सामाजिक जीवनमा आइपर्ने सकारात्मक कथा नै दर्शकको रोजाइमा : विनयराज पौडेल, निर्देशक

गीता अधिकारी
Read Time = 8 mins

तीन दर्जनजति चलचित्रमा काम गर्नुभएका विनयराज पौडेल यतिबेला ‘सरखारको सर’ सिरियलको निर्देशनमा व्यस्त हुनुहुन्छ । यो सिरियल नेपाल नेटवर्क टिभीबाट प्रशारण भइरहेको छ । आफूलाई गीतकारका रूपमा समेत प्रस्तुत गर्दै आउनुभएका पौडेलले ‘बिहे पास’, ‘कृष्णलिला’, ‘मेला’, ‘पोइपर्‍यो काले’, ‘लव यु हमेशा’, ‘के म तिम्रो साथी बन्न सक्छु’ जस्ता चलचित्रमा काम गरिसक्नुभएको छ । सिरहा, लहान नगरपालिका गोविन्दपुर २४ का स्थानीय बासिन्दा पौडेल २०५५ सालमा निर्माण भएको नेपालको पहिलो आर्ट चलचित्र ‘चमेली’बाट बालकलाकारका रूपमा यो क्षेत्रमा प्रवेश गर्नुभएको हो । चलचित्रमा मुख्य सहायक निर्देशक हुँदै अहिले निर्देशनमा आफूलाई स्थापित गरिसक्नुभएका पौडेल म्युजिक भिडियो निर्देशनमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ । उहाँले निर्देशन गरेको ‘नुनको भारी’ एनुअल टुबोर्ग इमेज अवार्ड कार्यक्रममा बेष्ट निर्देशनलगायत अन्य विधामा अवार्ड जित्न सफल भएको थियो । सरल स्वभाव र कामप्रतिको इमान्दारीका कारण चलचित्र क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल हुनुहुन्छ उहाँ । सामाजिक जीवनमा आइपर्ने सकारात्मक कथा नै नेपाली दर्शकको रोजाइ भएको देखिन्छ भनी बताउनुहुने निर्देशक विनयराज पौडेलसँग हिमालय टाइम्स दैनिकका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः-

नेपाली चलचित्र क्षेत्रमा विभिन्न ‘कन्ट्रोभर्सी’ आइरहेको पाइन्छ नि ?
यहाँ सबै मपाई छन् । हल्ला धेरै हुन्छ काम कम हुन्छ । अनि नयाँ र पुरानो मेकर्सहरू मिलेर अगाडि बढ्न सक्यो भने यो क्षेत्र विवादमुक्त हुन्छ । फेरि ग्लामर क्षेत्र भनेको अलिक बढी चर्चा हुने, ‘कन्ट्रोभर्सी’ आइरहने क्षेत्र पनि हो ।

हालै पनि दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने विषयले राम्रै चर्चा पायो, यसलाई कसरी लिनुभएको छ ?
यसलाई भारतको हेपाहा प्रवृत्तिका रूपमा लिएको छु । त्यस्तो संवेदनशील विषयमा चलचित्र बनाउँदा गहन अध्ययन नगरी त पक्कै गरेन होला ? जानीजानी हेपेको भन्ने बुझिन्छ ।

चलचित्र निर्माणमा के परिवर्तन गरियो भने दर्शक थप आकर्षित हुन्छन् होला ?
समयसँगैै दर्शकको मनोभावना बुझेर चलचित्र निर्माणमा व्यापक परिवर्तन गरियो भने हामीले डङ्का पिट्नुपर्दैन दर्शक आफैं हलसम्म पुग्छन् ।

विभिन्न समयमा हुने चलचित्रसम्बन्धी सेमिनार, गोष्ठी, प्रशिक्षणबाट अहिलेसम्म चलचित्र क्षेत्रलाई लाभ भएको महसुस गर्नुभएको छ ?
अहिलेसम्म त त्यस्तो लाभै भएको महसुस खै, तपाईंले गर्नुभएको छ ? भविष्यमा चाहिँ केही भइहाल्छ कि हाम्रा अग्रजहरू व्यापक छलफलमा लाग्नुभएको छ केही न केही त कसो नहोला ।

