डा.नवराज सिम्खडा
नायव प्रमुख कार्यकारी अधिकृत, साना किसान विकास लघुवित्त वित्तीय संस्था
नेपालको कृषि क्षेत्रको प्रवद्र्धनमा साना किसानको महत्वपूर्ण योगदान रहेको छ । जसलाई साना किसान सहकारी संस्थामार्फत साना किसान विकास लघुवित्त वित्तीय संस्थाले पनि साथ दिँदै आएको छ । कृषि तथा पशुपालनमार्फत साना किसान र विपन्न समुदायको जीवनस्तर सुधार, ग्रामीण गरिबी निवारणका साथै मुलुकको समृद्धिमा सहयोग पुर्याउने उद्देश्यका स्थापना भएको साना किसान विकास लघुवित्तले आफ्नो देशव्यापी सञ्जालमार्फत साना किसानलाई पुँजी, प्रविधि, कृषि उद्यमशीतलता तालिमसमेत प्रदान गर्दै आएको छ । संस्थाले नेपालमा कृषिको व्यवसायीकीरणका लागि शिक्षित युवालाई इजरायलमा कृषि प्रशिक्षार्थीका रूपमा पठाएर त्यहाँको सीप र प्रविधि भित्र्याउनसमेत महत्वूर्ण भूमिका खेलेको छ । तथापि उत्पादित कृषि उपज बजारीकरणको समस्या भने यथावत् रहेको छ । जसका कारण उत्पादित वस्तुको उचित मूल्य पाउन नसक्दा किसानमा निराशा पनि बढ्दै गएको छ । यिनै विविध विषयमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत डा.सिम्खडासँग गरिएको कुराकानीः-
साना किसान विकास लघुवित्त वित्तीय संस्था के गर्दैछ ?
हाम्रो मुख्य लक्ष्य भनेकै ग्रामीण अर्थतन्त्रको दिगो रूपान्तरण हो । ग्रामीण अर्थतन्त्र भनेको कृषिमा आधारित अर्थतन्त्र नै हो । त्यसैले कृषिको रूपान्तरणविना ग्रामीण अर्थतन्त्र रूपान्तरण हुनसक्दैन । कृषिको आधुनिकीकरण र व्यवसायीकीकरणका लागि पुँजी, प्रविधि र तालिमलगायत आवश्यक पर्ने भएकाले हामी पनि त्यसैमा काम गरिरहेका छौं । हामी महानगरपालिकामा हामी काम गर्दैनौं । किनभने साना किसान भनेको ग्रामीण क्षेत्रमा हुन्छन् । ७७ जिल्लामा हुम्लाबाहेक सबै जिल्लामा हाम्रो सञ्जाल विस्तार भइसकेको छ । हामी झण्डै पाँच सय ५० पालिकामा पुगेका छौं । हरेक पालिकामा हामी किसानहरूको सहकारी बनाउँछौं । किनभने जुनसुकै क्षेत्रमा काम गर्दा पनि सरोकारवालाई स्वामित्व दिनुपर्छ । सरोकारवालालाई स्वामित्व नदिई कुनै पनि काम सफल हुँदैन । हाम्रा सरोकारवाला किसान भएकाले कामको स्वामित्व उनीहरूलाई नै दिएर काम गर्दै आएका छौं । काम र स्रोत व्यवस्थापनको जिम्मा पनि उनीहरूलाई दिएका छौं ।
संस्थामा अहिले कति किसान आबद्ध छन् ?
हालसम्म ११ लाख किसान परिवार आबद्ध भइसकेका छन् भने ८५ प्रतिशत पालिकामा पुगेका छौं र दिगो पनि छौं । एनजिओ आइएनजिओहरूको काम दिगो हुँदैन, दातृ निकायले पैसा दिए काम हुन्छ, पैसा दिन छोड्नेवित्तिकै काम अलपत्र हुन्छ । तर हाम्रो काम त्यस्तो हुँदैन, सरोकारवालाको संस्थागत विकास गर्दै अघि बढेका छौं । हामीले पैसा नदिएपछि काम रोकिँदैन । साना किसान सहकारीले आफ्नै सदस्यबाट बचत पनि संकलन गरेका हुन्छन् । त्यसबाटै पनि काम हुँदै जान्छ ।
लघुवित्तको व्याजदर महँगो हुन्छ भन्ने गुनासो नि ?
हाम्रोमा महँगो छैन किनभने हाम्रा साना किसान विकास लघुवित्त अन्य लघुवित्त संस्था जस्तो होइन, हामी व्यक्तिलाई नभई संस्थामा कर्जा लगानी गर्छौं, त्यो पनि होलसेल कर्जा । न्यूनतम वार्षिक नौ प्रतिशतमा पनि हामीले कर्जा दिने दिइरहेको अवस्था छ ।
अहिलेसम्म कति लगानी गर्नुभएको छ ?
किसानले सहकारीमा आफैंले गरेको बचत रकम र हाम्रो संस्था गरी करिब एक खर्ब १० अर्ब ११ लाख घरपारिवारमा लगानी भएको छ । त्यसैले हामी आफैं दिगो र बलियो छौं र किसानका संस्था पनि आफ्नै खुट्टामा उभिन सक्ने अवस्थामा छन् । अर्थात् साना किसान विकास लघुवित्त संस्था बन्द भएछ भने पनि हाम्रा १४ सय किसान संस्था आफ्नै स्रोतसाधनमा काम गर्नसक्ने अवस्थामा छन् ।
किसानलाई वित्तीय सेवामात्रै दिनुहुन्छ कि अन्य सेवा पनि ?
वित्तीय सेवाका साथै किसानलाई आवश्यक पर्ने प्रविधि, तालिमलगायत अन्य सेवा सुविधा पनि उपलब्ध गराउँछौं । दूध उत्पादन गर्ने किसान कतिपय किसानले अहिले आफैं डेरी उद्योग, तोरी मिल, चिया उद्योग, राइस मिल सञ्चालनमा ल्याएका छन् । साना किसानद्वारा उत्पादित कृषि उपजको बजारीकरणका लागि पनि हामी पहल गर्दैछौं तर अहिलेसम्म साना किसानका उत्पादन काठमाडौंबासीलाई ख्वाउने हाम्रो लक्ष्य पूरा हुन सकेको छैन । जग्गा व्यवस्थापन हुन नसक्दा बजारको स्थापना गर्न नसकिएको हो । हामीले सरकारलाई काठमाडौं उपत्याकाभित्र कतै जग्गाको व्यवस्था गरिदिन पटक-पटक आग्रह गर्दै आएका छौं तर पाउन सकिएको छैन । भाषणमा त सबैले कृषि-कृषि भनेको सुनिन्छ तर कृषि र किसानको हितमा खासै काम हुन नसक्दा अर्बौंको कृषि उपज आयात गर्नुपर्ने अवस्था बनेको हो ।
किसानको आफ्नै चिनी उद्योग सपना चाहिँ कहिले पूरा हुन्छ ?
तपाईंले राम्रो प्रश्न गर्नुभयो, हामी चिनी उद्योग पनि स्थापना गर्नेछौं । त्यसलाई पनि छोड्नेवाला छैनौं । अन्य कृषिजन्य प्रशोधन उद्योगको तुलनामा चिनी उद्योगका लागि बढी लगानी आवश्यक पर्ने भएकाले चिनी उद्योग स्थापनामा ढिलाइ भएको हो । तर हल्याण्डमा कृषिमै लगानी गर्ने राबो बैंक छ । लगानीका राबोसँग पनि कुरा भइरहेको छ ।
साना किसानलाई ठूला किसान बनाउने योजना छैन ?
