पश्चिम नवलपरासीमा छ महिनामा ७८ मानवअधिकार उल्लंघनका घटना

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीमा गएको ६ महिनामा मानवअधिकार उल्लंघनका ७८ वटा घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक)ले सार्वजनिक गरेको मानवअधिकार हननका घटनाको तथ्यांक अनुसार सन् २०२३ को जनवरीदेखि जुन महिनामा जिल्लामा ७८ वटा मानवअधिकार उल्लंघनका घटना भएका हुन् ।

ईन्सेकले सोमबार अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रम गरी ती घटनाको विवरण सार्वजनिक गरेको हो । ईन्सकेका अनुसार आठ जना बालिकामाथि बलात्कार तथा बलात्कारको प्रयास भएको छ भने एक जनालाई अपहरण तथा शरीर बन्धकको प्रयास गरिएको छ ।

१२ जना महिला माथि बलात्कार तथा बलात्कारको प्रयास भएको छ भने एक बैवाहिक बलात्कारको घटना भएको ईन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुलीले जानकारी दिनुभयो । यस अवधिमा परिवारबाट दुई जना र अज्ञात समूहबाट एक जना गरी तीन जना महिलाको हत्या भएको छ । घरेलु हिंसाका ४८ वटा घटना भएका छन् भने बहुविवाहका तीन घटना भएको उहाँले बताउनुभयो । यसैगरी जातिय विभेदका तीन घटना भएको ईन्सेकको तथ्यांकमा उल्लेख छ ।

कार्यक्रममा सहभागिहरुले जिल्लामा मानवअधिकार उल्लंघनको घटनामा कमी आउन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले गम्भीर प्रकृतिका जघन्य अपराध बढ्दै जानु दुःखद् भएको बताउनुभयो । उहाँले यस किसिमका घटना न्यूनीकरणका लागि सबै पक्ष मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो । सभ्य समाज निर्माणमा सबै पक्षको भूमिका भएकोले सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्न उहाँले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?