जुम्लामा देखियो लम्पी स्किन रोग, नियन्त्रणमा स्थानीय तहको ध्यान गएन

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । मुलुकभरका गाईभैंसीमा फैलिएको लम्पी स्किन रोग हिमाली जिल्ला जुम्लामा समेत देखा परेको छ । रोग नियन्त्रणमा जुम्लाका स्थानीय सरकारको ध्यान जान सकेको छैन ।

जिल्लाको तिला गाउँपालिका-२ का स्थानीयवासिको गाईभैंसीमा लम्पी स्किन रोग फैलिएको स्थानीयवासि धन बहादुर नेपाली जानकारी दिनुभयो । गाईभैसीमा उक्त रोग अहिले व्यापक रुपमा गाउँभरी फैलिएको छ । लम्पी स्किन रोगबाट लिही गाउँका स्थानीयवासिका करिब ३० वटा गाईगोरु मरि सकेकाछन् । रोगलाई नियन्त्रण गर्नका लागि गाउँपालिकालाई आवश्यक औषधी उपचारको व्यवस्थापन गर्न अनुरोध गरेको स्थानीवासि नेपालीको भनाइ छ ।

तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले पालिकाका केही वडामा लम्पी स्किन रोगबाट गाई गोरु मरेको जानकारी आएको बताउनुभयाे । रोगले बढी प्रभावित भएका वडाका गाई, गोरु र भैसीलाई प्राथमिकतामा राखेर तत्कालका लागि पशु सेवा कार्यालय जुम्लासंग सहकार्य गरेर आवश्यक औषधी ल्याई पालिकाका पशु प्रविधिकलाई फिल्डमै खटाई उपचार गरिने अध्यक्ष रोकायाको भनाइ छ ।

गाउँमा उक्त रोगले महामारीको रूप लिएको छ । गाई गोरु विरामी धमाधम परेकाछन् । केही मरि सकेका पनि छन् । नजिकको स्थानीय सरकार भएपनि रोगलाई नियन्त्रण र उपचारमा कुनै ध्यानजान नसकेको तिला गाउँपालिकाका सथानीयवासि बताउँछन् । सो गाउँपालिका वडा नं. १ रारामा पनि लम्पी स्किन रोग फैलिएको छ । उपचार गर्ने अहिलेसम्म गाउँमा कोही पनि नआएको स्थानीयवासि पराने बस्नेतले बताउनुभयो । तिला गाउँपालिकामा यो रोगको संक्रमण बढ्दो क्रममा छ । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापाका अनुसार जुम्लाका आठवटै स्थानीय तहका लम्पी स्किन रोग देखा परेको छ । जिल्लामा सबैभन्दा पहिला कनकासुन्दरी गाउँपालिका-४ मा उक्त रोग देखा परेको थियो । उपचार पछि नियन्त्रणमा अहिले आएको छ । पछिल्लो समयमा तातोपानी, सिंजा, तिला, गुठिचौर र चन्दननाथ नगरपालिकामा लम्पी स्किन रोग फैलिएको स्थानीय तहबाट जानकारी आएको पशु सेवा कार्यालय जुम्लाका प्रमुख बुढ्थापाको भनाइ छ ।

संक्रमणलाई रोकथाम गर्नेका लागि चन्दननाथ नगरपालिका र गुठिचौर गाउँपालिका गाईभैंसीलाई लक्षण अनुसार उपचार गरिएको छ । तिलामा देखा परेका संक्रमित गाई गोरु र भैसीलाई कार्यालयबाट थप औषधी र ५५ वटा सुई पठाएको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ । स्थानीय तहका प्रमुखसंग छलफल गरेर चाहिने औषधी खरिद गरि पालिकको पशु शाखाबाट गाउँ गाउँमा पुगेर उपचार गर्ने सुझाव दिएको कर्णाली प्रदेश पशुपन्छी विकास निर्देशनालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?