमा धान उत्पादन हुने गरेको भन्सारको तथ्यांकमा छ ।

सकारले नेपाललाई धानमा आत्मनिर्भर बनाउने योजना घोषणा गरे पनि वार्षिक ११ लाख मेट्रिक टन धन्दा धेरै धान र चामल आयात हुने गरेको कृषि मन्त्रालयलको तथ्यांकले देखाउँछ । सरकारले अघिल्लो आर्थिक वर्षदेखि नै पाँच वर्षभित्र धानमा आत्मनिर्भर बन्ने घोषणा गरेको थियो । तर, मौसम, बाढीपहिरो र मलका अभावका कारण उत्पादन ५७ लाख मेट्रिक टन मात्र धान उत्पादन भएको विभागले जनाएको छ । गत आर्थिक वर्षमा आर्थिक वर्षमा मन्त्रालयले गत वर्ष ५८ लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य राखेकोमा ५५ लाख ५० हजार मेट्रिक टन मात्रै उत्पादन भएको थियो । साढे चार लाख मेट्रिक टन धान वर्षाका कारण नष्ट भएको विभागले जानकारी दियो । बजारको मागअनुसार नेपालमा करिब ११ लाख मेट्रिक टन धान उत्पादन बढाउनुपर्ने चुनौती रहेको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले जानकारी दिनुभयो । पछिल्ला केही वर्ष औसतमा १८ लाख मेट्रिक टन धान आयात गर्नुपरिरहेको र चालु आर्थिक वर्षको ११ महिनामा ३० अर्ब बराबरको चामल भित्रिएको उहाँले बताउनुभयो । धानमा अत्मानिर्भर हुन नेपालमा हिउँदे र बर्खे धान खेती हुन्छ । यी दुवै मौसमी धान उत्पादनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । ‘सरकारले आगामी पाँच वर्षभित्र नेपाललाई धानमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ उत्पादन बढाउने गरी काम गरिरहेको छ । प्रविधिहरूको प्रयोग, मलखादको उचित सदुपयोग तथा उपलब्ध जातहरूको प्रयोगबाट नेपालको धानको उत्पादकत्व सहजै चारदेखि पाँच लाख मेट्रिक टनमा बढाउन सकिन्छ ।’ उहाँले भन्नुभयो, ‘२३० स्थानीय तहमा धानको बिउ प्रवद्र्धनका कायक्रम लागू हुँदै छ । बेमौसमी वर्षाका कारण सरकारी लक्ष्यअनुसार धान उत्पादन हुन सकेको छैन । पछिल्लो समय रासायनिक मल नपाउँदा त्यसको असर धान उत्पादनमा परिरहेको छ ।’ सरकारले कृषि क्षेत्रलाई समेट्ने योजना ल्याए पनि कार्यान्वयनको पाटो फितलो हुँदा नेपाल कृषिमा अत्मानिर्भर हुन नसकेको कृषिविज्ञ हरि दाहालको आरोप छ ।

विगत एक दशकयता नेपालको कृषि क्षेत्र आयातमा निर्भर हुँदै गएको छ । सरकारले आयात रोक्नेसँग कृषिमा किसानको आकर्षण बढाउन नसकेको उहाँले बताउनुभयो । ‘नेपालले अन्य देशबाट कृषिका सामग्री ल्याउने होइन । तर, अन्य देशमा उत्पादन गरी बिक्री गर्ने हो । तर, अहिले उल्टो भएको छ । यसमा सबैभन्दा ठूलो कमजोरी सरकारकै देखिन्छ ।’ उहाँले भन्नुभयो, ‘कृषिमा लाग्ने जनशक्ति वैदेशिक रोजगारीमा छन् । गाउँघरमा खेतीयोग्य जमिन बाँझो छन् । सरकारले आफ्नो देशको उत्पादनलाई महत्व दिएको छैन । जसरी हुन्छ आयात नै पक्षमा देखिन्छ ।’

उत्पादन बढे पनि धान्न मुस्किल
विगत नौ वर्षयता नेपालमा धान उत्पादनमा पनि वृद्धि भइरहेको सरकारी तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षमा २०७७/०७८ मा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ । साथै, आर्थिक वर्ष २०७९/८० मा देशभरि ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो । यो गत वर्षको यही अवधिको तुलनामा ६.९४ प्रतिशतले बढी हो । गत वर्ष बाली भित्र्याउने समयमा परेको बेमौसमी वर्षाका कारण तराईका विभिन्न जिल्लामा खेती नष्ट हुँदा देशमा धानको उत्पादन ५१ लाख ५१ हजार मेट्रिक टनमा सीमित भएको थियो ।

विभागका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा ५२ लाख ३० हजार, २०७४/०७५ मा ५१ लाख ५१ हजार, २०७५/०७६ मा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै, २०७६/०७७ मा ५६ लाख २० हजार र चालु आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ । नेपालमा धान उत्पादन बढे पनि अहिलेका बजारलाई धानेको छैन । सरकारले वार्षिक १२ लाख मेट्रिक टन धान भारत लगायतका देशबाट खरिद गरी ल्याउने गरेको छ । कतिपय जिल्लामा अहिले पनि धान र चामलको अभाव भइरहेको छ ।
सामान्य मनसुनी वर्षा, उन्नत बिउ बिजन र कृषि प्रविधिको प्रयोग तथा तराईमा ढिला गरी रासायनिक मल उपलब्धताले धान उत्पादन बढेको मन्त्रालयको बताउँदै आएको छ । भने, अघिल्ला वर्षहरू जस्तै यो वर्ष पनि किसानले धान खेती गर्ने बेला रासायनिक मल पाएका थिएनन् । जसकारण धान आगामी वर्ष पनि धान उत्पादन कम हुने सरकारकै अनुमान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?