हो, अहिले हामी साना किसानलाई ठूला किसान बनाउनेतिर लागेका छौं । विगतमा लघुवित्तले सीमित रकममात्रै लगानी गर्न पाउने व्यवस्था थियो, त्यही भएर चाहेर पनि साना किसानलाई ठूलो किसान, उद्योगी किसान बनाउन सक्ने अवस्था थिएन । साढे सातदेखि १५ लाखसम्म मात्रै लगानी गर्न पाइन्थ्यो तर अहिले एउटै किसानलाई ५० लाख रुपैयाँसम्म लगानी गर्न सकिन्छ । हामीले एसियाली विकास बैंकसँग कुरा गरेपछि सरकारमार्फत एसियाली विकास बैैंकले हामीलाई सोही क्षेत्रमा लगानी गर्न छ अर्ब रुपैयाँ दिएको छ । अहिले व्यक्तिले ५० लाख पाउँछ, सहकारीमार्फत उद्योग नै सञ्चालन गर्नेले दुई करोड रुपैयाँ पाउँछन् । कार्यक्रम सुरु भएको चार वर्ष भइसक्यो । अहिले सोही कार्यक्रममार्फत १२ सय किसान व्यक्तिगत उद्यमी बनेका छन् भने सहकारीमार्फत उद्योग नै खोल्ने २८ उद्यमी छन् । अब बढाउँदै जाने हो । साना किसानले अब एउटा गाई, एउटा बाख्रा पाल्ने होइन, निवार्हमुखी बन्ने होइन, व्यावसायिक बन्नुपर्छ ।
साना किसान लघुवित्तको व्याजदर कति हो ?
उत्पादनशील क्षेत्रमा नौ प्रतिशत हो । अन्य व्यवसायका लागि पनि १४ प्रतिशतभन्दा बढी पर्दैन । त्यसो त कुनै पनि लघुवित्तको व्याजदर अहिले त्यत्ति महँगो छैन । विगतमा १८ प्रतिशत थियो तर अहिले राष्ट्र बैंकले १५ प्रतिशत भन्दा बढी लिन नपाउने व्यवस्था गरेको छ । १५ प्रतिशत व्याजदर भनेको धेरै होइन । बैंकभन्दा पनि सस्तै हो । किनभने बैंकहरूको व्याजदर सस्तो जस्तो देखिएपछि ऋण लिँदा प्रक्रियामै धेरै खर्च हुन्छ । १५-२० प्रतिशतसम्म पर्न जान्छ । तर लघुवित्तबाट लिन प्रक्रिया लामो हुँदैन । धितो चाहिँदैन, तुरुन्तै पैसा पाइन्छ । लघुवित्त घरघरमै पुगेर ऋण दिन्छ, तालिम पनि दिन्छ तर बैंकमा ऋणी आफैं पटक-पटक धाउनुपर्ने हुन्छ ।
खाद्यान्नमा आत्मनिर्भर हुन के गर्नु पर्ला ?
सबैभन्दा पहिले त कृषि पनि सम्मानित पेशा हो भन्ने अवस्था बन्नुपर्यो । नीति निर्माण तहबाटै त्यस्तो वातावरण बन्नुप¥यो । त्यसका लागि कृषिमै लागेको व्यक्ति कृषिमन्त्री हुनुपर्छ । कृषि भोगेको व्यक्तिले मात्रै कृषिलाई राम्रोसँग बुझेको हुन्छ । पीरमर्का थाहा हुन्छ । राष्ट्रिय योजना आयोग, संसद् सबैतिर वास्तविक किसान प्रतिनिधित्व हुनुपर्छ । सरकार, संसद्मा उद्योगी व्यापारीको प्रतिनिधित्व छ भने किसानको कि नहुने ? भाषण गरेरमात्रै त उत्पादन बढ्दैन ।
धान दिवसको अवसरमा के सन्देश दिन चाहनुहुन्छ ?
किसानलाई अनुदान होइन, चाहिएकै बेला मल, बिउ, प्रविधि दिउँ । नीति निर्माण तहमा बस्ने र कार्यान्वयन गर्ने व्यक्ति तथा निकायमा धानमा आत्मनिर्भर बन्नेतर्फमात्र नभई चामलका परिकार निर्यात गर्ने अवस्था बनाउँ, बढी मूल्य शृंखला भएको नेपालको काला नमक, जुम्ली मार्सी बढीभन्दा बढी उत्पादन गरी निर्यात गरौं भन्ने सोचको विकास होस् । सबैमा धान दिवसको शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच