सप्तरीमा बाढीले घर डुबानमा परेपछि स्थानीय गरे राजमार्ग अवरुद्ध, प्रहरीद्वारा हवाई फायर र लाठी चार्ज

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 2 mins

राजविराज । अविरल वर्षाका कारण महुली खोला पुल भन्दा एक फिट बग्दै बाँध फुटाएर वस्ती डुबानमा परेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

महुली खोलामा आएको बाढी पुल भन्दा एक फिट माथिबाट बग्न थालेको छ । जसका कारण वरिपरि बस्तीहरूमा पसेको छ । महुली खोलाको बाँध भत्किएर आएको बाढीले नजिकैको झण्डै ५० बिघा जग्गा डुबानमा परेको छ ।

नगरपालिकाको वडा नम्बर ३ पोर्ताहामा बसोबास गर्दै आएका डोम समुदायको वस्ती नै डुबानमा परेपछि उनीहरूले पूर्व पश्चिम राजमार्ग अन्तर्गत महुली पुल छेउमा सडक अवरुद्ध गरेका हुन् । दिउँसो २ बजेदेखि सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाएको छ ।

सडक खुलाउने क्रममा प्रहरीले लाठी प्रहार गर्नुका साथै एक राउन्ड हवाई फायर गरेको छ । सटगनबाट एक राउन्ड हवाई फायर गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी दीपक रायले जानकारी दिए ।

प्रहरीले बल प्रयोग गरी दिउँसो ३ बजेदेखि सडक जाम खुलाएको छ । प्रहरीले बल प्रयोग गर्न खोज्दा प्रदर्शनकारीले पनि ढुँगा प्रहार गरेका थिए । तर, प्रहरीले लाठी चार्ज गर्दै जाम खुलाएको छ ।

पोर्ताहा खण्डमा महुली खोलाको बाढीले प्रत्येक बर्स वस्ती डुबाउने गर्दछ । खोला छेउमा एक दर्जन डोम परिवार घर बनाएर बस्दै आएका छन् । प्रत्येक वर्ष बाढीले आफूहरूलाई डुबाउने र राज्यले कुनै किसिमको ध्यान नदिएकाले आन्दोलनमा उत्रेका स्थानीय गुल्मी मरिकले बताए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?