आफ्नो अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादास्पद अभिव्यक्तिबारे संसदमा जवाफ दिने भएका छन् ।

सत्तारुढ दलहरूको आज बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने तर संसदमा आफ्ना कुरा राख्नुपर्ने निष्कर्ष निकालेको हो ।

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री दाहालले संसद्मा आफ्नो अभिव्यक्तिबारे प्रस्ट पार्ने समझदारी बनेको जानकारी दिनुभयो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो। यस्तै, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू बैठकमा उपस्थित थिए।

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउनमा भारतको सहयोग रहेको भन्ने अर्थ लाग्ने गरी दिएको अभिव्‍यक्तिको विरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै आएको छ। राजीनामा नआएसम्म संघीय संसद् चल्दै नदिने भन्दै एमालेले बुधबार प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा अवरोध गरेको थियो। राष्ट्रियसभा बैठक आज पनि अवरुद्ध भएको छ ।

यता एमालेले भने प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताउँदै आएको छ । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधीनताविपरीतको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभई राजीनामा चाहिएको बताउनु भएको थियो । ओलीले राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अस्वभनीय र आपत्तिजनक रहेको बताउनु भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?