श्रीमद्‍भागवत सप्ताह तथा गढीमाई धार्मिक महोत्सव शुरु

श्रीमदभागवत सप्ताह तथा श्री गढीमाई धार्मिक महोत्वसको बारेमा जानकारी गराउँदै महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवलगायतका आयोजक समितिहरु ।

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 6 mins

बारा । ‘रु.१० को दान शिक्षा प्रतिको उच्च सम्मान’ दान अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने, यहाँ नगरे कहाँ गर्ने’ भन्ने मुल नाराका साथ महागढीमाई नगरपालिका-१ स्थित महागढीमाई मन्दिर परिसरमा श्रीमद्‍भागवत सप्ताह तथा गढीमाई धार्मिक महोत्वसव सोमबार देखि संचालन हुने भएको छ ।

विश्व प्रसिद्ध गढीमाई मन्दिर परिसरमा गर्न लागिएको भागवत सप्ताह तथा गढीमाई महोत्सवमा नगरवासी, जिल्लावासीलगायत देशै भरिका सबैलाई सहभागी भई पुण्यको भागी बन्न महागढीमाई उपमहानगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले आग्रह गर्नु भएको छ ।
गढीमाई बहुमुखी क्याम्पसको लागि दुई बिघा जग्गा खरिद गर्न ५ करोड भन्दा बढी चन्दा संकलन गर्ने लक्ष्यका साथ यो धार्मिक अनुष्ठान तथा महोत्वसको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

फागुन २ गते देखि ९ गतेसम्म भागवत सप्ताह र १५ गते सम्म संचालन हुने गढीमाई महोत्वसमा कथा वाचन, रासलिला, झाकी, विभिन्न मनोरञ्जनात्मक खेल, म्युजिकल साधनहरुको आयोजना गरिने उहाँले बताउनुभयो ।

आज देखि संचालन हुने भागवत सप्ताह तथा महोत्वसवको पहिलो दिन कलश यात्रा गरिने उहाँले बताउनुभयो । कलश यात्रा गढीमाई मन्दिर प्राङ्गणबाट शुरु भई थलही नदीसम्म पुग्ने र थलही नदीबाट कलशमा जलभरी फेरि गढीमाई मन्दिर प्राङ्गणमा आएर कलशयात्रा सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।

हरेक पाँच वर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मन्दिर नजिकै रहेको क्याम्पसमा विद्यार्थीको चाप बढदै गएको र जग्गा अभावमा क्याम्पस संचालन तथा क्याम्पस भवनको निर्माणमा समेत टेवा पुग्ने उद्देश्यले धार्मिक सप्ताह तथा महोत्सव संचालन गर्न लागिएको उहाँले बताउनुभयो ।
निस्वार्थ र सबैको कल्याण हुने कार्यको लागि चालिएको पाइला जहिले पनि सफल हुन्छ, उहाँले भन्नुभयो,‘शिक्षा दान महादान हो । शिक्षा विकास तथा क्याम्पस भवन निर्माणको लागि हामीले आयोजना गरेको यो धार्मिक महोत्सवबाट हुने आम्दानीले जग्गा खरीद र भवन निर्माणको काम सफल हुनेमा विश्वस्त छौं ।’

जिल्ला र नगरका विद्यार्थीहरु उच्च शिक्षा अध्ययनको लागि जिल्ला बाहिर विरगंज, काठमाडौ, हेटौंडा, जनकपुर र भारतको विभिन्न ठाउँमा जानु पर्ने बाध्यता रहदै आएको छ, उहाँले भन्नुभयो,‘स्थानीय स्तरमै उच्च शिक्षाको संचालन तथा व्यवस्थापन गर्न सके शिक्षा हासिल गर्ने विद्यार्थीहरुको संख्यामा वृद्धि हुनाका साथै गरीब तथा दलित विधार्थीहरु समेतले उच्च शिक्षा हासिल गर्ने अवसर पाउने छन् । आर्थिक अभावका कारण गाउँघर बाहिर गएर शिक्षा हासिल गर्न नसक्नेहरुको ठूलो जमात हाम्रो गाउँ समाज र देशमा रहेको छ । उनीहरुको लागि स्थानीय स्तरमै उच्च शिक्षाको व्यवस्थापन गर्न सके उनीहरुको उच्च शिक्षा हासिल गर्ने सपना र आर्थिक अभावमा पछि पर्दै आएका गरीब तथा दलित विधार्थीहरुलाई अगाडी बढने मौका पाउने उद्देश्यका साथ यो महोत्सवको आयोजना गर्न लागिएको हाे ।’

श्रीमद्भागवत तथा महोत्सव सफल पार्न नगरप्रमुख यादवको संयोजकत्वमा विभिन्न उप-समितिहरु बनाईएको छ । श्रीमद्भागवत सप्ताह महोत्सव योजना सफल बनाउन विभिन्न समिती आर्थिक तथा चन्दा संकलन समिति, मन्च व्यवस्थापन समिति, पुजा व्यवस्थापन समिति, खानेपानी व्यवस्थापन समिति, अतिथि सत्कार समितिलगायत चयन गरिएको छ ।

कथावाचक गुरु उत्तम भट्टलगायत उहाँका अनुयायी, शिष्यहरु द्वारा विभिन्न कार्यक्रम गरिने मुल व्यवस्थापन समितिका अध्यक्ष नगरप्रमुख यादवले बताउनुभयाे ।

श्रीमद्भागवत कथा वाचन एक साप्ताह तथा महागढीमाई महोत्सव फागुन १५ गतेसम्म लाग्ने भएकाले गढीमाई मन्दिर परिसरमा रहेको पसलहरु सो ठाउँबाट हटाएर व्यवस्थित गरिएको छ । पछि मन्दिर नजिकै बनाइएको सटरमा पसललेहरुलाई व्यवस्थापन गरिने नगरप्रमुख यादवले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?