अर्जुन लुइँटेल
प्रबन्ध निर्देशक, जी सेभन एग्रिकल्चर प्रालि
इजरायलमा कृषि क्षेत्रमा लामो समय काम गरी पुँजी र प्रविधिसाथ स्वदेश फर्किएर आफ्नै देशमा कृषि प्रविधि व्यवसायमा लाग्नुभएका अर्जुन लुइँटेल नेपाली किसानलाई प्रविधि हस्तान्तरणमा लागि पर्नुभएको छ । इजरायली प्रविधिमार्फत नेपालमा इजरायलकै जस्तो कृषिको सपना देख्नुभएका लुइँटेल सरकारको नीतिबाट सन्तुष्ट हुनुहुन्न । सरकारले कृषि उपकरणका साथै कृषि उपजमासमेत अधिक कर लगाएर किसानलाई कृषि पेशाबाटै पलायन बनाउन खोजेको उहाँ बताउनुहुन्छ । आयात कडाइ गर्ने नाममा किसानका लागि अति आवश्यक कृषि उपकरणमा कर थोपर्दा अन्ततः किसान र उपभोक्ता नै मर्का पर्ने र कृषिको व्यवसायीकीकरण पनि बाधा पुग्ने लुइँटेलको भनाइ छ ।
जी सेभेन एग्रिकल्चरका बारेमा बताइदिनुस् न ?
हामी विगत १० वर्षदेखि नेपालमा विषेश गरेर आधुनिक प्रविधि थोपा सिँचाइ प्रविधि, स्प्रिङकल प्रविधि र ग्रिह हाउस प्रविधिमा काम गर्दै आएका छौं । हालसम्म ६० भन्दा बढी जिल्लाका किसानलाई प्रविधि उपलब्ध गराइसकेका छौं । खासगरी किसानलाई प्रविधिकरूपमा सहयोग गर्ने उद्देश्यका साथ जी सेभेन एग्रिकल्चर स्थापना गरेको हौं । किनभने जबसम्म कृषि प्रविधि किसानसम्म पुग्न सक्दैनन्, तबसम्म हामीले समृद्धि हासिल गर्न सक्दैनौं ।
अहिले व्यवसायको अवस्था कस्तो छ ?
यो व्यापार व्यवसायभन्दा पनि प्रविधि प्रसार हो । किसानसम्म कृषि प्रविधि विस्तार अभियान हो । म आफैं सात वर्षजति इजरायलमा काम गरेर फर्किएको हुँ । इजरायलमा कृषि क्षेत्रमा काम गर्दा म मा एउटा छाप परेको छ कि हामी नेपालमा कृषिमा गर्न सक्छौं, हाम्रो देशमा कृषिको विकल्प छैन । हामीले सिकेको सीप र प्रविधि किसानलाई हस्तान्तरण गर्नुपर्छ भनेर हामी यसमा लागेका हौं । त्यसैले व्यापार कति गरियोभन्दा पनि यो प्रविधि कति किसानलाई हस्तान्तरण गर्न सक्यौं र यसबाट व्यावसायिक बन्न किसानलाई कति सहयोग पुग्यो भन्ने नै मुख्य कुरा हो । विगत १० यता प्रविधिकै कारण किसानमा आमूल परिवर्तन देखेका छौं । किसानले प्रविधिका कारण जुन ऊर्जा प्राप्त गरेका छन्, त्यो हाम्रा लागि सबैभन्दा ठूलो उपलब्धि हो, आत्मसन्तुष्टि हो ।
यस्ता कृषि प्रविधि कतिको टिकाउ हुन्छन् ?
