खाद्य र पोषण सुरक्षाका लागि धान-चामलको महत्व

Read Time = 20 mins

✍️ डा. भवप्रसाद त्रिपाठी
वरिष्ठ कृषिविज्ञ

संसारमा धान उत्पादन ६० करोड (६०० मिलियन) टन हुन्छ । जसमध्ये ९० प्रतिशत उत्पादन एसियामा हुन्छ । सन् २०२५ सम्ममा यो उत्पादन बढेर ७० करोड (७०० मिलियन) टन पुग्ने प्रक्षेपण गरिएको छ । मुख्य धान उत्पादन गर्ने देशहरूमा चीन, भारत, बंगलादेश, भियतनाम, थाइल्याण्ड, बर्मा (म्यानमार) पर्दछन् । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल खाद्यान्न उत्पादनको ६७ प्रतिशत धानले ओगटेको छ । नेपालमा बर्सेनि करिब १५ लाख हेक्टर क्षेत्रमा धानखेती गरिन्छ भने उत्पादन करिब ५७ लाख टन छ । संसारमा धेरै चामल खाने देशहरूमध्ये नेपाल पनि पर्दछ । प्रतिनेपालीले प्रतिवर्ष १३७.५ किलो चामल उपयोग गर्दछन् । हरेक वर्ष नेपाललाई ५९ लाख टन धानको आवश्यकता पर्दछ । अहिलेको उत्पादनले हामीलाई १२ लाख टन चामल अपुग छ ।

नेपालमा धानको उत्पादकत्व वृद्धि १.५ प्रतिशतले भएको छ भने जनसंख्या वृद्धि २.३ प्रतिशतका दरले भएकाले गर्दा हरेक वर्ष धानको माग बढ्दै गएको छ ।

विगत १०-१५ वर्षदेखि युवाहरू विदेश पलायन हुँदा पहाडका धेरैजसो खेतीयोग्य भूमि बाँझोमा परिणत भएका छन् । पहिले विदेश जाने युवाहरूको संख्या धेरै कम थियो, आफ्ना बुबाआमाले गरिआएको खेतीपाती छोराछोरीले गर्दथे । पहाडका उत्पादनले पहाडका मानिसलाई खान पुग्थ्यो । तराईमा उत्पादन भएको धान तराईमा मानिसले खाएर बढी भएको धान-चामल बाहिरी देशहरूमा निर्यात हुन्थ्यो । विसं २०४० सालसम्म धान-चामल कम्पनीमार्फत् नेपालको चामल बंगलादेश, भारत, जर्मनी, कोरिया, चीन, मलेसिया र अमेरिकामा निर्यात गरिन्थ्यो । आर्थिक वर्ष २०३५/०३६ मा नेपालले २४ करोड ३८ लाख ६३ हजारको चामल अन्य देशमा निर्यात गरेको थियो । त्यसबेला जनसंख्या कम र उत्पादन बढी थियो । हरेक घरले उत्पादन गरेको अन्न खास गरेर धान, मकै, गहुँ, कोदो, फापर, जुनेलो, लट्टे, जौ आदिले हरेक घरपरिवार र गाउँ खाद्यान्नमा आत्मनिर्भर थिए । आफूले उत्पादन गरेको खाद्यान्नले नपुगेको खण्डमा गाउँघरमा बढी उत्पादन गर्ने छिमेकी कृषक दाजुभाइ दिदीबहिनीबाट ऐँचोपैँचो र किनबेच गरी आफ्नो घरको खानेकुरा टार्ने गरिन्थ्यो ।

केही वर्षयता पहाडको कुना-कुनामा कच्ची मोटरबाटोको सुविधाले र विदेशमा बसेका युवाले आफ्ना परिवारलाई खानपिनका लागि पैसा पठाउने गरेकाले गर्दा तराईमा उत्पादन भएको धान चामलमा परिणत गरी पहाडको कुनाकाप्चामा पुगेको छ । मकै, गहुँ, कोदो र अन्य अन्नभन्दा चामल पकाउन सजिलो भएकाले गृहणीहरूले पनि अहिले पहाडमा चामललाई नै प्राथमिकता दिन्छन् । जसले गर्दा हाम्रो तराईमा उब्जेको धानले नपुगेर भारत र अन्य देशबाट करिब ५० अर्ब बराबरको धान, चामल, कनिका, ढुटो नेपालमा केही वर्षयता आयात हुँदै आएको छ ।

