बहुमत पाए मुद्रास्फीति दर कम गर्ने पाकिस्तानी पूर्वप्रधानमन्त्रीको प्रतिबद्धता

Read Time = 2 mins

इस्लामावाद, पाकिस्तान । पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) का सर्वोच्च नेता एवं पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आगामी आमनिर्वाचनबाट बहुमत पाई सत्तामा आएमा देशमा मुद्रास्फीति घटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पाकिस्तानी समाचार च्यानल जिओ न्यूजका अनुसार नवाजले दुबईमा विभिन्न खाडी मुलुकका पीएमएल-एन प्रतिनिधिमण्डलसँग कुरा गर्दै उक्त टिप्पणी गर्नुभएको छ । नवाजले सत्तारुढ दल पीएमएल-एनले जनताले भोगिरहेका सबै समस्या र अप्ठ्याराको समाधान गर्ने बताउनुभएको छ ।

स्वास्थ्यको कारण देखाउँदै नोभेम्बर २०१९ देखि लण्डनमा बस्दै आउनुभएका पूर्वप्रधानमन्त्री नवाज र उहाँकी छोरी मरियम नवाज जुन २४ मा संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएको हो । उनीहरूले पाकिस्तान पिपुल्स पार्टी (पिपीपी) का शीर्ष नेता आसिफ अली जरदारी र बिलावल भुट्टो–जरदारीलगायत महत्वपूर्ण पाकिस्तानी नेतासँग आगामी निर्वाचन र पाकिस्तानी समस्याबारे छलफल गर्नुभएको हो ।

यसै साताको सुरुमा नवाजले जरदारीसँग दुबईको शेख जायद रोडमा रहेको एक होटलमा भेट गर्नुभएको थियो । स्रोतहरूलाई उद्धृत गर्दै द न्यूज इन्टरनेसनल पत्रिकाले लेखेको छ, ‘विधानसभा विघटन, आमनिर्वाचनको मिति, पञ्जावमा सिट समायोजन र अन्य महत्वपूर्ण मुद्दामा दुई प्रमुख राजनीतिक दलका नेताहरूबीच छलफल भएको थियो ।’ रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?