हामी थोपा सिँचाइमा काम गर्छौ । थोपा सिँचाइ प्रविधि दिगो प्रविधि हो । पाइपमार्फत विभिन्न बालीमा सिँचाइ, मल दिने प्रविधि नै थोपा सिँचाइ प्रविधि हो, एकपटक यो प्रविधि जडानपछि सामान्य मर्मतसम्भारबाहेक २०औं वर्ष केही गर्नु पर्दैन । केही वर्षअघिसम्म नेपालमा थोपा सिँचाइ प्रविधि नेपाली किसानका लागि नयाँ थियो तर अहिले धेरै किसानले प्रयोग गरिसकेका छन् ।
सिँचाइ हुने ठाउँमा पनि थोपा सिँचाइ आवश्यक हुन्छ र ?
यस्तो कुरा मैले पनि सुन्ने गरेको थिए, जलस्रोतमा धनी देश नेपालमा थोप सिँचाइ प्रविधि किन चाहियो ? नेपाल इजरायल जस्तो मरुभूमि होइन । तर थोपा सिँचाइ प्रविधि सिँचाइका लागिमात्रै होइन, यसबाट बालीमा पानी र आवश्यक खाद्य तत्व सँगसँगै दिन सकिन्छ । जुनसुकै बालीलाई पानी खाद्य तत्व आवश्यक हुन्छ । तर हामी पानी भएको समयमा धेरै पानी प्रयोग गर्छौं, नहुँदा महिनौंसम्म सुख्खा राख्छौं, जसले गर्दा अपेक्षानुसार उत्पादन हुन सक्दैन । उत्पादन घट्छ ।
अर्कोकुरा, नेपाल पानीमा धनी भए पनि सिँचाइ सुविधा कति ठाउँमा पुगेको छ ? । खेतीयोग्य सबै जग्गामा सिँचाइ सुविधा पुग्न सकेको छैन । थोपा सिँचाइ प्रविधिबाट खेती गर्दा पानी थोरै भए पुग्ने भएकाले यसप्रति आकर्षण बढेको हो । रामेछापको गोकुल गंगामा पानी छैन तर त्यहाँ किसानले थोपा सिँचाइमार्फत तीन हजार रोपानीभन्दा बढीमा किबीखेती गरेका छन् । स्प्रिङकल प्रविधिमार्फत व्यावसायिक रूपमा आलुखेती गरेका छन् । त्यहाँका किसानले डेढ इन्चको पानीको स्रोतबाट पोखरी बनाएर थोपा सिँचाइ गरेका छन् । त्यसैगरी सोलुखुम्बु, मनाङ, मुस्ताङमा पनि थोपा सिँचाइमार्फत खेती भइरहेको छ । सिन्धुपाल्चोकको हेलम्बुमा थोपा सिँचाइबाटै किबीखेती गरिएको छ । केराखेतीमा समेत थोपा सिँचाइ प्रविधि प्रयोग भइरहेको छ । थोपा सिँचाइ प्रयोग गर्नुभनेको उत्पादन वृद्धि गर्नु हो, थोपा सिँचाइले झण्डै ४८ प्रतिशतसम्म उत्पादन बढ्ने अध्ययनले देखाएको छ । त्यस्तै यसमा कामदार कम लाग्ने भएकाले ४० प्रतिशतले लागत खर्च घट्छ ।
ग्रीन हाउस भनेको के हो ?
ग्रीन हाउस भनेको बालीअनुसारको वातानुकूलित प्रविधि हो । अर्थात् तराईमा मात्र उत्पादन गर्न सकिने लिची जुम्लामा उत्पादन गर्न सकिन्छ भने जुम्लामा उत्पादन हुने स्याउ तराईमा पनि उत्पादन गर्न सकिन्छ । ग्रीन हाउस प्रविधिबाट आठदेखि १० गुणा उत्पादन लिन सकिन्छ । काठमाडौंमै बूढानीलकण्ठ स्कुलले ग्रीन हाउस प्रविधिबाट खेती गरिरहेको छ । बूढानीकण्ठले ग्रीन हाउस प्रविधिबाट गरेको खेतीमा एउटा बोटमै २२ केजीसम्म गोलभेडा फलाएको छ । स्कुलले दुई सय रोपनीमा तरकारीखेती गरेको छ । त्यसो त भौगोलिक अवस्था र बालीनुसार ग्रीन हाउसको मोडल फरक हुनुपर्छ ।
यस्ता कृषि प्रविधिमा काम गर्ने धेरै छन्, प्रतिस्पर्धा कस्तो छ ?
