मार्टिनो मियामीको प्रशिक्षकमा नियुक्त

Read Time = 3 mins

लण्डन । जेरार्डो ‘टाटा’ मार्टिनो अमेरिकी मेजर लिग सकर (एमएलएस)को क्लब इन्टर मियामीको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको छ । मार्टिनो अर्जेन्टिना र क्याटलान क्लब बार्सिलोनाका पूर्वप्रशिक्षक रहिसक्नुभएको छ । मियामीले ६० वर्षीय मार्टिनोलाई फिल नेभिलको स्थानमा अनुबन्ध गरेको हो ।

इन्टर मियामीमा यसअघि नै अर्जेन्टिनी स्टार लियोनल मेस्सी पनि अनुबन्ध भइसक्नुभएको छ । योसँगै मार्टिनो र लियोनल मेस्सीबीच पुनर्मिलन हुनेभएको छ । मेस्सी र मार्टिनोले यसअघि बार्सिलोना र अर्जेन्टिनाको राष्ट्रिय टोलीमा सँगै रहेर काम गरिसक्नुभएको छ ।
‘टाटा एक उच्च सम्मानित व्यक्तित्व हुनुहुन्छ । उहाँको रेकर्ड आफैं बोल्छ ।’ इन्टर मियामीका सहमालिक डेभिड बेकहृयामले लेख्नुभएको छ, ‘हामी विश्वस्त छौं कि उनको अनुभवले हाम्रो टोलीलाई प्रेरणा दिनेछ र हाम्रा फ्यानलाई उत्साहित बनाउनेछ उनको प्रभाव हेर्न तत्पर छौं ।’
यता इंग्लिस क्लब चेल्सीका मिडफिल्डर मेसन माउण्ट म्यानचेस्टर युनाइटेड जाने हुनुभएको छ । युनाइटेडले इंग्लिस मिडफिल्डर माउण्टलाई चेल्सीबाट ५५ मिलियन पाउन्डमा पाँच वर्षका लागि सम्झौता गरेको छ । २४ वर्षीय माउण्ट यो समर सिजनमा युनाइटेडमा अनुबन्ध हुने पहिलो खेलाडी बन्नुभएको छ ।

चेल्सीले गत सिजन ६ सय मिलियन पाउण्ड खर्च गरेको थियो र फाइनान्सियल फेयर प्लेको तनाव घटाउन चेल्सीले धमाधम खेलाडी कटौती गरिरहेको छ । माउण्टले चेल्सीसँग २०२१ मा च्याम्पियन्स लिगसँगै फिफा क्लब विश्वकप र यूईएफए सुपर कप पनि जित्नुभएको छ । इंग्ल्याण्डबाट ३६ क्याप जित्नुभएका उहाँले पाँच गोल गर्नुभएको छ । उहाँ २०२२ को कतार विश्वकपमा इंग्ल्याण्डको टोलीमा हुनुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?