ऋषिकल्प : गुरु दयारामश्रेष्ठ !

डा. नारायण चालिसे
Read Time = 17 mins

ऋषि शब्द हाम्रा प्राच्य शास्त्रहरूमा अत्यन्त प्रचलित र सम्मानित नाम हो । ऋषि शब्दका विभिन्न कोशीय अर्थहरूमध्ये साधनारत जीवन व्यतीत गर्ने तथा जीवन र जगत्का आध्यात्मिक र भौतिक तत्त्वहरूलाई साक्षात्कार गर्ने व्यक्ति भन्ने अर्थ पनि एक हो । ऋषि शब्दलाई विभिन्न तात्पर्यार्थमा पनि प्रयोग गर्न सकिन्छ । जसले आफ्नो सम्पूर्ण जीवन शास्त्रको अनुशीलनमा बिताएको छ, जसको योगदानमा पछिल्लो पुस्ताले मार्गदर्शन पाएको छ, जसका विचारहरूनै शास्त्र समान आधिकारिक छन्, जसको व्यवहार र कर्ममा शास्त्रानुकूल आदर्श झल्किएको छ, जसको जीवनका यावत् कर्म लोकको हितमा समर्पित छन् त्यस्ता व्यक्तिलाई ऋषि र तिनका कर्महरूलाई ऋषिकर्म भन्न सकिन्छ । समय र कर्मले मानिसलाई ऋषि तुल्याउँछ । ऋषि मन, ऋषि कर्म, ऋषि आचरण, ऋषि व्यवहार आदि ।

सबै मानिस यो कोटिमा पुग्ने सामथ्र्य राख्दैन । ऋषि शब्द त्याग, तपस्या र मनोयोगको नाम पनि हो । मानिस मात्रैका सबै कर्महरू पनि सायद योगदान होइनन् तर त्यस्ता प्राज्ञिक कर्महरू जसले मानिसको चेतना र ज्ञानको विस्तारमा गुणात्मक योगदान गर्दछन् तिनलाई मात्र यहाँ कर्मको तात्पर्यमा लिइएको छ । ऋषि मन भएको मानिसबाट नै सायद ऋषिकर्म सम्पन्न हुन सम्भव छ । हामीले शास्त्रहरूमा पढेका ऋषिहरू त्यस्तै साधनारत जीवन व्यतीत गरेका सज्जनहरू हुन् । पारलौकिक वा ऐतिहासिक कुराहरूका दृष्टान्तलाई आधार बनाएर इहलोकलाई पनि नदनुसार बनाउन सक्दा रहेछौँ भन्ने दृष्टान्तहरू हामीले देखेका छौँ । यसै कोटिमा राखेर हेर्न मिल्ने एकजना ऋषिकल्प व्यक्तिको नाम दयाराम श्रेष्ठ हो ।

डाक्टर दयाराम श्रेष्ठ सुपरिचित प्राध्यापकको नाम त हुँदै हो साथै पछिल्लो समयमा एकल संस्थाजस्तै नाम हो । विसं २००० सालमा धनकुटा सिरान बजारमा जन्मिनुभएका श्रेष्ठले लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेर अवकाश लिनुभएको छ ।

कलिकालमा कुनै पनि व्यक्तिलाई देवता बनाउने प्रयत्न गर्नु हुँदैन तर कुनै कुनै व्यक्ति आफ्ना योगदान र कर्मले सामान्य मानिसको कोटिबाट माथि उठेर असाधारण बन्न सक्छन् । त्यस्ता व्यक्तिलाई कलिकालका ऋषि भन्नु मनासिव नै हुन्छ । यस अर्थमा हामी धेरैका गुरु दयाराम ऋषिको कोटिमा पुग्नुभएको लागेको छ । त्यस्तो अवसर सबैलाई प्राप्त हुँदैन र सबैले त्यसरी आफूलाई स्थापित गर्न पनि सक्दैनन् । पहिलो कुरा त समय र परिस्थिति हो जसले मानिसलाई समयभन्दा माथि उठ्न सिकाउँछ त्यसपछि त्यस्तो मानिस हो जसले समयलाई सम्मान गरेर अगाडि बढेको छ त्यो व्यक्ति नै ऋषि समान व्यक्ति हो । यद्यपि हामीले मानेका ऋषिहरू नै पनि सबै प्रकारका गुणैगुणै युक्त थिएनन् भन्ने कुरा तिनका विषयमा प्रचलनमा रहेका किम्बदन्तीहरूले जनाउँछन् ।

