सुडानी शिविरमा दादुराका कारण १३ बालबालिकाको मृत्यु

Read Time = 3 mins

खार्तुम, सुडान । सुडानको हृवाइट नाइल राज्यको आन्तरिक विस्थापन शिविरमा दादुराको प्रकोप फैलिँदा हालैका हप्ताहरूमा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको एक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आइतबार जानकारी गराएको छ । ‘डाक्टर्स विदाउट बोर्डर्स’ अर्थात् ‘मेडिसिन्स सान्स फन्टियर्स (एमएसएफ)’को सुडानी शाखाद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘स्थिति गम्भीर छ । शंकास्पद दादुरा र बालबालिकामा कुपोषण सबैभन्दा अत्यावश्यक स्वास्थ्य समस्या हो ।

एमएसएफको ट्वीटमार्फत् सम्प्रेषित विज्ञप्तिमा भनिएको छ, ‘सुडानको हृवाइट नाइल राज्यमा द्वन्द्वबाट भाग्ने मानिसहरूको संख्या बढ्दो छ । नौवटा शिविरमा मुख्यतया महिला र बालबालिका गरी लाखौंको संख्यामा मानिसहरू बसिरहेका छन् ।’ गैरसरकारी संस्थाले गत जुन ६ देखि २७ सम्म हृवाइट नाइल शिविरमा दादुराका शंकास्पद २२३ बालबालिकाको उपचार गरेको थियो भने १३ जनाको मृत्यु भएको छ । एमएसएफले सहयोग गर्ने दुईवटा क्लिनिकबाट ७२ जनालाई उपचार गरिरहेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामीले हरेक दिन दादुराको शंकास्पद बिरामी बालबालिकालाई ल्याइरहेका छौं । गैरसरकारी संस्थाका अनुसार जुन महिनामा यी दुई क्लिनिकमा कूल तीन हजार १४५ जना बिरामी आएका छन् ।

उहाँले भन्नुभयो, ‘जति धेरै मानिस आउँछन्, सहयोग, खोप, पोषण सहायता, आवास, पानी र सरसफाइजस्ता सेवा तत्काल बढाउन आवश्यक छ । वर्षायाम नजिकिँदै छ र हामी यस क्षेत्रमा पानीजन्य रोग र औलोको प्रकोप बढ्दै गएकोमा चिन्तित छौं ।’

गत अप्रिल १५ मा सुडानी सशस्त्र बल (एसएएफ) र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ)बीच युद्ध सुरु भएयता सुडानी शरणार्थीको संख्यामा तीव्र वृद्धि भएको छ । संयुक्त राष्ट्रसंघीय आप्रवासन निकाय (आइओएम)को तथ्यांकनुसार करिब २८ लाख मानिस पलायन भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?