बारको विरोधबाट अदालती काम नरोकिने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटिएको घटनामा कानुन व्यवसायीलाई पक्राउ गरिएपछि भएको विरोधमा आज अदालतको कामलाई असर नपर्ने गरी विरोध गर्ने जनाएको छ ।

बारको आन्दोलन चलिरहे पनि आज सर्वोच्च अदालतदेखि देशभरका अदालतमा कामकारबाही रोकिएको छैन । बारले सोमबारभने बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी गरेको थिएन ।

बारका महासचिव अञ्जिता खनालका अनुसार उक्त विवादमा आन्दोलन जारी रहको भए पनि अदालतको कामलाई असर नपर्ने गरी आफ्ना मागहरू यथावत् रहेको र सेवाग्राहीलाई असर नपर्ने गरी खाजा समयमा मात्र विरोध कार्यक्रम गरेको हो ।

जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । सोही विषयमा बारले विरोध गर्दै आएको हो ।

बारले थुनामा रहेका अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने र लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्ने माग गरेको छ ।

यही असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । लामिछानेविरुद्ध नासु तामाङले घटना भएकै दिन जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको थियो । उक्त विषयमा आजै ललितपुर जिल्ला अदालतका न्यायाधीश र कर्मचारीले सर्वोच्च अदालतमा उक्त विषयमा छलफल समेत गर्नुभएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?