नेपालमा धेरैजसो धानखेती आकाशे पानीमा निर्भर छ । बाह्रै महिना सिँचाइ गर्न सकिने धानको क्षेत्र २५ देखि ३० प्रतिशतमात्र छ । धानको गाँज आउने अवस्था, गर्भावस्था, बाला निस्कने, फूल खेल्ने र दाना भरिने अवस्थामा सिँचाइको सुनिश्चितता गर्न सके लगभग २० प्रतिशत धानको उत्पादन बढाउन सकिन्छ । सिँचाइको सुविधा भएको एक लाख हेक्टर क्षेत्रमा दुई बाली चैते र वर्षे धानको खेती हुँदै आएको छ ।

वर्षे धानको क्षेत्र बढाउन सकिने सम्भावना नभएकाले सिँचाइको क्षेत्र बढाएरमात्र चैते धानको क्षेत्र बढाउन सकिन्छ, जसले गर्दा चैते धानको उत्पादन बढाउनुका साथै वर्षे धानको उत्पादन बढाउन सकिन्छ । नेपाल सरकारले सुरु गरेको भेरी–बबई ड्राइभर्सन सिँचाइ योजनाले बाँके र बर्दिया जिल्लाका ५५ हजार थप क्षेत्रफलमा र सुनकोशी-मरिनखोला ड्राइभर्सन सिँचाइ योजनाले बारा, रौतहट, सर्लाही, धनुषा र महोत्तरी जिल्लाहरूको थप १२२ हजार हेक्टर भूमिमा सिँचाइ सुविधा पुगेपछि कुल १७७ हजार क्षेत्रफलमा बाह्रै महिना सिँचाइ हुँदा हामी धान–चामलमा पूर्ण आत्मनिर्भर भई केही धान चामल निर्यात गर्न सक्नेछौँ । नेपाल सरकारले आउने दश महिनामा सुनकोशी–मरिनखोला सिँचाइ योजना पूरा गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

युवाहरू विदेश पलायन हुँदा गाउँघरमा पशुहरू खास गरेर गाई, गोरु, भैँसी, बाख्रा, सुँगुर, बंगुर आदि पाल्नेको संख्या घटेको छ । जसले गर्दा प्रांगारिक मल उत्पादन हृवातै घटेको छ । र, रासायनिक मलको प्रयोग बढेको छ । एकातर्फ रासायनिक मल समयमा उपलब्ध हुँदैन भने अर्कोतर्फ भएको रासायनिक मल सन्तुलितमात्रामा प्रयोग भएको पाइँदैन । नाइट्रोजनयुक्त युरिया मलमात्र लगातार प्रयोग भएको पाइन्छ । नाइट्रोजनयुक्त युरिया मलमात्र लगातार प्रयोग गर्दा धानका बोटहरू हौसिने र रोगको प्रकोप बढ्ने हुन्छ । नाइट्रोजन, फस्फोरस र पोटासियम पोषण तत्वहरू दिने मलहरू (युरिया, हाई एमोनियम फस्फेट र म्युरियट पोटास) सन्तुलितमात्रामा किसानले धानलाई दिन सकेका छैनन् जसले गर्दा आशातीतरूपमा उत्पादन हुन सकेको छैन । प्रांगारिक मलले माटोको भौतिक, रासायनिक र जैविक गुणहरू कायम राख्न सहयोग गर्दछ । हाम्रो तराईको माटोमा प्रांगारिक पदार्थको मात्रा दिनप्रतिदिन घट्दै गएको छ । माटोलाई स्वस्थ राख्न प्रांगारिक मलहरू (गाई, भैँसीको मल, बाख्राको जुतो, कम्पोष्ट मल, हरियो मल तथा अन्य स्रोतबाट प्राप्त मल)का साथै सन्तुलितमात्रामा रासायानिक मल दिन आवश्यक छ । अनुसन्धानबाट प्रमाणित भइसकेको छ कि सन्तुलित रासायनिक मल धानमा प्रयोग गर्दा लगभग २५ प्रतिशत उत्पादनमा वृद्धि गर्न सकिन्छ ।