वास्तवमा चलचित्र किन हेर्ने ?
चलचित्र समाजको दर्पण भएकाले विभिन्न माध्यमबाट देश बुझ्न, धर्म, संस्कृति बुझाउनुका साथै मनोरञ्जन पनि दिन्छ त्यसैले चलचित्र हेर्नु जरुरी छ ।

समय सधैँ एकनासको हुँदैन । यो परिवर्तन भइरहन्छ । वास्तवमा नेपाली दर्शक पारिवारिक र प्रेम, वियोग अनि वीर भावका चलचित्र बढी मन पराउँछन् भन्ने मेरो अनुभव छ । सामाजिक जीवनमा आइपर्ने सकारात्मक कथा नै नेपाली दर्शकको रोजाइ भएको देखिन्छ ।

एकाध टिमको मात्र चलचित्र चल्नु बाँकीको नचल्नुको कारण ?
एकाध टिमले दर्शकको रोजाइ बुझिसक्नुभयो । त्यही भएर उहाँहरूको फिल्म चल्छन् । अरुहरूले अझै बुझ्न सक्नुभएको छैन भन्ने प्रष्ट हुन्छ ।

अग्रज निर्देशकहरूको चलचित्र कत्तिको हेर्नुहुन्छ ?
अग्रज निर्देशकहरूको चलचित्रबाट धेरै कुरा सिक्न पाउने भएकाले म उहाँहरूको चलचित्र एकदमै हेर्छु र राम्रा कुराहरूलाई ग्रहण पनि गर्छु ।

चलचित्रकर्मीले दर्शकको मनोभावना बुझ्न नसकेर नेपाली चलचित्रले अग्रस्थान लिन नसकेको हो ?
एकदमै हो । जसले बुझ्यो उसको चलचित्रले मारामार व्यापार गरिरहेको छ । जस्तो कि ‘जारी’ आखिर के चाहेका रहेछन् त हाम्रा नेपाली दर्शकहरूले । आफ्नै परम्परागत मौलिक कथावस्तु न हो ।

अब तपाईंले निर्देशक गर्नुहुने चलचित्र कस्तो विषयमा हुनेछ ?
मैले निर्देशन गर्ने चलचित्र विशुद्ध नेपाली पन, नेपाली मन छुने हुनेछ । जसले देश चिनाउनेछ । धर्म, संस्कृति चिनाउनेछ ।

सबैले त्यसै भन्छन् तर अर्कै बनाउँछन् ?
अरुले के भन्छन् ? के गर्छन् त्यो मेरो मतलबको विषय भएन तर मचाहिँ त्यही गर्छु जुन बोलेको हुन्छु ।

अब तपाईंले गर्ने चलचित्र दर्शकले कहिलेसम्ममा हेर्न पाउँछन् ?
चलचित्र निर्माण हतारमा गर्नुहुन्न । कस्तो बनाउने, कति लगानीमा बनाउने सबै पक्षलाई ध्यानमा राखेर बनाउँदा परिणाम राम्रो निस्कन्छ । जहाँसम्म कहिले आउँछ भन्ने सवाल छ निर्माणको तयारी अन्तिम चरणमा पुगेकाले सम्भवतः यही वर्षको अन्त्यसम्ममा ल्याउने प्रयास हुनेछ ।

नेपाली दर्शकले कस्तो चलचित्र बढी मन पराएको पाइन्छ ?
समय सधैँ एकनासको हुँदैन । यो परिवर्तन भइरहन्छ । वास्तवमा नेपाली दर्शक पारिवारिक र प्रेम, वियोग अनि वीर भावका चलचित्र बढी मन पराउँछन् भन्ने मेरो अनुभव छ । किनकि, ‘कुसुमे रुमाल, बलिदान, आफन्त, नाइँ नभन्नू ल, बाटोमुनिको फूल, कबड्डी, जारी’जस्ता चलचित्र मन परेरै दोहोर्‍याई-तेहेर्‍याई हेरेको पाइन्छ । सामाजिक जीवनमा आइपर्ने सकारात्मक कथा नै नेपाली दर्शकको रोजाइ भएको देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?