एक मतले ढल्यो कोशी प्रदेशमा ‘हिक्मत सरकार’

हिमालय टाइम्स
Read Time = 4 mins

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न असफल हुनुभएको छ ।

प्रदेशसभाको आजको बैठकमा सभामुख बाबुराम गौतमले मुख्यमन्त्री कार्कीले राख्नुभएको विश्वासको मतमाथिको प्रस्तावका पक्षमा ४६ र विपक्षमा ४३ मत प्राप्त भएको जानकारी दिनुभयो । प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ४७ मत आवश्यक हुन्छ । प्रदेशसभामा आजको बैठकमा कुल सङ्ख्या ९३ मध्ये ८९ प्रदेशसभा सदस्य उपस्थित हुनुहुन्थ्यो ।

विश्वासको मत दिँदा एक सांसद रहेको जसपा निर्वाचन प्रक्रियामा तटस्थ बस्यो । जसपा सांसद निर्मला लिम्बू मत विभाजनक बैठकमै अनुपस्थित हुनुभयो । प्रतिपक्षका दुई सांसद पनि आएनन् ।

नेपालको संविधानको धारा १८८ को उपधारा ९२० तथा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ ९४० बमोजिम मुख्यमन्त्री कार्कीले प्रदेशसभामा बिहीबार उक्त प्रस्ताव पेश गर्नुभएको थियो ।

विश्वासको मत प्रस्तावमाथि बिहीबारको बैठकमा प्रदेशसभा सदस्यहरुले आफ्ना भनाइ राख्नुभएको थियो । आजको बैठकमा मुख्यमन्त्री कार्कीले प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिँदै जनताले कुनै पनि दललाई स्पष्ट बहुमत नदिएको र दलहरु मिलेर नै सरकार बनाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले त्यसअघि आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।

जनता समाजवादी पार्टीले मुख्यमन्त्रीको विश्वासको प्रस्ताव उपर तटस्थ बस्ने निर्णय गरेकाले पार्टीका एक मात्र प्रदेशसभा सदस्य निर्मला तावा लिम्बू आजको बैठकमा उपस्थित हुनुभएन ।

कोशी प्रदेशमा एमालेको ४० र राप्रपाको ६, कांग्रेसको २९, माओवादी केन्द्रको (सभामुख बाहेक १२), नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका १ सांसद छन् ।

पुस १० गते बनेको सातदलीय गठबन्धन सँगै एमाले नेतृत्वको ७ दलीय गठबन्धन दुई महिना नपुग्दै भत्किएसँगै एमाले संघदेखि प्रदेशसम्म सरकारबाट बढारिएको छ । माओवादी केन्द्रसहितको समीकरण बन्दा ७ मध्ये ४ वटा प्रदेश सरकारको नेतृत्व एमालेले गरेको थियो । अहिले केन्द्रदेखि सबै प्रदेशबाट एमाले बाहिरिएको छ ।

माओवादीले सरकारलाई दिएको समर्थन जेठ २३ गते फिर्ता लिएको थियो। सत्तारुढ दल माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो ।

एमाले नेतृत्वको सरकार ढलेसँगै कोशी प्रदेशमा बहुमतको सरकार गठनको प्रयास थालिएको छ । अब प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्ने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?