कसैको रिस असाध्य थियो भनिएको छ । कसैको भोक असीमित थियो भनिएको छ । कोही ज्यादै अहङ्कारी थिए भनिएको छ । सबैमा केही न केही चरित्रदोष हुँदाहुँदै पनि उनीहरूको असाधारण कर्म र ज्ञानका कारणले उनीहरूभित्रको दोषपक्ष ढाकिन पुग्यो र उनीहरूका गुणले उनीहरू प्रसिद्ध भए । त्यसैगरी मानिस भएर आएपछि गुण र दोष अत्यन्त स्वाभाविक कुराहरू हुन् । ती स्वाभाविकतालाई स्वीकार गरेरै कुनै पनि मानिस आफ्ना कर्मले उचाइ लिइरहेको कुरालाई स्वीकार गर्न हामीले सङ्कोच मान्नु पर्दैन ।

डाक्टर दयाराम श्रेष्ठ सुपरिचित प्राध्यापकको नाम त हुँदै हो साथै पछिल्लो समयमा एकल संस्थाजस्तै नाम हो । विसं २००० सालमा धनकुटा सिरान बजारमा जन्मिनुभएका श्रेष्ठले लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेर अवकाश लिनुभएको छ । छ दशकदेखि उहाँले नेपाली भाषा र साहित्यका विभिन्न विधामा महत्वपूर्ण योगदान गर्दै आउनुभएको छ । २०५३ सालमा ‘नेपालको राष्ट्रिय झण्डा’ शीर्षकको शोधग्रन्थका लागि मदन पुरस्कार प्राप्त गर्नुभएका उहाँ नेपाली भाषा, साहित्य, शोध, समालोचना र साहित्येतिहासका आधिकारिक विद्वान् हुनुहुन्छ ।

नेपाली साहित्यका केही पृष्ठ, नेपाली साहित्यको संक्षिप्त इतिहास, शाहवंश र नेपाली साहित्य, कथा परम्परा र भानुभक्तीय रामायण, साहित्यको इतिहास : सिद्धान्त र सन्दर्भ, गद्यशैलीको रूपविज्ञान, प्रज्ञा आधुनिक कथाकोश, नेपाली कथा र कथाकार, नेपाली कथा भाग ४, वीरकालीन नेपाली कविता, साहित्यको अनुन्धान र व्यवस्थापन, कथाको दर्शनलगायत शोध, समालोचना, सहित्य र साहित्यको इतिहास विषयका दुई दर्जनको हाराहारीमा प्रकाशित उहाँका हरेक कृतिहरू प्राज्ञिक दृष्टिले विशिष्ट महत्वका रहेका छन् । यति सानो कलमले उहाँका विषयमा केही लेख्नु सम्भव कुरा होइन । एक प्रकारले सूर्यलाई बत्तीको प्रकाशमा हेर्न खोज्नु जस्तै हो ।

त, हाम्रा आदरणीय गुरुको जीवनसँग जोडिएर आएको ‘सम्भव’ भन्ने विशेषण शब्दलाई अहिले सम्झिरहेको छु । उहाँले हरेक विषयमा देख्नुभएको सम्भावना नै उहाँले आफ्नो नामका पछाडि राखिएको ‘सम्भव’ भन्ने विशेषणको तात्पर्य हो । हामी स्नातकोत्तर तहका विद्यार्थी छँदा उहाँको नामका पछाडि जोडिएको ‘सम्भव’ उपनामका विषयमा केही पेचिला किम्वदन्ती सुन्थ्यौँ । यताका धेरै वर्षदेखि म गुरुको सान्निध्यमा छु । पछिल्लो समयमा आदरणीय गुरुबाटै दीक्षित छु । यस अवधिमा धेरै औपचारिक अनौपचारिक समयमा हाम्रो भेट हुन्छ । तर मैले उहाँको ‘सम्भव’ उपनामका बारेमा जिज्ञासा राख्न खोइ किन हो आवश्य ठानेको छैन ।

