चिनियाँ कम्पनीहरूमाथि मानव अधिकार एवं वातावरणीय दुरूपयोगको आरोप

Read Time = 4 mins

जकार्ता । विश्वका विभिन्न मुलुकमा नवीकरणीय ऊर्जा उद्योगमा प्रयोग हुने खनिजमा लगानी गरेका चिनियाँ कम्पनीहरूमाथि मानव अधिकार एवं वातावरणीय दुरूपयोगको आरोप लागेको छ । विश्वका १८ देशका खनिज उद्योगमा लगानी गरेका चिनियाँ कम्पनीमाथि करिब दुई वर्षको अवधिमा एक सयभन्दा बढी मानवाधिकार र वातावरणीय दुरूपयोगको आरोप लागेको हो ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था व्यापार तथा मानव अधिकार संसाधन केन्द्रले बिहीबार जारी गरेको एक प्रतिवेदनअनुसार जनवरी २०२१ र डिसेम्बर २०२२ को बीचमा ती देशमा एक सयभन्दा बढी मानव अधिकार र वातावरणीय दुरूपयोग गरेको पाइएको छ ।

तामा, निकेल र कोबाल्टलगायत नवीकरणीय ऊर्जामा उपयोग हुने महत्वपूर्ण खनिजको उत्खनन् र प्रशोधनमा प्रभुत्व जमाएका चिनियाँ कम्पनीले इण्डोनेसिया, पेरु र प्रजातान्त्रिक गणतन्त्र कंगोजस्ता स्रोतसाधन सम्पन्न देशमा मानव अधिकार र वातावरणीय दुरूपयोग गरेको आरोप प्रतिवेदनमा लगाइएको छ । केन्द्रमा चिनियाँ कम्पनीविरुद्ध एक सय दुईवटा मानव अधिकार उल्लंघन र वातावरणीय दुरूपयोगका उजुरी परेका तथा तीमध्ये एक चौथाइभन्दा बढी इण्डोनेसियामा भएको जनाइएको छ ।

‘हाम्रो अध्ययनले खनिजको अन्वेषण, उत्खनन्, प्रशोधन र निकासीका क्रममा मानव अधिकार र वातावरणीय दुरूपयोग भएको देखाएको छ,’ उक्त गैरसरकारी संस्थाका प्रवक्ताले चिनियाँ कम्पनीले इण्डोनेसियामा २७, पेरुमा १६, प्रजातान्त्रिक गणतन्त्र कंगोमा १२, म्यानमारमा ११ र जिम्बाबेमा सातवटा उल्लंघनका घटना अभिलेख गरिएको जनाउँदै भनेका छन् ।

इण्डोनेसियामा वातावरणीय क्षति र गरिब कामदारहरूको शोषण गरिएको आरोप छ । बिजुली ब्याट्री उत्पादन गर्ने कम्पनीहरूले प्रदूषण बढाएका तथा कामदारलाई न्यूनतम सुविधा नदिँदा मजदुर र लगानीकर्ताबीच तनाव बढाएको प्रतिवेदनमा उल्लेख छ । उत्खनन् कम्पनीका कारण वातावरणीय नोक्सानी बढेको, खानीबाट उत्पन्न हानिकारक तत्वले स्थानीय समुदाय प्रभावित भएका, जल प्रदूषण बढ्नाले वन्यजन्तुमा असर पर्नुका साथै स्वच्छ पानीमा मानिसको पहुँच रोकिएको प्रतिवेदनमा भनिएको छ ।

उक्त संस्थाले चिनियाँ व्यवसाय र नियामकलाई मानव अधिकार र वातावरणीय दुरूपयोग हुन नदिन, कामदारलाई आधारभूत सुविधा उपलब्ध गराउन तथा वातावरणीय हानि कम गर्ने उपाय तत्काल अवलम्बन गर्न आहृवान गरेको छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?