बसमा आगलागी हुँदा भारतमा जलेर २५ यात्रीको मृत्यु

हिमालय टाइम्स
Read Time = 3 mins

मुम्बई । भारतको महाराष्ट्रमा शुक्रबार राति एउटा भयानक दुर्घटना भएको छ ।

बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको मृत्यु भएको छ ।

प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा ठूलो आगो लागेको थियो । बुलढाना प्रहरीका डेपुटी एसपी बाबुराव महामुनीका अनुसार बसमा ३३ जना सवार थिए । जसमध्ये २५ जनाको आगलागीका कारण घटनास्थलमा नै मृत्यु भएको थियो । सोही क्रममा अन्य व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ ।

बुलढाना प्रहरीका डिएसपी बाबुराव महामुनीले यसबारे जानकारी दिएका छन् । घटना शुक्रबार राति करिब २ बजे भएको उनले बताए । बसबाट २५ जनाको शव निकालिएको छ । बसमा जम्मा ३२ जना सवार थिए । छ देखि आठ जना घाइते भएका छन् । घाइतेहरुको बुलढाना सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, बुलढानाका एसपी सुनिल कडासेनले बसमा ३३ जना सवार थिए, जसमध्ये २५ जनाको मृत्यु भएको र ८ जना घाइते भएको पुष्टी गरेका छन् । बसका चालक पनि बाँच्न सफल भएका छन । चालकका अनुसार अचानक बसको टायर पडके पछि बस पल्टिन गएको र त्यसैबिचमा आगलागी सुरु भएको थियो ।

रिपोर्टका अनुसार प्रत्यक्षदर्शीहरूले नागपुरबाट औरंगाबाद जाने बाटोमा दायाँ पट्टि रहेको फलामको पोलमा बस ठोक्किएको बताएका छन्। त्यसपछि चालकले सन्तुलन गुमाए । सो क्रममा बस सडकको बीचमा बनेको कंक्रीट डिभाइडरसँग ठोक्किएर पल्टिएको थियो । यसरी पल्टिएको बसले जमिनमा ढोका थिचेका कारण सो ढोका खोल्न नसकेर यात्रुहरुको बसभित्रै जलेर मृत्यु भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

यस्तो अवस्थामा गाडीमा सवार यात्रुहरु गाडीबाट बाहिर निस्कन पाएका छैनन् । दुर्घटनाका क्रममा बसबाट ठूलो मात्रामा डिजेल सडकमा फैलिएको पनि बताइएको छ । डिजेल चुहावटका कारण बसमा आगलागी भएको जनाईएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?