सम्भावनाका उज्याला किरण पछ्याएर हिँडिरहेका उहाँले त्यही सम्भावनाको उज्यालो बाटो हिँडेर नै आजको मुकाम हासिल गर्नुभएको यथार्थका अगाडि उभिएर अब उहाँसँग यस्तो जिज्ञासा राख्नु पनि सान्दर्भिक छ भन्ने लाग्दैन । यति कुरा अवश्य हो उहाँ स्वाभिमानको जीवन बाँच्न चाहने व्यक्ति हो । यस अर्थमा उहाँले आफ्नो अस्तित्व चेतनाको सम्मानको निम्ति आफूलाई कहीँ कतै दरिलो उभिन खोज्नुभएको भए त्यो हामीलाई पनि स्वीकार्य छ । विश्वविद्यालयका कक्षाहरूमा उहाँ अलि जटिल, कठोर र असहज व्यक्ति हो कि भन्ने जस्तो लागेर म सुरुमा उहाँसँग नजिकिन डर मान्थेँ तर त्यस्तो पटक्कै होइनरहेछ ।

झट्ट हेर्दा नरिवल जस्तो लाग्ने उहाँ त अत्यन्त सरल, सज्जन, सहयोगी, अल्पभाषी एवम् मृदुभाषी हुनुहुँदोरहेछ । जब मैले उहाँसँग धक फुकाएर कुरा गर्न थालेँ त्यसपछि उहाँबाट निरन्तर स्नेह र शिक्षा ग्रहण गर्दै आएको छु । एकजना शिष्यको निम्ति योभन्दा ठूलो सौभाग्य अरू हुन सक्छ जस्तो लाग्दैन । नेपालको सन्दर्भमा दयाराम श्रेष्ठ शोधविज्ञको रूपमा सुपरिचित, नेपालका विश्वविद्यालयमा बडो आस्था र श्रद्धाले लिने नाम पनि हो । हजारौँ शिष्यका गुरु दयाराम श्रेष्ठ अहङ्काररहित पात्रको नाम पनि हो । मानवीय जीवनका विभिन्न उमेर अवस्थाहरूमा मानिसले के कस्तो व्यवहार गर्छ ? कहाँ जान्छ ? के खान्छ ? के गर्छ ? के गर्दैन ? इत्यादि प्रश्नहरू कसैको जीवनसँग जोडिँदा व्यक्तिगत हुन्छन् भने कसैको जीवनसँग जोडिँदा ती सामूहिक हुन्छन् ।

मानिसले जीवनलाई व्यक्तिजीवनबाट माथि उठाएर सार्वजनिक बनाउनु भनेको केही हदसम्म असाधारण हुनु पनि हो । त्यसो त विख्यात र कुख्यात दुवै प्रकृतिका मानिस सार्वजनिक हुन्छन् । हामीले कुख्यातका होइन विख्यातको बाटो चुन्नुलाई नै जीवन भनेरमानेका छौँ । केही गर्छु भन्नेहरूले सबैले हिँडेकै बाटोमा हिँड्नभन्दा नयाँ बाटो बनाउन मन पराउँछन् । दयाराम श्रेष्ठ पनि आफ्नो बाटो आफैँ तय गर्न रुचाउने व्यक्तिको नाम हो । उहाँको पनि कुनै समय थियो होला जतिखेर जय र पराजयका मानवीय भावनाबाट उहाँ प्रभावित हुनुहुन्थ्यो । ती बेलाका तीता पिरा अनुभूतिहरू पनि उहाँको यो उचाइका कारक होलान् ।

यो उमेरमा उहाँले नेपाली भाषा साहित्य, समालोचना र शोधका क्षेत्रमा पुर्‍याइरहनुभएको योगदान नेपालको इतिहासमा स्वर्णाक्षरले लेखिनुपर्छ भन्ने लाग्छ । तर, सतीले सरापेको यो मुलुकमा असल काम गर्नेहरूभन्दा राष्ट्रघात गर्नेहरूको बढी सम्मान हुँदै आएको छ ।

मानिसको मन न हो कतिखेर असफलताले निराश बनेर सुस्केरा छोड्नुभयो होला कतिखेर सफलताले गमक्क पर्नुभयो होला । त्यसै गरी महत्वाकाङ्क्षाले आकाश छुन हतारिनुभयो होला वा कुनै समयमा अहम्बोधले चुलिनुभयो होला तर अहिले उहाँलाई भेट्दा लाग्छ उहाँले ती धेरै मानवीय वृत्तिहरूलाई जितिसक्नुभएको छ । अति सरल, अति सहयोगी अनि अति शान्त प्रकृतिको उहाँको आजको जीवनचर्यासँग परिचित हुन पाएकाले कुनै समयका उहाँ कस्ता हुनुहुन्थ्यो भनेर सोच्न आवश्यक ठान्दैन ।

