आपत्कालीन उपचारका लागि तयारी अवस्थामा रहन मन्त्री बस्नेतको निर्देशन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आपत्कालीन उपचार सेवा प्रदान गर्नका लागि तयारी अवस्थामा रहन देशभरका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ । देशमा बाढीपहिरोको प्रकोपसँगै विभिन्न सरुवा रोगहरूको संक्रमण पनि बढ्ने खतरा रहेकाले देशभरका स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधि, उपकरणसहित आपत्कालीन उपचारका लागि तयारी अवस्थामा रहन मन्त्री बस्नेतले निर्देशन दिनुभएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा शुक्रबारदेखि ललितपुरमा सुरु भएको आपत्कालीन चिकित्सा टोलीको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मन्त्री बस्नेतले हाम्रो जस्तो भूगोल भएको देशमा जतिबेला पनि आपत्काल आउन सक्ने भएकाले संभावित जोखिमलाई ध्यानमा राखेर आपत्कालीन अवस्थामा उपचार सेवा प्रदान गर्न सक्ने गरी पूर्वतयारी आवश्यक रहेको बताउँदै भन्नुभयो, ‘आपत्काल कति बेला आउँछ, अन्दाज गर्न सकिँदैन । हाम्रो देशमा हरेक वर्षजसो बाढीपहिरो आएकै हुन्छ । त्यसैले समयमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने योजना बनाएर अगाडि बढ्यौं भने उपचार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था रहँदैन ।’

आपत्कालीन अवस्था आउनुभन्दा पहिले नै कम्तीमा पनि सम्भावित क्षेत्रहरूमा खाद्यान्न र औषधि पु¥याउन सकेको खण्डमा आपत्कालीन अवस्थामा पनि उपचार सेवा दिन सकिने बताउँदै मन्त्री बस्नेतले सीमित स्रोत र साधनकाबीच पनि उपचार सेवा प्रदान गर्नुपर्ने स्वास्थ्यकर्मीको दायित्व भएको स्मरणसमेत गराउनुभयो । यसका लागि सरकारले सम्भावित क्षेत्रमा औषधि पठाइसकेको पनि मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

कार्यशालालाई सम्बोधन गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले स्वास्थ्य मन्त्रालयले आपत्कालीन अवस्थाको उपचारका लागि देशभरका २५ वटा अस्पताललाई हब हस्पिटल बनाएर त्यहाँको जनशक्ति तयारी अवस्थामा राखेको जानकारी दिँदै भन्नुभयो, ‘कुनै ठाउँमा संकट आइपर्दा सबै एक ठाउँमा आएर संकट व्यवस्थापन गर्न सक्षम छौं । सातवटै प्रदेशमा आपत्कालीन सेवा केन्द्रमार्फत काम भइरहेको र त्यसको नेतृत्व सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकहरूले गरिरहनुभएको छ ।’ विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा.राजेश सम्भाजीराव पाण्डवले आपत्कालीन अवस्थाका बेलासमेत उपचार सेवा प्रभावित नहोस् भन्ने कुरा दिमागमा राखेर सबै स्वास्थ्यकर्मीले काम गर्न आवश्यक रहेको बताउनुभयो ।

आकस्मिक उपचार सेवा प्रदान गर्न चाहेरमात्र नहुने बताउँदै उहाँले त्यस्तो बेला आवश्यक औषधि र जनशक्तिको पनि उचित व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो । शनिबारसम्म चल्ने कार्यशालामा विश्व स्वास्थ्य संगठन हेडक्र्वाटर, सेरोका विज्ञहरूसहित सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकहरू, फोकल पर्सन र आपत्कालीन उपचारमा संलग्न स्वास्थ्यकर्मी सहभागी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?