‘सिचाइँको व्यवस्था नगरेसम्म उत्पादकत्व वृद्धि गर्ने कुरा सम्भव छैन’

डिबी शर्मा
Read Time = 11 mins

आज असार १५ अर्थात् धान दिवस मनाइँदै छ । यस वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाउन मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँलगायत विभिन्न कार्यक्रम आयोजना गरिएको छ । असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन छ । विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि विसं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयानुसार नेपालमा २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो । असार १५ लाई नेपाली समाजमा दही, चिउरा खाने पर्वका रूपमा लिइन्छ । कृषिसहित सबै पेशा-व्यवसायमा लागेका नेपालीहरूले आज दही, चिउरा खाई असार १५ मनाउँछन् । दिवसमा अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्री डा.वेदुराम भुसालसँग हिमालय टाइम्सका लागि डिबी शर्माले गर्नुभएको कुराकानीको संक्षिप्त अशंः-

धान दिवस सरकारले कसरी मनाउँदै छ ?
सरकारले विविध कार्यक्रमगरी धान दिवस मनाउँदै छ । धानको महत्व बारेमा चर्चा गर्ने, शुभकामना आदान–प्रदान गर्ने कार्यक्रम छ । केही ठाउँमा नेताहरूले धान रोप्ने कार्यक्रम छ । जनतालाई धान लगाउने कुरामा उत्प्रेरित गर्ने खालले आवाहृन गर्छौं । कृषि विभागको एउटा कार्यक्रममा म पनि सहभागी हुँदैछु । खुमलटारको नार्क परिसरमा कार्यक्रम हुँदैछ ।

रोपाइँको सिजनमा जहिले मल अभाव भएको गुनासो आउँछ । हुन त यसपालि सरकारले मल अभाव छैन भनिरहेको छ । मलको अवस्था के कस्तो छ ?
तपाईंले भन्याजस्तै यसपालि मलको अभाव छैन । मैले संसद्मै भनेको थिएँ, हाल पर्याप्त मल मौज्दात छ । केन्द्रमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ड्रेडिङ गरी दुईवटा डिपो छन् । ७८ हजार मेट्रिकटन मल विभिन्न डिपोमा स्टक छ । यी डिपोमार्फत् स्थानीय तहले सिफारिश गरेका सहकारी र एग्रोभेट पसलहरूमा मल जान्छ । त्यहाँबाट किसानलाई वितरण गर्ने हो, यो कार्य भइरहेको छ । कतै-कतै वितरणमा समस्या देखापरेको हो कि भन्नेछ । ती ठाउँमा विशेष ध्यान दिन मन्त्रीको हैसियतले जिम्मेवार निकायलाई निर्देशन दिइसकेको छु ।

धानको उत्पादकत्व बढाउनेतर्फ सरकार र मन्त्रालयले के गरिरहेको छ ?
उत्पादन बढाउनेतर्फ हाम्रो विशेष ध्यान छ । बढी उत्पादनशी बिउ प्रयोग गर्ने कुरामा जोड गरेका छौं । देशका विभिन्न ठाउँमा धानको बढी उत्पादनशील बिउको विकास भएको छ । ती बिउलाई प्रत्साहन गर्ने कुरा छ । उत्पादनशील बिउ प्रयोग गर्न किसानलाई प्रोत्साहन गरिरहेका छौं । त्यसका लागि किसानलाई अनुदान दिने कुरा छ ।

भरखरै बजेट आएको छ । बजेटले समग्र कृषिलाई कसरी समेटेको छ ?
कृषिलाई हामीले जसरी महत्व दिन्छौं, त्यस आधारमा कृषिमा छुट्याएको बजेट अलि कम छ । तर, यसपालि अरू क्षेत्रमा बजेट कटौती भइरहँदा कृषिको घटाइएको छैन, यो सन्तोष गर्न लायक हो । यो सकारात्मक पक्ष हो । पछिल्ला करिब १० वर्षको सालाखाला कृषिमा विनियोजन भएको बजे हेर्दा जम्माजम्मी २.५ प्रतिशत देखिन्छ । यो वर्ष कृषिमा ३.३६ प्रतिशत छुट्याएका छौं । यसबाट कृषि क्षेत्रको बजेट कटौती भएन भनेर सन्तोष गर्ने ठाउँ छ । तर, पर्याप्त भने होइन ।

अहिले बस्तुभाउमा लम्पिस्किन रोगको प्रकोपले सताएको छ । यसले कहीँ न कहीँ कृषि क्षेत्रलाई असर गर्छ नै । किसान र कृषि क्षेत्रका समस्या समाधान गर्ने मन्त्रालयका योजना के छन् ?
लम्पिस्किन रोग नयाँ रोग हो । देखिन त २०७७ सालमा देखिएको थियो । तर, गत वर्षदेखि बढी देखिन थालेको हो । मैले मन्त्रालयको नेतृत्व सम्हाल्नुअघि केही कदम चालिएको थिएन । किसानले गुनासो गर्नुभयो । हामीले सम्बन्धित निकायका विभिन्न बैठक राखेर रोकथामको पह सुरु गर्‍यौं । रोकथामको एउटै उपाय भ्याक्सिन हो, जुन हाम्रोमा छैन । विदेशबाट तुरुन्तै ल्याउने भनेर व्यवस्था गरियो । हाल तीनवटा देश जोडर्न, तान्जानिया र टर्कीबाट भ्याक्सिन आएको छ । सात लाख बढी डोज भ्याक्सिन ल्याएर काम भइरहेको छ । डेढ लाख बढीमा लगाइसकिएको छ, काम जारी छ । बिरामी पशुको उपचारका निम्ति किचित्सकको टोली सात प्रदेशमा खटिएको छ । त्यो टोलीले स्थानीय तहमा रहेको पशु चिकित्सकसँग समन्वय गरेर काम गरिरहेको छ । भ्याक्सिन लगाउने काम भइरहेको छ । यो रोग नयाँ हो । त्यसले गर्दा कति ज्ञानको कमी भयो । जतिबेला हुनुपथ्र्याे त्यतिबेला तदारुकता भएन । ठूलै क्षति भएको छ ।

तपाईंले मन्त्रालयको नेतृत्व सम्हालिसकेपछि भएका महत्वपूर्ण काम के कस्ता छन् ?
काम गरिरहेका छौं । सबै कुरा आजको भोलि न नतिजा आउँदैन । मैलेमाथि भने एउटा त यो लम्पिस्किनको प्रकोपबारे धेरै काम भएको छ । कृषि क्षेत्रको ठूलो समस्या मल आपूर्ति हो । जहिले समस्या हुनेगरेको थियो । यसपालि समस्या हुन दिएका छैनौं । यसको मुख्यकारण बजेट नहुनु थियो । हामीले मलमा दिने अनुदानको हिस्सा सुरुमै सुनिश्चित गर्‍यौं । अहिले ३० अर्ब रकम मलमा अनुदान दिन छुट्याइएको छ, यो नयाँ काम हो । पहिले थोरै छुट्याइन्थो, यसपालि बढी छुट्याएको हो । अर्को वर्षका निम्ति काम गरेका छौं । खाद्यान्नमा विषदीको अवशेष कति हुनुपर्छ भन्ने मापदण्ड नबनेर परीक्षण गर्ने काम रोकिएको थियो । हामी आएपछि मापदण्ड पारित गरेर कार्यान्वयनमा गएको छ । अनुदानको दुरुपयोग भएको भनेर व्यापक गुनासो थियो । अहिले व्यवस्थित गर्ने प्रयास गरेका छौं । अरू थुप्रै काम सुरु गरेका छौं, नतिजा आउँदै छ ।

आगामी योजना के छन् ?
यसमा धेरै कुरा छ । समग्र कृषि क्षेत्रको सुधारका लागि आजको भोलि काम हुने होइन । विभिन्न योजना बनाइरहेका छौं । सबभन्दा ठूलो समस्या भनेको सिचाइँ समस्या हो । हालसम्म खेतीयोग्य जमिनमध्ये आधामा सिँचाइ नै छैन । जबसम्म सिँचाइको व्यवस्था गर्न सकिँदैन जतसम्म उत्पादकत्व वृद्धि गर्ने कुरा सम्भव हुँदैन । जमिनमा सिँचाइ भएपछि त्यहाँ बिउ उम्रिने हो । उम्रिसकेको बिउ राम्रो हुन मल चाहिन्छ । पहिलो जमिन हुनुपर्‍यो । दोस्रो पानी हुनुपर्‍यो । पानीले भिजेको जमिनमा बिउ राख्ने हो । जमिन, जल र उत्पादनशील बिउ, यान्त्रीकरण र बजारको व्यवस्था भयो भने कृषिमा सुधार हुने हो । यी सबै कुरा जोडिएको छ । यसमा कुनै एउटा पक्षमात्रैले काम गरेर पुग्दैन । किसानदेखि सरकारसम्मको समन्वयमा सुधार हुनसक्छ । त्यसरी जाने योजना छ ।

धान दिवसमा यहाँको सन्देश के छ ?
धान महत्वपूर्ण बाली हो । खाद्याननको ठूलो हिस्सा हो । कूल ग्रास्र्थमा उत्पादनको पाँच प्रतिशत हिस्सा धानकै छ । धानको उत्पादकत्वमा बढी नै ध्यान दिनुपर्ने देखिन्छ । पछिल्लो समय धेरै जमिन बाँझो हुँदै गएका छन् । धान उत्पादनमा केन्द्रित भएर लाग्नुपर्छ । त्यसका लागि मैले अघि भनेजस्तै जमिन, जल, गुणस्तरीय बिउ, यान्त्रीकरण र बजारको व्यवस्था गर्नुपर्छ । सरकारले सकेको सहयोग गर्छ । सरकारको तर्फबाट प्रोत्साहन हुन्छ । यी सबै कुरा बुझेर धानखेतीतर्फ लाग्न किसानलाई आवाहृन गर्दछु । यसो गर्दा देश र स्वयं किसानका लागि फाइदा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?