धानको उपयुक्त उन्नत जातको प्रयोगले मात्र लगभग २५ प्रतिशत उत्पादन बढाउँछ । नेपालमा हालसम्म ९० भन्दा बढी धानका जात सिफारिस भई किसानलाई उपलब्ध गराउँदै आएको छ । जसमध्ये दुईवटा धानका हाइब्रिड जातहरू हर्दिनाथ हाइब्रिड-१ र हर्दिनाथ हाइब्रिड-२ छन् । एक अध्ययनले देखाएको छ कि नेपालमा उत्पादन हुने धानमध्ये ७० प्रतिशत मोटा धान र ३० प्रतिशत मध्यम मसिनु र मसिनु (बासमती) किसिमको छ । मोटा धानमा हामी आत्मनिर्भर छौँ तर मध्यम मसिनु र मसिनुमा हाम्रो उत्पादनले नपुगेर छिमेकी देश भारतबाट आयात भइरहेको छ । यसलाई मध्यनजर राखेर हामीले मध्यम मसिनु र मसिनु धान उत्पादनलाई प्राथमिकतामा राखी कृषक समूह बनाई समूह-समूहमा यस्ता धानको ब्लक बनाई उत्पादनमा प्राथमिकता दिनुपर्छ । साथै यसरी उत्पादन गरेको धान राइस मिलसँग सहकार्य गरी उचित मूल्य कृषकले पाउने र खलाबाटै धान किन्ने व्यवस्था मिलाउन नेपाल सरकार र नेपाल कृषि अनुसन्धान परिषद्ले अनुसन्धान गरेर विभिन्न बासमती र बास्नादार धानका जातहरू सिफारिस गरेर कृषकले उत्पादनसमेत गर्न थालेका छन् तर यो पर्याप्त छैन । यस्ता मसिनो र बास्नादार धानहरू हुन् : सुगन्धित धान-१, सुनौलो सुगन्ध, खुमल-४, बहुगुणी-१, राम धान, सामपुर मन्सुली, साँवा मन्सुली, साँवा-१ आदि छन् । हाम्रा रैथाने जातहरू कालानमक, तिल्की, पोख्रेली जेठो बुढो, जुम्ली मार्सी र अरू धेरै छन्, जसको उत्पादन नगन्य रूपमा छ । यस्ता रैथाने जातहरूका लागि मलखाद कम लाग्ने र उत्पादन कम भए तापनि मूल्य बढी पर्छ जसले गर्दा कृषकहरूले घाटा बेहोर्नुपर्दैन । हालसालै नेपाल कृषि अनुसन्धान परिषद्ले विकास गरेका नयाँ धानका जातहरू गंगा सागर-१, गंगा सागर-२ र हर्दिनाथ-५ तराई क्षेत्रका लागि नेपाल सरकारले सिफारिस गरिसकेको छ । कालानमक रैथाने जात खास गरेर भैरहवा, नवलपरासी र आसपासका क्षेत्रमा परापूर्वकालदेखि खेती गरिँदै आएकाले यसको क्षेत्र र उत्पादन बढाएर गौतम बुद्धको प्रसादका रूपमा हामी विदेशमा समेत निर्यात गर्न सक्छौँ ।

