बैंक तथा वित्तीय कारोबार रोक्ने चेतावनी

Read Time = 4 mins

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्था, सोेको सम्पत्ति, साख एवं सोमा कार्यरत कर्मचारीमाथि विभिन्न व्यक्ति, संस्था तथा समूहबाट निरन्तररूपमा भइरहेको भौतिक आक्रमण एवं गैरकानुनी गतिविधिको कडा निन्दा गरेको छ ।

कुनै पनि व्यक्ति, समूह वा संघसंस्थाको आवरणमा बैंक तथा वित्तीय संस्थाको साख, गरिमा, विश्वसनीयता वा सम्पत्तिमा हानिनोक्सानी पुर्‍याउने, बैंकिङ व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, बैंक वित्तीय संस्थाबाट लिएको कर्जाको साँवाब्याज नतिर्न दुरुत्साहन गर्ने र बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई भौतिक आक्रमण गर्ने, मानमर्दन गर्ने वा आफ्नो कर्तव्य पालना गर्न असुरक्षित एवं असमर्थ बनाउनेलगायत मुद्दा चलाउने तथा प्रचलित कानुनबमोजिम कडा कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी गर्ने चेतावनीसमेत दिएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाको हकहित संरक्षणका लागि आवश्यक कदम चाल्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र आबद्व सबै बैंक वित्तीय संस्था पूर्णरूपमा एकताबद्व, प्रतिबद्व र दृढ संकल्पित रहेको सिबिफिनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

साथै सिबिफिनले बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत सम्पूर्ण कर्मचारीको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग मागसमेत गरेको छ ।

यदि निर्वाधरूपमा सुरक्षित वातावरणमा प्रचलित ऐन कानुनद्वारा बैंक तथा वित्तीय संस्थालाई प्रदत्त अधिकार प्रयोग गर्दै सोहीबमोजिम निर्देशित बैंक तथा वित्तीय संस्थाले बहन गर्नुपर्ने कर्तव्य तथा जिम्मेवारी पूरा गर्न सहज हुने वातावरणको सुनिश्चितता हुन नसक्ने हो भने नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाले आफ्नो सेवा पूर्णरूपमा बन्दै गर्नुपर्ने परिस्थिति सिर्जना हुन सक्नेतर्फ सचेत गराउँदै र सोबाट आमनिक्षेपकर्ता, ऋणीलगायत सम्पूर्ण सरोकारवालाको हक, हित संरक्षण तथा संवद्र्धनमा गम्भीर संकट उत्पन्न हुने र अन्ततोगत्वा समग्र अर्थतन्त्रमा नै अकल्पनीय संकट सिर्जना हुने भन्दै सिबिफिनले सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?