नेपालको धान-संस्कृति, उत्पादन र खाद्य सुरक्षाका चुनौतीहरू

Read Time = 15 mins

✍️ डा. कृष्ण पहारी
नेपाल विकास अनुसन्धान प्रतिष्ठान

नेपालको धान-संस्कृति प्रत्येक वर्ष असार १५ को सेरोफेरोमा नेपालमा धानको महत्व, यसको उत्पादन र अर्थतन्त्रमा धानको भूमिका बारेमा धेरै छलफल हुन्छ । हुन पनि नेपाली जनजीवन र संस्कृतिसँग धान परापूर्वकालदेखि नै जोडिएको छ । जन्मदेखि मरणसम्म विभिन्न चरणहरूमा र चाडपर्वहरूमा महत्वपूर्ण हुनुका साथै अधिकांश नेपालीहरूको पहिलो रोजाइको मुख्य खाना भात नै हो । यस परिप्रेक्ष्यमा केवल असार १५ मा मात्रै नभएर धानखेती र उत्पादन बारेमा वर्षभरि नै गम्भीररूपमा लागेर ठोस सकारात्मक कदमहरू चाल्न जरुरी छ ।

धान र राष्ट्रिय अर्थतन्त्र
पछिल्लो आर्थिक सर्वेक्षणअनुसार नेपालको समग्र अर्थतन्त्रमा कृषिको योगदान २४.१ प्रतिशत रहेको छ । जबकि उद्योगको केवल १३.६ प्रतिशत छ भने सेवा क्षेत्रको ६२.४ प्रतिशत, कृषि क्षेत्रमा अन्नबालीको योगदान ४५ प्रतिशत छ । धानको मात्रै १३ प्रतिशत योगदान छ । समग्र गार्हस्थ्य उत्पादनमा धानको योगदान लगभग सात प्रतिशत देखिन्छ । यसर्थ, कुनै वर्षमा भएको धान उत्पादनको अवस्थाले समग्र गार्हस्थ्य उत्पादनमा नै प्रभाव पार्दछ ।

धान उत्पादन : चिन्ताजनक प्रवृत्ति
नेपालमा गत दुई दशकको धान उत्पादनको तथ्यांक हेर्दा यसको प्रवृत्ति उत्साहजनक छैन । यस अवधिमा धान उत्पादनमा केही वृद्धि भए पनि नेपालको बढ्दो जनसंख्या र बढ्दो उपभोगको माग पूरा गर्न यो पर्याप्त छैन । त्यसमा पनि पछिल्लो पाँच वर्षमा त यो घट्दो क्रममा देखिन्छ । चालु आर्थिक वर्ष (२०७९/८०) मा समयानुकूल वर्षाका कारण अघिल्लो आर्थिक वर्षभन्दा धान उत्पादनमा करिब सात प्रतिशतले वृद्धि भई कुल ५४ लाख ८६ हजार मेट्रिकटन उत्पादन भयो, जुन पाँच वर्षअगाडि (२०७५/७६) को भन्दा कम छ । अहिलेसम्मको वर्षाको स्थिति र प्रक्षेपण हेर्दा आगामी वर्ष (२०८०/८१) मा उत्पादन फेरि कम हुने सम्भावना देखिन्छ ।

(नेपालमा गत दुई दशकमा वार्षिक धान उत्पादनको प्रवृत्ति उत्पादन लाख मेट्रिकटनमा)

उत्पादकत्वको हिसाबले चालु आव (२०७९/८०) मा नेपालमा धान उत्पादन ३.८ मेट्रिकटन प्रतिहेक्टर रहृयो, जुन् अघिल्लो वर्ष ३.५ मेट्रिकटन थियो । तुलनात्मक हिसाबले हेर्दा हाम्रो छिमेकी चीनमा उत्पादकत्व सात मेट्रिकटन प्रतिहेक्टरभन्दा बढी छ भने जापानमा आठ मेट्रिकटन छ ।