धान रोपेको २१ र ४२ दिनमा गोडमेल गरेर, झार नियन्त्रण गर्दा, उपचारित, गुणस्तरीय बीउ तथा स्वस्थ बेर्नाको प्रयोग र ठीक समयमा असारे रोपाइँ गर्दामात्र पनि धान उत्पादनमा क्रमशः १५, ७ र ८ प्रतिशत उत्पादन बढाउन सकिने कुरा अनुसन्धानले देखाइसकेको छ ।
हाल धानको उत्पादकत्व ३.८ टन प्रतिहेक्टर छ र किसानले २२ हजार रुपैयाँ प्रतिहेक्टरभन्दा कम मुनाफा लिइरहेका छन् । सिँचाइको राम्रो प्रबन्ध, उपयुक्त उन्नत जात, सन्तुलितमात्रामा मलखादको प्रयोग, समयमा गोडमेल गरी झारपात नियन्त्रण तथा उपचारित गुणस्तरीय बीउको प्रयोग र स्वस्थ्य बेर्ना तयार गरी रोपाइँ असारमा गर्दा हालको उत्पादकत्व ३.८ टन प्रतिहेक्टरबाट बढाएर ६.५ टन प्रतिहेक्टर लिन सकिन्छ । जसले प्रतिहेक्टर मुनाफा ६५ हजार रुपैयाँसम्म लिन सकिन्छ । यदि यान्त्रिकीकरणको प्रयोग गरेर धानखेती गरियो भने धान उत्पादनको लागत ३० प्रतिशतसम्म घटाई मुनाफा माथि उल्लेखित ६५ हजार प्रतिहेक्टर रुपैयाँबाट अझै धेरै बढ्छ ।

मौसम परिवर्तनलाई मध्यनजर राखी नेपाल कृषि अनुसन्धान परिषद् र अन्तर्राष्ट्रिय अनुसन्धान संस्थान (इरी) ले सहकार्य गरी इरीबाट विभिन्न किसिमका खडेरी, डुबान, एकपछि अर्को खडेरी र डुबान सहन सक्ने जातहरू नेपालमा ल्याई अनुसन्धान गरी विभिन्न किसिमका धानका जात कृषकको उत्पादनका लागि सिफारिस गरी विभिन्न बीउ कम्पनी, सहकारी र बीउ उत्पादन गर्ने कृषक समूहमार्फत् बीउ उपलब्ध गराउने काम केही वर्ष पहिलेदेखि भइरहेको छ । सुक्खा सहने जातहरू (सुक्खा धान १, सुक्खाधान २, सुक्खाधान ३, सुक्खाधान ४, सुक्खाधान ५, सुक्खाधान ६, तरहरा १, हर्दिनाथ-३, बहुगुणी धान-१ र बहुगुणी धान-२), डुबान सहन सक्ने जातहरू (साभा मन्सुली सब १, स्वर्ना सब १, चेहरांग सब १) र एकपछि अर्को सुक्खा र डुबान सहन सक्ने जातहरू (सुक्खा धान १, बहुगुणी-१ र बहुगुणी २) हुन् ।
चैते धानको उत्पादन वर्षे धानको भन्दा बढी हुन्छ । तर, हामीकहाँ सिँचाइको अभावले गर्दा करिब एक लाख हेक्टर क्षेत्रमा मात्र चैते धान लगाइन्छ । चैते धान असारको अन्त्यसम्म पाकिसक्ने हुनाले सो समयमा वर्षा धेरै हुने भएकाले सो चैते धान काट्नेबित्तिकै अर्को वर्षे धान लगाउनुपर्ने हुनाले कृषकहरू धेरै व्यस्त हुन्छन् । चैते धानलाई काट्नेबित्तिकै सुकाउनुपर्ने र बिक्री गर्नुपर्ने हुनाले किसानले उचित मूल्य पाउँदैनन् । खास गरेर भारत सीमावर्ती क्षेत्रका बिचौलिया आएर एउटा गाउँको उत्पादित चैते धान एउटा बिचौलियाले कब्जा गर्ने र अर्को गाउँको अर्को बिचौलियाले कब्जा गरी उनीहरू आफैंले मूल्य निर्धारण गरी सस्तोमा किसानलाई धान दिन बाध्य बनाउँछन् । किसानहरू चैते धान सुकाएर घरमा ल्याई भण्डारण गरी राख्न झन्झट ठान्दछन् र बाध्य भएर सस्तोमा धान बिचौलियालाई बिक्री गर्न बाध्य हुन्छन् । कृषकलाई चैते धानखेतीतर्फ आकर्षण गराउन सरकारले उनीहरूले उत्पादन गरेको चैते धान उचित मूल्यमा किनिदिने व्यवस्था मिलाउन जरुरी छ ।

नेपालका आधा कृषक (पचास प्रतिशत)ले आफूलाई चाहिने मात्र धान उत्पादन गर्दछन् भने चालिस प्रतिशतले बढी उत्पादन गरेको धान बिक्री गर्दछन् । दश प्रतिशत कृषकले मात्र बढी भएको धान बिक्री गर्दछन् । नेपालमा आयात भएको धान चामलको मात्र तथ्यांक उपलब्ध छ । नेपालबाट भारततर्फ गएको धानको कुनै तथ्यांक हामीकहाँ छैन । खुला सिमानाका कारणले गर्दा धान काट्नेबित्तिकै खलाबाट भारतीय व्यापारीले सीमा क्षेत्रमा आई सस्तोमा धान भारत लगेर भण्डारण गरिराख्छन् । सोही धान ब्राण्डेड चामल बनाई धेरै मूल्यमा हामी नेपालमा किन्न बाध्य छौँ ।

संसारको सबैभन्दा अग्लो उचाइ (३,०५० मिटर) जुम्लामा धानको खेती परापूर्वकालदेखि भइरहेको छ । रैथाने जुम्ली मार्सीको चामल निकै स्वादिलो छ । नेपाल कृषि अनुसन्धान परिषद्को राष्ट्रिय जीन बैंक र अन्य अन्तर्राष्ट्रिय संस्थाले ३९८० (नेपालमा ११४१, इरीमा २६७२, अमेरिकामा १२१, रसियामा ४० र अफ्रिकामा ६) धानका प्रजातिहरू (जर्मप्लाजम) संकलन गरी सुरक्षा साथ संरक्षण गरिराखेको छ । हामीलाई चाहिएका बेला उक्त धानका बीउहरू नेपाल सरकारले मगाएर बीउ वृद्धि गरी कृषकलाई उपलब्ध गराउन र अनुसन्धान गर्न सकिन्छ ।

धानको महिमाको वर्णन धेरै पहिलेदेखि गरेको पाइन्छ । वेदमा उल्लेख गरिएको छ कि ‘हविष्यान्न धान !’ तिमीहरू तृप्ति र पुष्टि दिन्छौँ, अतः यस यज्ञमा आएका देवता (अतिथि)हरूलाई पुष्ट र सन्तुष्ट गराइदेऊ । तिमी (धन्य, यव, गोधूम, तिल आदि) अन्नहरूको हाम्रा पाँचैवटा प्राणहरूलाई सम्वद्र्धन गर्ने ऊर्जा प्रदान गर्ने हुनाले हामी ग्रहण गर्दछौँ ।

संसारको खाद्य सुरक्षा, गरिबी निवारण र धानको महत्वलाई मनन गरी युनाइटेड नेसन्स जनरल एसम्बीले १६ डिसेम्बर २००२ मा सन् २००४ लाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्‍यो । त्यस वर्षको नारा ‘धान नै जीवन हो’ भन्ने थियो र नेपालमा पनि हामीले अन्तर्राष्ट्रिय धान वर्ष मनायौँ । धानको महत्वलाई बुझेर नेपाल सरकारले पनि २९ मंसिर २०६१ (१४ डिसेम्बर २००४) मा असार १५ लाई हरेक वर्ष राष्ट्रिय धान दिवस मनाउने घोषणाअनुरूप हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउँदै आएका छौँ । यस वर्ष पनि असार १५ गते बीसौं धान दिवस तथा रोपाइँ महोत्सव २०८० मनाउन गइरहेका छौँ । जसको नारा छ, ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?