बाजुरामा ३५ प्रतिशत रोपाइँ सकियो, मनाइँयो धान दिवस

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

बाजुरा । बाजुरामा विविध कार्यक्रमको आयोजना गरी हिजो राष्ट्रिय धान दिवस मनाइएको छ । ‘जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ असार १५ गते अर्थात् हिजो २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव बाजुरामा विविध कार्यक्रम गरी मनाइएको हो ।

असारे भाकामा देउडा, दोहोरी गाउँदै, हिलो छ्याप्दै जिल्लाका विभिन्न ठाउँमा धान दिवस मनाइएको हो । बाजुराको बुढीनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न ठाउँमा कृषि शाखाका कर्मचारी, अन्य संघसस्थाका प्रतिनिधि, स्थानीय कृषकहरुको सक्रियतामा धान दिवस मनाइएको हो ।

यस्तै बाजुराको बुढीनन्दा नगरपालिकाको कृषि शाखाको आयोजनामा बुढीनन्दा नगरपालिका–१ को पिपलडालीमा मनाइएको धान दिवस कार्यक्रममा बोल्दै नगर प्रमुख जनक कुमार बोहोराले नगरपालिका केबल दिवस मनाउनका लागि मात्र नभई किसानका समस्या समाधानका लागि तयार रहेको बताउनुभएको छ ।

उहाँले कृषिलाई पहिलो प्राथमितामा राख्दै नगरपालिकाले वर्षेनि बजेट विनियोजन गर्ने गरेको बताउनुभयो । कृषकले उत्पादन गरेका स्थानीय उत्पादनलाई खेर जान नदिनका लागि बजारीकरणसँगै नगरपालिकाले यसै आर्थिक वर्षबाट कृषि एम्वुलेन्स पनि सञ्चालन गर्ने बताउनुभयो । कृषकले अव बजारीकरणका लागि नभई उत्पादनका लागि चिन्ता लिनु पर्ने नगर प्रमुख बोहोराले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता जंगवीर रोकाया, निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाह, वडा नम्बर १ का वडा अध्यक्ष मानबहादुर कार्की, कार्यपालिकाका सदश्य, कृषि शाखाका कर्मचारी र विभिन्न संघ संस्थाका कर्मचारी लगायत स्थानियको सहभागिता रहेको थियो । बाजुरामा कृषि ज्ञान केन्द्र, कृषि शाखाहरुले जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रचार–प्रसार गरी अवलम्बन गर्न यस्ता दिवस र महोत्सवको आयोजना गर्ने गरेका छन् ।

असार १५ गतेसम्म बाजुरामा ३५ प्रतिशत मात्रै रोपाइँ

असार १५ गतेसम्म बाजुरामा ३५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । सिंचाइ सुविधाको अभाव र समयमा वर्षा नहुँदा बाजुरामा धान रोपाइँको अवस्था मध्य असारसम्मा पनि निराशा जनक देखिएको छ ।

गत बर्ष समयमै वर्षा भएकाले यसै असार १५ गतेसम्म करीब ४५ प्रतिशत रोपाइँ भएकोमा यो बर्ष भने मन्सुन ढिला गरीे सुरु भएकाले कम मात्रामा मात्र रोपाइँ भएको कृषि ज्ञानकेन्द्र बाजुरा सूचना अधिकारी मीन प्रसाद जैशीले बताउनुभएको छ ।

बाजुरामा ६ हजार ९ सय १५ हेक्टर क्षेत्रफल जमिनमा धान उत्पादन हुँदै आइरहेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । जिल्लामा धान उत्पादन हुँने ६ हजार ९ सय १५ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म यसको करीब ३५ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको सूचना अधिकारी जैशीले बताउनुभएको हो ।

गत वर्ष असार १५ गते करीब ४५ प्रतिशत धान रोपाइँ भएको थियो भने यस बर्ष यसको ठिक १० प्रतिशतले कम रोपाइँ भएको सूचना अधिकारी जैशीको भनाई छ ।

बाजुरामा सिंचाइको सुविधा नहुँदा कृषकहरुले आकाशे पानीको भरमा धान रोपाइ गर्नुपर्ने बाध्यता रहदै आएको छ । बाजुरामा कुल कृषि योग्य जमिनको १० प्रतिशत जमिनमा मात्रै सिंचाईको सुविधा पुगेको छ भने बाँकी ८० प्रतिशत जमिनमा आकाशे पानीको भरमा खेति गरिदै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?