सिँचाइको अभाव तथा सिँचाइ पुगेको ठाउँमा पनि पर्याप्त र भरपर्दो सिँचाइ नहुनुले नेपालमा धान उत्पादन कम भएको देखिन्छ । त्यसैगरी आकाशे खेतीमा भर पर्ने अवस्था, जलवायु विषमताले समयानुकूल वर्षा नहुने प्रवृत्ति (अति वृष्टि, अल्प वृष्टि, असामयिक वृष्टि), पर्याप्त मल र उन्नत बीउमा पहुँच नहुनु तथा परम्परागत, निर्वाहमुखी खेती प्रणाली रहेका छन् । यसले नेपालमा धान उत्पादन न्यून भएको हो ।

आयातमा निर्भरता
आधाभन्दा बढी जनसंख्या कृषिमा संलग्न भएको तथा धान नै प्रमुख बाली भएको देश नेपाल हो । तर, यहाँबाट निर्यात गर्नुको सट्टा आफ्नै उपभोगका लागि पनि बर्सेनि ठूलो मात्रामा आयातमा निर्भर गर्न पर्नु ठूलो विडम्बना हो । भन्सार विभागको तथ्यांकअनुसार २०७८÷७९ मा कुल ४७ अर्ब रुपैयाँ बराबरको धान चामल आयात भएको थियो भने यो आर्थिक वर्षको जेठसम्म ३४ अर्बको आयात भएको छ । नेपालमा वार्षिक लगभग पाँच लाख मेट्रिकटन चामल आयात हुने गरेको छ ।

नेपालमा चामलको उपभोग
कृषि मन्त्रालयको तथ्यांकअनुसार नेपालको हालको खाद्य उपभोगको अवस्थामा एक व्यक्तिले सालाखाला वर्षमा १३७ किलो चामल उपभोग गर्दछ । विभिन्न तथ्यांकहरू अनुसार यो मात्रा जापानमा प्रतिव्यक्ति लगभग ८६ किलो छ भने भारतमा लगभग १०० किलो तथा चीनमा १२६ तथा पाकिस्तानमा १७ किलो छ । यसरी प्रतिव्यक्ति उपभोगको हिसाबले नेपाल संसारमै धेरै चामल उपभोग गर्ने मुलुकहरूमा पर्दछ । नेपालभन्दा पनि बढी चामल उपभोग गर्ने मुलुकहरूमा लाओस, बंगलादेश, क्याम्बोडिया आदि पर्दछन् ।