उमेरले असी वर्षमा हिँडिरहनुभएका उहाँले अनेक अकल्पनीय पारिवारिक दुर्घटना व्यहोर्नुपरको छ तापनि ती सबैलाई मनभित्रै अँठ्याएर अहिले पनि उत्तिकै निष्ठापूर्वक काम गर्दै आउनुभएको छ । यो उमेरमा उहाँले नेपाली भाषा साहित्य, समालोचना र शोधका क्षेत्रमा पु¥याइरहनुभएको योगदान नेपालको इतिहासमा स्वर्णाक्षरले लेखिनुपर्छ भन्ने लाग्छ । तर, सतीले सरापेको यो मुलुकमा असल काम गर्नेहरू भन्दा राष्ट्रघात गर्नेहरूको बढी सम्मान हुँदै आएको छ । हामीले व्यहोरेका छौँ पछिल्लो समयमा विश्वविद्यालयका कतिपय प्राध्यापकहरू राजनीतिक पार्टीको सक्रिय सदस्य भएर विद्वान् बनेका छन् र कतिपय प्राध्यापकहरू विद्वान् भएर पार्टीका सदस्य बनेका छन् ।

अर्थात् विद्वान् हुन वा भइसकेपछि पनि पार्टीमा आबद्ध हुनैपर्छ भन्ने भाष्य तयार भएरहेको अवस्था पनि छ । र, केही यस्ता प्राध्यापकहरू छन् जसलाई विद्वान् बन्न कुनै पार्टीमा जाने आवश्यकता परेन । अनि विद्वान् बन्न कसैको आड पनि चाहिएन । मलाई थाहा भए अनुसार दयाराम सर कुनै पार्टीका विद्वान् हुनुहुन्न र कसैले उहाँ कुन पार्टीको विद्वान् हो भनेर सोध्ने धृष्टता पनि गर्दैन । विद्वान्मात्रै बनेर पनि प्राध्यापक हुन पाइन्छ, सम्मानित जीवन बाँच्न पाइन्छ भन्ने दृष्टान्त पनि दयाराम सर हुनुहुन्छ भन्ने लाग्छ ।

मानिसले या त जीवनको अत्यन्त उर्वर मानिएको समयमा या सबै प्रकारका मानवीय रागवृत्तिबाट माथि उठिसकेको अवस्थामा विशेष योगदान गर्न सक्छ । त्यसमध्ये निःस्वार्थ योगदान गर्नको निम्ति मानिसभित्रका काँचाकचिला रागहरू समाप्त भएकै हुनुपर्छ । दयाराम सर अहिले जीवनको त्यही अवस्थामा हुनुहुन्छ । अब उहाँलाई आर्थिक हैसियत झल्काउने कुनै कुराको जोडजाम गर्नुछैन । न नामको निम्ति न दामको निम्ति नै अब उहाँलाई कुनै काम गर्नुपरेको छ । केवल केही दिनुमात्रै जीवनको लक्ष्य रहेको छ । आजको मितिमा पनि उहाँबाट जेजति योगदान राष्ट्रको निम्ति भइरहेको छ त्यो निश्चय पनि असाधारण योगदान हो ।

लामो समयको सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको उज्यालो बिहानीमा सबैको वैचारिक आस्थालाई सम्मान गरौँ । वैचारिक स्वतन्त्रताका पक्षधरबाट विचारहीन मानिसको कल्पना हाम्रो ध्येय कदापि हुनुहुँदैन । तर, आस्था वा विचारको पक्षधरताका नाममा समाजमा व्याप्त विकृतिको जिम्मेवार कतै न कतै हाम्रो आस्था पनि हो कि भन्ने विषयमा हामी सचेत हुनै पर्छ । आस्थाको तगारो लागाएर समाजमा उज्यालो बाँड्ने सुकर्ममा अवरोध सिर्जना नगरौँ । ऋषिकल्प आदरणीय गुरुको सुस्वास्थ्य एवम् दीर्घजीवनको कामना गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. एउटा शालीन ज्ञानसाधक ऋषवत् गुरुका विषयमा कत्तिपनि बढाइचढाइ नगरीकन उचित र ठीक मूल्याङ्कन गरेर लेखेकाे याे लेख अाद्याेपान्त पढेपछि अहिले पनि हामीमा ज्ानकाे भाेक र ज्ञानप्रदाताकाे पूजा र भक्ति गर्ने सद्गुण रहेकाे अनुभूत भयाे ।डा नारायण चालिसेकाे साधित कलमले पूज्यपाद गुरुकाे साधनावर्णन राेजेकामा पनि खुशी लागाे ।धन्यवाद छ गुरुभक्त गालवबत् डा चालिसेलाई ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?