‘रातामकै’का एकसाथ तीन गीत सार्वजनिक

Read Time = 4 mins

काठमाडौं । लोकप्रिय हास्य अभिनेता तथा गायक किरण केसी ‘रातामकै’ले एक साथ तीन-तीन गीत सार्वजनिक गर्नुभएको छ । राजधानीमा एक कार्यक्रमबीच केसीले नेपाल भाषाको ‘छन्त खं सँ’ र नेपाली भाषाको ‘होला होला भन्दै’मा गायनसँगै अभिनय पनि गर्नुभएको छ । यस्तै ‘ए रात’ बोलको गीतमा उहाँको अभिनयमात्र छ । सार्वजनिक छन्त खं साँ निसें बोलको गीतमा किरण केसीको स्वर तथा ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठको शब्द र संगीत छ ।

गीतको सुरुको अंश मदनकृष्णले गाउनुभएको छ । गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, किरण केसी, शोभा महर्जन र हिसिला मर्हजनले अभिनय गर्नुभएको छ । गोपालकृष्ण मर्हजनको प्रस्तुति रहेको भिडियोमा सुरेन्द्र तुलाधरको निर्देशन तथा शोहन मानन्धरको छायांकन र सम्पादन छ ।

किरणले गैरनेवारले नेवारी भाषा, परम्परा भेषभूषा तथा परिकारबारे प्रशंसा गर्दै गाइएको गीत आठ वर्षअघि रेर्कड गरिएको र विभिन्न कारणले हाल आएर भिडियो बनाई सार्वजनिक गरेको जानकारी गराउनुभयो । नेपाली भाषाका धेरै गीत गाए पनि उहाँका यो पहिलो नेवारी गीत हो ।

कार्यक्रमका प्रमुख अतिथि हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठले किरणले कलाकारिताका विविध पक्ष गायन, अभिनय तथा लेखनमा सक्रियता राख्दै ती विधामा आफूलाई अब्बल सावित गर्दै आएको बताउनुभयो । अर्का प्रमुख अतिथि तथा हास्यव्यग्य अभिनेता हरिवंश आचार्यले आफू लामो समयदेखि किरणका साथ सहकार्य गर्दै आएको स्मरण गर्दै हरेक क्षेत्रमा सफल बन्न मिहिनेत चाहिने र त्यो मिहिनेत किरणले गर्दै आएको चर्चा गर्नुभयो ।

यस्तै, हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाले किरणको ऊर्जाबाट आफू सधैं प्रेरित रहने गरेको जनाउँदै उहाँ सधैं ऊर्जावान् रहेको बताउनुभयो । सार्वजनिक गीत किरण केसी रातामकै नामक युट्युब च्यानलमा अपलोड गरिएको छ । उहाँले आफ्ना तीन गीतमध्ये अन्य दुई गीतबारे जानकारी दिँदै एउटा गीत जेठ १९ र अर्को गीत असार १५ गते आफ्नो जन्मदिनको अवसरमा सार्वजनिक गर्ने जानकारी गराउनुभयो ।

किरणको अर्को एल्बम होला होला भन्दैमा भने किरण केसीको स्वर तथा मदनकृष्णकै शब्द र संगीत छ । किरण केसीको प्रस्तुति रहेको एल्बममा सामावेश गीतको भिडियोमा किरण र मदनकै अभिनय रहेको छ भने सुदन केसीको निर्देशन, रामशरण उप्रेतीको छायांकन र मित्रदेव गुरुङको सम्पादन छ ।

तेस्रो एलबा ए रातमा भने सुरेश ढुंगानाको स्वर, सत्य-स्वरूपको संगीत र प्रभा अधिकारीको शब्द रचना छ । गीतको भिडियोमा किरणका साथ अभिनेत्री शर्मिला मल्लले अभिनय गर्नुभएको छ । सुदन केसीको निर्देशन रहेको यसको भिडियोमा रामशरण उप्रेतीको छायांकन र मित्रदेव गुरुङको सम्पादन छ । गीत तथा भिडियो पारस अधिकारीले निर्माण गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?