नेपालमा खाद्य सुरक्षा र पोषणको स्थिति
नेपालको समग्र आर्थिक स्थितिको परिप्रेक्ष्यमा नेपालको खाद्य सुरक्षाको हालको अवस्था नराम्रो भन्न मिल्दैन । यद्यपि यसमा धेरै सुधारको जरूरी छ । वैश्विक भोकमरी सूचांकका अनुसार नेपाल हाल मध्यमस्तरको अवस्थामा छ । जबकि हाम्रा छिमेकी भारत २९.१ र पकिस्तान २६.१ मा गम्भीरस्तरको अवस्थामा छन् भने बंगलादेश १९.६ पनि मध्यमस्तरमा छ । चीनमा भने अवस्था धेरै राम्रो छ । त्यस्तै एफएओका अनुसार न्यूनतम क्यालोरी उपभोग गर्न नसक्ने जनसंख्याको प्रतिशतको हिसाबले पनि नेपालको अवस्था (४.८ प्रतिशत), भारत (१५.३ प्रतिशत), बंगलादेश (९.७ प्रतिशत) र पाकिस्तान (१७.९ प्रतिशत) भन्दा राम्रो छ । नेपालमा पछिल्लो दुई दशकमा खाद्य सुरक्षा र पोषणमा उल्लेख्य सुधार भए पनि थुप्रै चुनौतीहरू छन् । यसमा सबैभन्दा धेरै ध्यान दिनुपर्ने पाँच वर्षमुनिका बच्चाहरूमा देखिएको पुड्कोपन हो, जुन सन् २०२२ को सर्वेक्षणअनुसार २५ प्रतिशत रहेको छ । लामो समयसम्म पोषणयुक्त खानाको कमीले पुड्कोपन हुन्छ । पुड्कोपनबाट हुर्केको बच्चामा जीवनभरि यसको असर रहन्छ र यसरी समग्र देशको मानव विकासमा यसको नकारात्मक असर गर्दछ । हुन त विगत दुई दशकमा उल्लेख्य प्रगति नभएको होइन, तापनि यसमा अझै गम्भीरताका साथ सुधार ल्याउन जरूरी छ । खाद्य सुरक्षाको अवस्थामा विगतका दशकहरूमा सुधार भए पनि यो मुख्यतया लाखौं नेपालीहरू वैदेशिक रोजगारीमा गएर प्राप्त विशेषणको ठूलो रकम विदेशबाट खाद्यवस्तु आयातमा खर्च हुने गरेकाले यसले हाम्रो जोखिम बढाएको छ र स्वदेशमा उत्पादन वृद्धिमार्फत् खाद्य सुरक्षामा दिगो सुधार ल्याउन जरूरी छ ।

धान र खाद्य सुरक्षा
नेपालीहरूको खानामा क्यालोरीको उपभोग अधिक रहेको छ भने अन्य पौष्टिक कुराहरू प्रोटिन, भिटामिनयुक्त खानाको मात्रा तुलनात्मकरूपमा कम छ । खासगरी बच्चाहरूमा पुड्कोपनको यो प्रमुख कारक रहेको छ भने समग्र जनसंख्याको स्वास्थ्यमा पनि यसको प्रभाव परेको छ । नेपालीले दैनिक उपभोग गर्ने क्यालोरीमध्ये लगभग एक तिहाइ भातबाट हुने गरेको तथ्यांकले देखाउँछ । यसकारण हाम्रो खानाको शैलीलाई पनि पोषणयुक्त खान्कीतिर बदल्न जरूरी छ । यदि नेपालीले औसत उपभोग गर्ने भातको मात्रा घटाएर अन्य अनाजहरू अझ त्यसभन्दा पनि तरकारी, फलफूल आदिको उपभोग बढाउने हो भने खाद्य सुरक्षा र पोषणको अवस्थामा पनि सुधार आउने, धान आयात गर्नुपर्ने अवस्थामा पनि कमी आउने देखिन्छ । यद्यपि तरकारी र फलफूल पनि ठूलोमात्रामा आइरहेको अवस्थालाई बदलेर स्वदेशमै उत्पादन वृद्धि गर्न जरूरी छ । यसमा अर्को विचारणीय कुरा के छ भने प्रतिहेक्टर धान उत्पादन ३.५ मेट्रिकटन जति रहेको अवस्थामा त्यही जमिनमा आलु तथा तरकारी फलफूल खेती गर्दा दुईदेखि चार गुणासम्म बढी उत्पादन हुने देखिन्छ ।

धान उत्पादन र खाद्य सम्प्रभुता
नेपालको संविधानले नागरिकहरूको खाद्य सुरक्षाको अधिकारलाई आधारभूत अधिकारका रूपमा स्थापित गरेको छ । त्यसैले सरकारले जुनसुकै अवस्थामा पनि नागरिकको खाद्य सुरक्षा सुनिश्चित गर्न जरूरी छ । यसका लागि खाद्यवस्तुजस्तो आधारभूत आवश्यकताको उत्पादन देशभित्रै गरी आत्मनिर्भर हुन जरूरी छ । नेपालजस्तो भूपरिवेष्टित देशमा त यो एकदमै आवश्यक छ । विभिन्न समयमा भारततर्फबाट भएको नाकाबन्दी, कोभिडका बेलामा आयात–निर्यातमा भएका समस्याहरू तथा कहिलेकाहीँ निर्यातकर्ता देशहरूले आफ्ना निश्चित वस्तुहरू निर्यात नगर्ने दृष्टान्तहरूले आत्मनिर्भर उत्पादन प्रणालीको अपरिहार्यता स्पष्ट भएको छ । धान नेपालको सबैभन्दा महत्वपूर्ण बाली भएकाले उच्च प्राथमिकतासाथ धान उत्पादनमा वृद्धि गर्न जरूरी छ, जुन सम्भव छ ।

अबको बाटो
उपरोक्त विश्लेषणका आधारमा नेपालले धान उत्पादन र समग्र कृषि क्षेत्रको विकास, खाद्य सुरक्षा तथा पोषणमा सुधार गर्नका लागि निम्न कार्यहरूमा जोड दिन उपयुक्त देखिन्छ-
१) उत्पादनमा वृद्धि- नेपालको हालको उत्पादनको स्तर न्यून भएकाले कतिपय सामान्य कामहरूले पनि उल्लेख्य उत्पादन वृद्धि हुन सक्छ र यसलाई अवसरका रूपमा लिन सकिन्छ । जस्तै, समयमा मलखाद र उपयुक्त बीउबिजन उपलब्ध गराउन सकेमात्रै पनि १५-२० प्रतिशतजति सजिलै उत्पादन वृद्धि हुन सक्ने देखिन्छ । त्यस्तै, चालु सिँचाइ आयोजनाहरू समयमै सम्पन्न गर्ने र थप सिँचाइ सुविधा उपलब्ध गराउने, जलवायु अनुकूलित कृषिलाई अपनाउने र कृषिमा आधुनिकरण गर्ने कार्यहरूले उत्पादनमा उल्लेख्य वृद्धि भई निर्यात गर्ने स्थितिमा पुग्न सकिने सम्भावना छ ।

२) उत्पादनपछि अन्न खेर जाने क्रमलाई घटाउने- विभिन्न अध्ययनले नेपालमा धान उत्पादन भएपछि लगभग १५ प्रतिशत जति उचित भण्डारणको अभाव तथा विभिन्न कारणले किराले खाने, ओसिने आदि भई खेर जाने पाइएको छ । उचित प्रविधिको प्रयोग गरी यसरी खेर जाने मात्रालाई घटाउन सकिन्छ जसले समग्र चामल आपूर्तिको स्थितिमा सुधार आउन सक्छ ।

३) पोषणयुक्त खाद्य शैलीमा प्रोत्साहन- अत्यधिक भात उपभोगको सट्टा ठिक्क मात्रामा भात तथा अन्य अनाजहरूका साथै पर्याप्तमात्रामा तरकारी, फलफूल, दूधजन्य वस्तु तथा अन्य खाद्य पदार्थ (माछा, मासु आदि) मिलाएर सन्तुलित, पोषणयुक्त खानाको आदत बसाउन सचेतना ल्याउन उपयुक्त देखिन्छ ।

४) स्वदेशी उत्पादनलाई प्रोत्साहन- बजारमा नेपाली खाद्यवस्तु हुँदाहुँदै पनि विदेशी आयातको ओइरो लागेको अवस्थामा धेरै मानिसहरू विदेशी चामल किन्नेतिर उद्यत भएको देखिन्छ । यसको सट्टा पाएसम्म नेपाली खाद्यवस्तु नै किन्ने बानी बसाल्ने र यसलाई प्रोत्साहित गरेमा मात्र नेपाली किसानहरूले पनि बढी उत्पादन गर्न उत्प्रेरित हुने अवस्था आउँछ । यसका लागि सचेत पहल हुन जरुरी छ । सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन ठोस पहल गर्न जरुरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?