व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा हुनु हुँदैन । बुझ्नेले त्यो गर्दैनन् पनि, मैले त गरेकै छन् । मैले व्यवसायमा कति करोडको टर्न ओभर गरेँभन्दा पनि प्रविधि धेरै किसानसम्म पुर्याउने अवसरमा मिलेको छ । मैले सोलुमा गएर हाइडेन्सिटी एप्पलमा थोपा सिँचाइ प्रविधि जडान गर्न पाएँ । पश्चिम नेपालमा झण्डै दुई हजार बिघा केराखेतीमा थोपा सिँचाइ जडान गर्न पाएँ । काठमाडौंको बूढानीलकण्ठ स्कुलमा ग्रीन हाउस बनाउन पाएँ, जसले नेपालका धेरै स्कुललाई गाइड गरिरहेको छ । यसैमा मलाई गर्व छ । यसले अझै स्थान पाओस् भन्ने लाग्छ ।
प्रविधि प्रबद्र्धनमा समस्या के छन् ?
दुःखका साथ भन्नुपर्छ कि सरकारले प्रविधिमा किसानलाई अनुदान दिने गरेको छ, अनि त्यसैमा अत्याधिक कर असुल्ने गरेको छ । युभी प्लाष्टिकमा ४५ प्रतिशत भन्दा बढी कर तिर्नुपर्छ । किसानले प्रयोग गर्ने ८० प्रतिशत सामानमा यस्तो कर लाग्ने गरेको छ भने कृषिमा लागेर किसान कसरी धनी बन्न सक्छन् ? मुलुकमा समृद्धि कसरी आउँन सक्छ ? किसानलाई ५० प्रतिशत अनुदान दिने र त्यत्ति नै कर लगाउने कस्तो नीति हो ?
कृषिमा युवा आकर्षण कसरी बढाउने ?
विगत केही वर्षअघिसम्म कृषिमा युवा आकर्षण थियो, विदेशबाट फर्किएर युवाले कृषिमा केही गर्न खोजेका थिए । तर, सरकारले उनीहरूको उचित व्यवस्थापन गर्न सकेन । अहिले बिग्रिसकेको त छैन, निराश हुनुपर्ने अवस्था छैन । अझै कृषिमा केही गर्न खोज्ने युवाहरू देशमा छन् । उनीहरूलाई सरकारले काम गर्ने वातावरण बनाइदिनुपर्यो, संरक्षण गर्नसक्नुपर्यो । अर्को कुरा, कृषिको वास्तविक तथ्यांक हुनुपर्यो । कुनै कृषिजन्य उत्पादनको माग कति हो, अहिले उत्पादन कति छ, कति अपुग छ ? वास्तविक डाटा भयो भने किसान सोहीनुसार उत्पादन बढाउनेतिर लाग्छन् ।
धान दिवसको अवसरमा के सन्देश दिन चाहनुहुन्छ ?
सबैभन्दा पहिले त सरकारले धान उत्पादनको वास्तविक डाटा संकलन गर्नुपर्यो । सरकारका हालसम्म कुनै कृषि तथ्यांक वास्तविक छैनन् । तथ्यांकका आधारमा योजना बनाएर उत्पादन अभियानमा लाग्नुपर्ने हुन्छ । अर्को कुरा, मुलुक खाद्यान्नमा आत्मनिर्भर नभइसकेको अवस्थामा सरकारले कृषि अनुदान भने रोक्नु हुँदैन । किनभने कृषि भनेको विश्वमा कहीँ नाफामूलक छैन, नाफा नभए पनि बाँच्ने आधार नै यही हो, कसैले छोड्न सक्ने अवस्था छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच