कृषिकर्ममा रमाएका कैलाश

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । विदेशमा श्रम गर्नुभन्दा आफ्नै माटोमा केही गर्ने इच्छाशक्ति भएको युवाको संख्या विस्तारै बढ्न थाल्नु देशका लागि राम्रो संकेत हो । युवाशक्ति विदेशिँदा खेतबारी बाँझो रहने र तरकारीजन्य, खाद्य दैनिक उपभोग्य वस्तुमा परनिर्भर हुनुपर्दा उपभोक्ताहरू महँगीको मारमा पर्ने गरेको कुरालाई मनन गर्दै केही युवाहरू कृषि व्यवसायमा संलग्न हुन थालेका छन्, जसमा कैलाश श्रेष्ठ पनि एक हुनुहुन्छ ।

दोलखा जिल्लामा जन्मिनुभएका कैलाश भरत श्रेष्ठ र मैया श्रेष्ठको एक्लो सन्तान हुनुहुन्छ । जसले व्यापारको विरासत बाजे रामबहादुर श्रेष्ठबाट पाउनुभएको हो । बाजेले खडा गरेको व्यापारलाई पिता हुँदै आफूसम्म आइपुग्दा व्यावसायिक हिसाबले आधुनिक कृषिको अवधारणा र प्रविधिसँगै अगाडि बढ्नुभएका कैलाशले जिल्लामा नै ‘सेतीदेवी संयुक्त फर्म’ खोलेर आधुनिक कृषि र पशुपालनलाई अगाडि बढाइरहनुभएको छ ।

बाजेको संरक्षणमा बुबा भरत श्रेष्ठद्वारा विकास गरिएको फर्मलाई कैलाशले आधुनिक हिसाबले विगत चार वर्षदेखि सञ्चालनमा ल्याउनुभएको हो । वार्षिक दुई सयको हाराहारीमा खसीबोका बिक्रीवितरण गर्दै आइरहनुभएका कैलाशलाई व्यवसायमा आमा र बहिनीले सहयोग गर्दै आइरहेका छन् । प्लस टु सकेर अगाडिको अध्ययनको तयारीमा रहनुभएका कैलाशले अहिले लोकल मार्केट र आसपासका जिल्लामा आफ्नो तरकारीजन्य उत्पादन बिक्रीवितरण गर्दै आइरहनुभएको छ । कैलाश हालै शिखर नेपाल तथा डच मिडियाको आयोजनामा सम्पन्न ‘तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड तथा शिखर सम्मान समारोह-२०८०’ मा उत्कृष्ट युवा कृषकका लागि अवार्डसमेत आफ्नो पक्षमा पार्न सफल हुनुभएको छ । योभन्दा पहिले पनि अवार्ड र सम्मान पाइसक्नुभएका कैलाशले दोलखा जिल्लामा फार्मिङसँगै रिसोर्ट सञ्चालनको सोच बनाउनुभएको छ ।

आगामी दिनहरूमा फर्ममा नयाँ-नयाँ टेक्नोलोजी भित्र्याउँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारका लागि काम गर्ने योजनाका साथ अगाडि बढिरहेको बताउनुहुने कैलाश निकट समयमा नै आधुनिक कृषिका निम्ति इन्टरनेसनल फार्मिङ अध्ययन र अनुसन्धानका लागि विदेश भ्रमणको योजनामा हुनुहुन्छ । विदेशमा सिकेको सीप र ज्ञानलाई स्वदेशमै उपयोग गर्ने उहाँ आफ्नो सोच रहेको सुनाउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?